कामदार मृत्युको छानबिन माग

30 July, 2014

वनखेतका एक युवा कामदारको साताअघि मृत्यु भएपछि परिवार र आफन्तले छानबिन माग गरेका छन्। प्रहरी तालिम केन्द्रभित्र मार्बल, टाइल्स बिछयाउने काम गर्ने ३० वर्षीय डिल्लीराज पोखरेलको साउन ६ गते राति मृत्यु भएको थियो। उपचारका लागि भारतको लखनउ लैजाँदै गर्दा उनको मृत्यु भएको थियो। छोराको रहस्यमय मृत्यु भएकाले उच्चस्तरीय छानबिन गरी घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने मृतकका बुवा नन्दलालले माग गरेका छन्। ‘सुरुमा होसै भएन, कसलाई गुहार्ने केही सोच्न सकिन,’ उनले भने, ‘७ गते नेपालगन्जमा पोस्टमार्टम गरी सोही दिन छोराको शव लिएर घर आएँ। तर प्रहरी तालिम केन्द्रभित्रै छोरालाई कसैले कुटपिट गरी घाइते बनाएको सुन्नमा आयो।’ पोखरेललाई साउन ५ गते राति घाइते अवस्थामा प्रहरी भ्यानमा राखेर भेरी अञ्चल अस्पताल र नेपालगन्ज मेडिकल कलेज पुर्‍याएको प्रत्यक्षदर्शी अर्का कामदार धिरजन चौधरीले देखेको मृतकका आफन्तले बताए। साउद थरका ठेकेदारले मृतक पोखरेलसहित ४ जनालाई तालिम केन्द्रभित्र मार्बल टाइल्स बिछ्याउने काममा लगाएका थिए। मृतकको दुवै तिघ्रा, पेट, हत्केलामा चोट देखिएका कारण प्रहरी तालिम केन्द्रभित्रै रहस्यमय तरिकाले कुटपिटपछि मृत्यु भएको आरोप आफन्तले लगाएका छन्। १३ दिनपछि परिवारले प्रहरीमा उजुरी दिने र छानबिनका लागि सडकमा उत्रिने बताएका छन्। रहस्यमय ढंगबाट सरिया र रडको प्रयोगले कुटपिट गरेका कारण छोराले ज्यान गुमाएको आरोप लगाउँदै सत्यतथ्य बाहिर ल्याई हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने मृतकका बुवाको माग छ। छोराको हत्या भएको दाबी गर्दै सत्य तथ्य बाहिर ल्याइदिन उनले प्रहरी, मानव अधिकारकर्मी, सञ्चारकर्मीलगायतलाई बुवा नन्दलालले आग्रह गरेका छन्। 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024