वैदेशिक रोजगारमा ठगीमा डेढ अर्ब बराबरको दाबी

3 August, 2014

गत आर्थिक वर्षमा वैदेशिक रोजगारका क्रममा करिब १ अर्ब ३६ करोड ठगी भएको उजुरी परेको छ। एक वर्षको अवधिमा वैदेशिक रोजगार विभागमा २५ सय ५१ निवेदनमा १ अर्ब ३४ करोड ४५ लाख १ हजार ५ सय ५३ रकम बराबर बिगो दाबी गरिएको हो।

निवेदन परेको मध्ये १५ सय ७७ जनाले म्यानपावरबाट ठगी भएको उल्लेख गरेका छन भने ९ सय ७४ जनाले एजेन्टबाट व्यक्तिगत रुपमा ठगी भएको निवेदन दिएका हुन्। व्यक्तिगततर्फ ७५ करोड ८२ लाख ९३ हजार ७ सय ४४ र संस्थागततर्फ २७ करोड ६१ लाख ७७ हजार ८ सय ९ रकम दाबी गरिएको छ। व्यक्तिगतभन्दा संस्थागत निवदेन धेरै परेपनि दाबी रकममा व्यक्तिगततर्फ बढी रहेको छ। 

विभागको वार्षिक तथ्यांकअनुसार आर्थिक वर्ष २०७०/७१ मा ४ सय ५४ निवेदनको १५ करोड ७७ लाख ४२ हजार ८ सय ३९ रुपैयाँ फरफारक भएको उल्लेख गरिएको छ। त्यस्तै १ सय ३३ ठगीलाई अदालतमा मुद्दा दायर गरिएको छ। मुद्दा दायर गरिएकोमा ४४ करोड १७ लाख ७ हजार ९ सय ३७ रुपैयाँ दाबी गरिएको छ। विभागबाट ४५ ठगीको मुद्दालाई निर्णय गर्दै ४६ लाख रकमलाई निर्णय गरिएको विभागले जनाएको छ। 

पक्राउ छिटो हुने भन्दै व्यक्तिगत लेनदेन र ढुकुटीको रकमसमेत वैदेशिक रोजगारको लागि दिइएको भन्दै निवेदन दिने क्रम बढेपछि व्यक्तिगततर्फ दाबी रकम बढेको देखिएको वैदेशिक रोजगार विभागले जनाएको छ। 

विभागका महानिर्देशक जगन्नाथ देवकोटाले व्यक्तिगततर्फ वैदेशिक रोजगारसँग सम्बन्धित नभएका ठगीका उजुरी पनि पर्ने गरेको पाइएको बताए। ‘लेनदेनका अरु घटना पनि वैदेशिक रोजगारीसँग जोड्ने गरिएको छ, यसले गर्दा रकम धेरै देखिन्छ,’ उनले भने।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024