भारतमा २ नेपालीको ‘हत्या’

29 April, 2014

दुई सातादेखि सम्पर्कविहीन २ नेपालीको भारत विहारस्थित छाप्रा जिल्लामा शव फेला परेको छ । परिवारले दुवैको हत्या भएको दाबी गरेका छन् । निजगढ २ का ३० वर्षीय राजु बहादुर बल र जिल्ला सित सिमाना जोडिएको मकवानपुर धियाल ८ का ४० वर्षीय पूर्णबहादुर बाइवाको बिहार छाप्रा स्थित रेल स्टेसन नजिक शव भेटिएको पीडित परिवारले बताए ।

दुवैको दाहसंस्कार उतै गरिएको छ । रोजगारी सिलसिलामा २ महिनाअघि उनीहरू गुजरातबाट कमाएर फर्किरहेको अवस्थामा अज्ञात समूहको नियन्त्रणमा परेको मृतकका आफन्तले बताएका छन् । मृतक राजुका श्रीमतीसहित २ छोरा र २ छोरी छन् । पूर्णका श्रीमतीसहित ३ छोरी र २ छोरा छन् । उनका परिवारले दुवैको लुटेरा समूहले नियन्त्रणमा लिएर पछि हत्या गरेको दाबी गरेका छन् । घटनापछि दुवै परिवारसहित गाउँले शोकमा डुबेका छन् ।

‘२ साताअघि भाइले आफ्नी भाउजू लीलामायाको मोबाइलमा फोन गरेर आफू अपहरणमा परेकाले मारिन सक्छु भनेका थिए, खोज्दै जाँदा भाइको हत्या भएको रहेछ,’ दाहसंस्कार गरी सोमबार बिहान घर आएका राजुका भाइ विष्णुबहादुरले भने ।

उक्त ठाउँको नाम फोनमा नभनेकाले खोज्न अप्ठ्यारो भयो, पछि अपहरणकारीले समेत फोन गरेर तिम्रो भाइ लखनउ गयो भन्दै झुक्याउँदै सम्पर्क विहीन भएको उनले बताए । दुवैको टाउकामा गहिरो चोट र राजुको एउटा हात समेत उछिट्टएिको विष्णुले बताए । ‘चल्दा चल्दैको रेलबाट हत्या गरी फालिएको त्यहाँका प्रहरीले बताएका छन्,’ उनले भने, ‘एक सातापछि पोस्टमार्टम रिपोर्ट आएपछि छानबिन गर्छौं भन्दै भारतीय प्रहरीले सम्झाएर फर्काइदिए ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024