नेपालीको प्रमुख श्रम गन्तब्य मलेसियालाई निःशुल्क भिसा र टिकट उपलब्ध गराउन आग्रह गरिने भएको छ। नेपाल आउन लागेका मलेसियाली मानव संसाधन मन्त्रीसामु यस्तो आग्रह गर्ने तयारी छ। श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको निमन्त्रणामा भदौ ४ गते दुईदिने मलेसियाका मानव संसाधन मन्त्री रिचर्ड रियट जायम नेपाल आउँदै छन्।
मन्त्री जायमसामु निःशुल्क भिसा र टिकटको व्यवस्था गर्ने प्रस्ताव राख्ने नेपालको तयारी छ। मलेसियामा ६ लाखभन्दा बढी नेपाली कार्यरत छन्। मलेसियाको लागत ८० हजार भए पनि कामदारले डेढदेखि दुई लाख रुपैयाँसम्म तिरिरहेका छन्। सरकारले निःशुल्क भिसा उपलब्ध गराउने र कामदारलाई सुविधा बढाउने प्रस्ताव राख्न लागेको हो। म्यानपावर कम्पनीले नेपाली कामदारको माग ल्याउन मलेसियाको स्थानीय एजेन्टलाई बढी कमिसन दिने र त्यसले लागत बढाएको भन्दै मन्त्रालयले त्यसलाई कडाइका साथ रोक्न आग्रह गर्ने छ। नेपालका म्यानपावर कम्पनीले मागपत्र ल्याउन मलेसियाको एजेन्टलाई प्रतिव्यक्ति एक लाख रुपैयाँभन्दा बढी कमिसन दिँदै आएका छन्।
‘हामीले मलेसियालाई निःशुल्क भिसा र टिकट उपलब्ध गराउन आग्रह गर्ने छौं,’ राज्यमन्त्री गुरुङले नागरिकसँग भने, ‘यो विषयलाई श्रम सम्झौतामा पनि समेटेका छौं र भेटमा पनि प्राथमिकताका साथ प्रस्तुत गर्नेछौं।’ उनका अनुसार भेटमा मलेसियामा रहेका नेपाली कामदारको समस्या, गैरकानुनी नेपाली र श्रम सम्झौताका विषयमा छलफल हुने छ। ‘हामी नेपाली कामदारलाई सुविधा बढाउन र जेलमा रहेकाको रिहाइको कुरा गर्ने छौं,’ उनले भने। अन्तर्राष्ट्रिय मापदण्डअनुसार तलब र सुविधा दिने प्रावधान श्रम सम्झौतामा रहेको र सम्झौता लागू भएपछि धेरै कुरामा सहमति हुने मन्त्री गुरुङले बताए।
मन्त्रालयका सल्लाहकार रमेश कोइरालाले मलेसियासँग श्रम सम्झौता, त्यहाँ रहेका अवैधानिक कामदार र आगामी अवसरका विषयमा छलफल हुने बताए। ‘हामीले हाम्रो तर्फबाट एजेन्डालाई अन्तिम रुप दिइसकेका छौं, उताबाट पनि कामदार र श्रम सम्झौताकै विषयमा छलफल हुने जनाइएको छ,’ उनले भने। मलेसियाले नेपालमा लागू गर्न लागेको बायोमेटि्रक प्रणालीका विषयमा भेटमा छलफल नहुने कोइरालाले बताए। मलेसियाको मानव संसाधन मन्त्रालयअन्तर्गत बायोमेटि्रक प्रणाली नपर्ने भएपछि दुवै देशको एजेन्डामा यो विषय नराखिएको कोइरालाले जानकारी दिए। ‘बायोमेटि्रक प्रणाली गृह मन्त्रालय अन्तर्गत पर्छ, त्यसैले यो भेटमा यस विषयमा छलफल हुँदैन,’ उनले भने।
भेटमा मलेसियामा रहेका गैरकानुनी हैसियतका नेपालीलाई वैधानिक हुन वा अरु विकल्प दिन नेपालले आग्रह गर्ने छ। त्यस्तै विभिन्न डिपोर्टेसन सेन्टर र जेलमा रहेका कामदारलाई रिहा गरी स्वदेश फिर्ता पठाउनसमेत अनुरोध गर्ने मन्त्रालयले जनाएको छ। मलेसियाले गत वर्ष भदौ र माघमा मलेसियामा रहेका गैरकानुनी कामदारलाई पक्राउ गरेको थियो। सो क्रममा हजारभन्दा बढी नेपाली कामदार पक्राउ परेका थिए।
मन्त्रालयमा बिहीबार मलेसिया सरकारसँग उठाउने एजेन्डाका विषयमा छलफल भएको थियो। छलफलमा मलेसियासँग गर्न लागिएको श्रम सम्झौताको विषय गम्भीर रुपमा उठेको थियो। नेपालले सामान्य कामदारको लागि श्रम सम्झौता गर्न मलेसिया सरकारलाई मस्यौदा पठाइसकेको छ। घरेलु कामदारको हकमा मस्यौदालाई अन्तिम रुप दिने तयारी गरेको छ। घरेलु कामदारको श्रम सम्झौताका विषयमा पनि भेटमा कुरा हुने मन्त्रालयले जनाएको छ।
मलेसियाका मानव संसाधन मन्त्री रिचर्ड रियट जायमसँग त्यहाँको गृह मन्त्रालय, श्रम विभाग, अध्यागमन विभागका प्रतिनिधिसहित नौजनाको टोली आउने छ। जायमसँग मलेसियाली गृह मन्त्रालयका प्रतिनिधि पनि आउने भएकाले भेटमा उनीहरुले बायोमेटि्रक प्रणालीको कुरा उठाएमात्र नेपालले धारणा राख्ने मन्त्रालयले जनाएको छ। मन्त्री जायमले नेपाल भ्रमण सकेपछि उनको निमन्त्रणामा नेपालका श्रम तथा रोजागर राज्यमन्त्री गुरुङ मलेसिया जाने र त्यही बेला श्रम सम्झौतामा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ।