विद्यालयबाटै भागेर भारततिर

22 March, 2014

मध्यपश्चिमका पहाडी जिल्लाका किशोर धेरै पैसा कमाएर मोजमस्ती गर्ने आसमा विद्यालयबाटै भागेर भारत जान थालेका छन् । विदेश गएर गाउँ फर्किएका युवाको तडकभडक देखेका उनीहरू पैसा कमाउनकै लागि सीमापार गर्न थालेका हुन् ।

विद्यालय पोसाकमै नेपालगन्ज हुँदै भारत जान लागेका मध्यपश्चिमका ७ बालकलाई सीमामा रोकिएको छ । उनीहरू सबै १६ वर्षमुनिका छन् । सुर्खेतका ३, रुकुमका २ र रोल्पाका २ किशोरले विदेशबाट फर्किएकाको जीवनशैलीमा आएको परिवर्तन देखेर आफूहरूले पनि पैसा कमाउन भागेर जान लागेको बताए । उनीहरूलाई बिहीबार र शुक्रबार नेपालगन्ज सीमामा रोकिएको हो ।

‘गाउँका धेरै युवा विदेश गएर घर फर्किंदा साथीभाइसँग रमाइलो गर्छन् । हामीलाई पनि त्यस्तै गर्न रहर लाग्छ । घरकाले बाहिर जान दिँदैन त्यसैले स्कुल गएका बेला भागेर सिमला जान लागेका हौं,’ सीमामा रोकिएका सुर्खेतका १५ वषर्ीय राममणि शर्माले भने, ‘यहाँ आउँदा हामीलाई पारि जान दिइएन ।’ उनी गाउँकै विद्यालयमा कक्षा ८ मा पढ्छन् ।

उनीसँगै कक्षा ८ मा पढ्ने १५ वषर्ीय तेजेन्द्र शर्मा र कक्षा ६ का कमलेश शर्मा पनि भागेर भारत हिँडेका थिए । ‘विदेशमा धेरै पैसा कमाउन सकिन्छ र रमाइलो गर्न पाइन्छ भन्ने सुनेर हामी पनि त्यही गर्न खोजेका हौं,’ तेजेन्द्रले भने ।

सन् २०१४ जनवरीयता काम गर्न भारत जान थालेका ३२ बालबालिकालाई सीमामा रोकेर घर फिर्ता पठाएको माइती नेपाल, नेपालगन्जले जनाएको छ । उनीहरू जोखिमपूर्ण अवस्थामा भेटिएपछि रोकेको उसले जनाएको छ ।

त्यस्तै कक्षा ७ मा पढ्दै गरेका रोल्पाका १४ वषर्ीय निर्मल र कक्षा ६ मा पढ्दै गरेका चञ्चललाई पनि सीमाबाट फर्काइएको छ । उनीहरूले पनि मोजमस्ती गर्न पैसा कमाउन भारत जान लागेको बताए । उनीहरू अभिभावकबिना काम गर्न भारत जान खाजेका थिए ।

कक्षा ६ मा पढ्दै गरेका रुकुमका हेमन्त बुढा र कक्षा ७ मा पढ्दै गरेका रिमबहादुर कठायतलाई ज्ञान नेपालले सीमामा रोकेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024