दिव्यनगर ८ की १९ वर्षिया संगीता भुजेल ट्याक्टर चालक हुन्। उनले ट्याक्टर चलाउन थालेको एक वर्ष भयो। कक्षा १२ पढ्दापढ्दै चलाउन थालेकी थिइन्, सबेरै उठेर ढुंगा, बालुवा, गिट्टी बोक्न खोला किनार पुगिसक्छिन्। उनी लोडरको काम पनि आफैं गर्छिन्, परिवारका सदस्यले सहयोग गर्छन्। घरमा राखेका चालकबाट उनले जानेकी हुन्। असार/साउनको रोपाइँमा उनको आम्दानी अघिपछिभन्दा दोब्बर हुन्छ, व्यस्त रहन्छिन्। ‘अहिलेसम्म राम्रो कमाइ भएको छ,’ उनले भनिन्, ‘त्यसैले विदेश जाने सोच त्यागेर यही पेसाबाट परिवार पालिरहेकी छु।’ विद्यालय छुट्टी हुँदा भाइ मिलनले सघाउँछन्, नहुँदा एक्लैले सबै काम गर्छिन्। घरमा बाबु, आमा, भाइ छन्। एक दिदीको बिहे भइसक्यो। १२ लाख रुपैयाँमा किनेको ट्याक्टरको ऋण पाँच लाख तिरिसकिन्। ‘मैले आफूलाई छोरी भनेर कमजोर कहिल्यै ठानिनँ,’ उनले भनिन्, ‘पुरुषले गर्ने काम आँट र मनोबल उच्च बनाएर लाग्दा सफल भएँ।’ ट्याक्टर चलाएको देख्नेहरूले स्याबासी दिँदा उनी प्रफुल्ल हुन्छिन्। परिवार पाल्ने जिम्मेवारी आइपरेकाले पढाइलाई अघि बढाउन नसकेको उनी बताउँछिन्। ‘अनपढ परिवारमा जन्मिएकी छोरीले के नै गर्ली भन्ने लाग्थ्यो,’ आमा श्याममाया भन्छिन्, ‘आज उसैको कमाइ खाएर बस्नुपर्दा छोरै मात्र ठूलो कुरा होइन रहेछ भन्ने लागेको छ।’ उनी अब यही पेसामा लागिरहने सोचमा छिन्। सिजनमा महिनाको एक लाखसम्म कमाउन सकिने बताउँछिन्। यस्तै, भरतपुर १४ का सुपथ अधिकारी २३ वर्षका भए। नेपाल पोलिटेक्निक कलेजमा डिप्लोमा इन्जिनियरिङ पढिरहेका उनी क्यामेरा मर्मतको काम गर्छन्। उनले काम थालेको पाँच वर्ष भयो। जिल्लामा क्यामेरा मर्मत गर्ने उनी एक्ला इन्जिनियर हुन्। यसअघि मोबाइल मर्मत गर्थे, त्यसका पसल धेरै खुलेपछि उनले नयाँ काम रोजे। भारतको नयाँदिल्ली पुगेर एक वर्षको इलेक्ट्रोनिक्स कोर्सर् गरेका उनी यही पेसामा दंग छन्। ‘विदेश जाने सोच छैन, यहीँ राम्रो कमाइ छ,’ उनी भन्छन्, ‘विदेश रोजगारीका लागि होइन, घुम्न जाने सोचमात्र छ।’ नारायणगढमा रहेको पसलको नाम ‘क्यानन हाउस’ हो। उनी स्टिल र मुभी क्यामेरा बनाउँछन्। मर्मतका लागि गोरखा, नवलपरासी, लमजुङ, बुटवल र हेटौंडादेखि ग्राहक आउँछन्। उनको कार्यबाट परिवार सन्तुष्ट छन्। अधिकांश परिवारले आफ्ना सन्तानलाई काम नपाएर विदेश जान दबाब दिने गरेका भए पनि उनी त्यसमा परेनन्। परिवारको राम्रो सहयोग पाएको सुनाउँछन्। कलेज गएर आएपछि काममा व्यस्त रहन्छन्। कुमरोज ३ की २० वर्षिया विमिता भण्डारी पर्यटक पथप्रदर्शक हुन्। कक्षा १२ पढ्दै गर्दा पेसामा लागेकी उनलाई साहसी युवतीका रूपमा चिन्ने धेरै छन्। सौराहाको ग्रीनपार्क होटलमा पथप्रदर्शकको काम गर्ने उनी आफ्नो पेसामा दंग छिन्। पहिले सेनामा भर्ती हुन गएकी उनी पछि असफल भएपछि नयाँ पेसामा लागेकी हुन्। काम गर्न सुरु गरेको दुई वर्ष भयो। होटलमा बस्छिन्, पर्यटकलाई