भारतबाट फर्कंदै गरेका नेपाली दम्पती लुटिए

6 April, 2014

भारतबाट सुनौली–भैरहवा हुँदै काठमाडौं आउँदै गरेका काभ्रे रयाले–३ का श्यामबहादुर तामाङ र माया तामाङ बसमा लुटिएका हुन् । भैरहवाबाट २३ चैत राति ६५८७ नम्बरको बस चढेका उनीहरु २४ चैत विहान नौबिसेसम्म ठिक अवस्थामा रहे पनि थानकोट पुग्दा बसकै सिटमा बेहोस अवस्थामा फेला परेको बसका सहयात्रीहरुले जनाएका छन् ।

बेहोस अवस्थामा रहेका उनीहरुलाई वीर अस्पतालमा भर्ना गरी उपचार गरिंदैछ । मायाको होस खुले पनि श्यामबहादुर भने अचेत अवस्थामै छन् ।अर्धवेहोस अवस्थामा रहेकी मायाका अनुसार उनीहरुका साथमा रहेको करिब एक लाख रुपैयाँ लुटिएको छ । उनले भनिन्, “उता (भारत) बाट आउँदै ल्याएको भारु सुनौलीमा सटही गरेका थियौं, त्यो सबै लगेछन, अरु गहना के कति लुटियो राम्रोसँग थाहा पनि छैन ।”

पीडित दुवैलाई नसालु पदार्थ सुंघाएर बेहोस बनाएको हुनसक्ने चिकित्सकको अनुमान छ । टिकट नलिई बुटवलबाट चढेका युवा समूहले लुटपाट गरेको हुनसक्ने मायाको अनुमान छ । बसका चालक र सहचालकले त्यो समूह कहाँ ओर्लियो भन्ने थाहा नपाएको बताएका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024