रेमिट्यान्स आयभन्दा व्यापार घाटा बढी

14 March, 2014

 

अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको रेमिट्यान्सले पनि व्यापारघाटालाई थेग्न नसक्ने भएको छ। राष्ट्रब्यांकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिनाको आर्थिक स्थितिअनुसार रेमिट्यान्स वृद्धिदर अघिल्लो वर्षको तुलनामा बढे पनि व्यापारघाटा धान्न सक्ने अवस्था छैन।

राष्ट्रब्यांकका अनुसार चालू आर्थिक वर्षको माघ महिनासम्ममा रेमिट्यान्सको आप्रवाह ३८.६ प्रतिशतले बढेर तीन खर्ब ११ अर्ब ९१ करोड रुपैयाँ नेपाल भित्रिएको छ। तर, यसै अवधिमा व्यापारघाटा तीन खर्ब ३९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। रेमिट्यान्स आयभन्दा व्यापारघाटा २७ अर्ब नौ करोडले बढी हो। अघिल्लो वर्ष रेमिट्यान्सको आप्रवाह वृद्धिदर १९.६ प्रतिशतमात्र थियो।

जस अनुसार, एक दिनमा विदेशका नेपालीले एक अर्ब ४८ करोड नेपाल पठाउँछन् भने व्यापारघाटा पनि एकै दिनमा एक अर्ब ६२ करोड हुन्छ। रेमिट्यान्स आयको बृद्धिले एकातिर विदेशी मुद्रा र शोधनान्तर बचत बढेको छ तर अर्कोतिर रेमिट्यान्स आय बढ्दै जाँदा त्यो पैसा बिलासी वस्तु खरिदका लागि खर्च गर्ने क्रम बढेपछि व्यापारघाटाको अन्तर पनि फराकिलो बन्दै गएको छ।

राष्ट्रब्यांकका अनुसार सात महिनामा वस्तु आयातका लागि मात्र तीन खर्ब ९२ अर्ब ६९ करोड रुपैयाँ बिदेसिएको छ। सात महिनामा नेपालले वस्तु निर्यातबाट जम्मा ५२ अर्ब ८९ करोड रुपैयाँ कमाएको छ। आयात भएका वस्तुमध्ये सबैभन्दा बढी ७३ अर्ब ३३ करोड रुपैयाँको पेट्रोलियम पदार्थ छ। अघिल्लो वर्षको सात महिनामा पेट्रोलियम पदार्थ आयातका लागि ५९ अर्ब ४७ करोड रुपैयाँ खर्च भएको थियो।

निर्यातको तुलनामा आयात बढी भए पनि देशको शोधनान्तर स्थिति भने सात महिनामा ९५ अर्ब ७८ करोड रुपैयाँले बचतमा छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति एक अर्ब नौ करोडले बचतमा थियो। सात महिनामा सरकारलाई वैदेशिक नगद ऋणमार्फत ११ अर्ब ३१ करोड र वैदेशिक नगद अनुदानबापत २३ अर्ब ३९ करोड रुपैयाँको प्रतिबद्धता आएको छ।

वाणिज्य ब्यांकहरूले माघ महिनामा निक्षेपमा औसत ४.६१ प्रतिशत ब्याजदर दिएको राष्ट्रब्यांकले जनाएको छ। यस अवधिमा कर्जाको औसत ब्याजदर भने ११.३७ प्रतिशत थियो। माघ मसान्तसम्ममा ब्यांकहरूको ब्याजदर अन्तर (स्प्रेडदर) ६.७६ प्रतिशत छ।

पुस महिनामा भने ब्यांकहरूको स्प्रेडदर ६.८५ प्रतिशत थियो। ब्यांकहरूले स्प्रेडदर घटाउँदै लगेको राष्ट्रब्यांकको तथ्यांकले देखाउँछ। यस्तै माघ महिनामा वाणिज्य ब्यांकको औसत आधार दर ८.५८ प्रतिशत थियो। पुस महिनामा भने आधार दर ८.७५ प्रतिशत थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024