घुमाउन चितवन राष्ट्रिय निकुञ्ज जान्छिन्। उनको पोसाक सर्ट, पाइन्ट र गोल्डस्टार जुत्ता हो, साथमा लौरो अनिवार्य हुन्छ। अंग्रेजी बोल्छिन्, चिनियाँ पर्यटक बढेकाले भाषा सिकिरहेकी छन्। घरमा बाबु, आमा, दुई दाइ, एक दिदी र एक बहिनी छन्। बाबु अपांग छन्। उनको पेसाबाट परिवार दंग छ। वैदेशिक रोजगारीमा जानेको संख्या अत्यधिक भए पनि फरक पेसामा लागेका युवा/युवतीमा विदेश जाने मोह छैन। पर्वतको कुर्घा घर भई ६ वर्षदेखि नारायणगढमा बसेर पढिरहेका २१ वर्षीय नेत्र पौडेल तीमध्येका अर्का युवक हुन्। उनले संयुक्त लगानीमा कन्डम पसल सञ्चालन गरेका छन्। उनको कमाइले परिवार पालिएको छ। बालकुमारी कलेजमा स्वास्थ्य विषय लिएर स्नातक तेस्रो वर्षको परीक्षा दिएर बसेका उनी यही पेसालाई निरन्तरता दिने सोचमा छन्। उनको पसलमा कन्डम खरिद गर्न आउनेको भीड लाग्छ। ‘कन्डमको प्रयोगबारे चेतना पनि जगाउँछु,’ उनले भने। कन्डम लिन आउनेलाई प्रयोगबारे सिकाउँछन्। सीएमए पास गरेका उनी स्वास्थ्यका बारेमा जानकार छन्। ‘विदेश केका लागि जाने?’ उनी भन्छन्, ‘पैसा कमाउने विकल्प स्वदेशमा पनि छ, राम्रो गर्नसके सोचेभन्दा राम्रो कमाउन सकिन्छ।’ उनको घरमा हजुरआमा बाबु, आमा र दाइ छन्। भरतपुर १० की २३ वर्षीया मनीषा श्रेष्ठले रेडियोमा प्राविधिक काम थालेको एक वर्ष भयो। वीरेन्द्र बहुमुखी क्याम्पसबाट बीबीएस तेस्रो वर्षको परीक्षा दिएर बसेकी उनी आफूले रोजेको पेसामा लाग्न पाउँदा दंग छिन्। ‘रेडियोमा प्राविधिकले कस्तो काम गर्छन् भन्ने जिज्ञासा लाग्थ्यो,’ उनले भनिन्, ‘त्यही जिज्ञासा मेटाउँदै प्राविधिक बनें।’ उनी जिल्लाकी एक्ली महिला प्राविधिक हुन्। उनी पुरुषसँग प्रतिस्पर्धा गरेर प्राविधिक बन्न पाउँदा खुसी छिन्। आफूले कमाएको तलब पढ्नमा खर्च गर्छिन्। शिवनगर २ का २४ वर्षीय सुनिल सापकोटा ‘स्नेक रेस्क्युअर’ हुन्। सर्पको डसाइबाट जोगाउन उनी उद्दारमा खट्छन्। आफ्नो पेसामा उनी एक्लै सक्रिय छन्। सर्प मारेको मन नपराउने उनी यसको रक्षामा जुटेका हुन्। उनले कतैबाट पैसा पाउँदैनन्। आत्मसन्तुष्टि नै उनका लागि पर्याप्त लाग्छ। सर्पको उद्धार गरी सुरक्षित ठाउँमा पुर्याएर छाड्छन्। ६ वर्षदेखि उनी यसमा रमाएका छन्। बीईसम्म अध्ययन गरेका उनी पेसाले इन्जिनियर बन्नुपर्ने हो तर, प्रकृतिसँग रमाएका छन्। ‘बुबा/ममीका लागि मैले पढें,’ उनले भने, ‘आफैंले रोजेको क्षेत्रमा सक्रिय छु।’ उनले हालसम्म एक सय ४१ वटा सर्पको उद्दार गरिसकेका छन्। त्यस क्रममा उनी सर्पका बारेमा जानकारी दिन्छन्। यसबारे अध्ययन भने गरेका छैनन्, पुस्तक र इन्टरनेट खोजीबाट जानकारी लिन्छन्। यसकै लागि भनेर उनले ऋण गरेर मोटरसाइकल र मोबाइल किने। आफैं खर्च गरेर उद्दारका लागि पुग्छन्। ‘पैसा कमाउनका लागि भनेर यो क्षेत्रमा लागेको होइन,’ उनले भने, ‘मेरो उद्देश्य सर्प मार्नु हुँदैन, यसलाई जोगाउनुपर्छ भन्ने हो।’