बायोमेट्रिक टेस्टका नाममा करोडौंको चलखेल

16 August, 2013

लोकमणि राई

वैदेशिक रोजगारका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने केही व्यवसायीको ‘प्रभाव’ मा परी श्रम तथा रोजगार मन्त्रालयले बायोमेटि्रक स्वास्थ्य परीक्षणको तयारी गरिरहेको छ ।

स्वास्थ्य व्यवसायीलाई नियमन गरी वैदेशिक रोजगारी मा जाने कामदारलाई उनीहरूले जारी गर्ने निरोगिताको प्रमाणपत्र विश्वसनीय बनाउनुको सट्टा मन्त्रालयले बायोमेटि्रक स्वास्थ्य परीक्षणको तयारी गरेको हो । सरकारी मान्यताप्राप्त मेडिकलहरूले गलत निरोगिताको प्रमाणपत्र बनाएको र त्यसलाई मलेसिया सरकारले विश्वास गर्न नसकेको बहानामा मन्त्रालय स्तरमै यस्तो तयारी भइरहेको छ । बायोमेटि्रक स्वास्थ्य परीक्षण जस्ताको तस्तै कार्यान्वयनमा आए हरेक वर्ष करोडौं रुपैयाँ मलेसिया पुग्ने मात्र होइन नेपालको स्वास्थ्य क्षेत्रको विश्वसनीयता अन्तर्राष्ट्रिय रूपमै गुम्ने छ ।

तयारी भइरहेको बायोमेटि्रक स्वास्थ्य परीक्षणले मान्यता पाए त्यसको तथ्यांक मलेसियाको एउटा निजी कम्पनीले मात्र अनलाइनमा हेर्न मिल्छ । वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने नेपालका स्वास्थ्य संस्थाहरूले त्यसका लागि आवश्यक पर्ने सफ्टवेयर, वेब क्यामेरा, स्क्यानर, पि्रन्टर, एन्टिभाइरसलगायत सामग्रीबापत ८ हजार अमेरिकी डलर -करिब ७ लाख ८८ हजार रुपैयाँ) खर्चिनुपर्छ । त्यस हिसाबले सञ्चालनमा रहेका ३ सय ५ मेडिकलले २४ करोड ४ लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने छ।

त्यस्तै मलेसिया जाने हरेक कामदारले बायोमेटि्रक स्वास्थ्य परीक्षणबापत मलेसियाको कम्पनीलाई अनिवार्य रूपमा १५ अमेरिकी डलर -करिब १ हजार ४ सय ७८ रुपैयाँ) बुझाउनुपर्ने छ । सरकारी तथ्यांकअनुसार वाषिर्क करिब डेढ लाख कामदार मलेसिया जाने गरेका छन् । त्यस हिसाबले कामदारबापत मात्र वाषिर्क २२ करोड १७ लाख रुपैयाँभन्दा बढी रकम मलेसिया पुग्छ । 

मन्त्रालयले यस्तो तयारी गरेपछि वैदेशिक रोजगार व्यवसायी संघ र नेपाल वैदेशिक रोजगार मेडिकल एसोसियसनले लिखत रूपमा त्यसको विरोध गरेका छन् । संघ र एसोसियसन दुवैले श्रम सचिव सुरेशमान श्रेष्ठलाई ‘बायोमेटि्रक स्वास्थ्य परीक्षणका नाममा ठगी हुन लागेको’ भन्दै ज्ञापनपत्र बुझाएका छन् । ‘यो ठगीको अर्को रूप हो,’ संघका अध्यक्ष बलबहादुर तामाङले भने ।

मलेसियाको बेस्टिनेट एसडिएन बीएचडी नामक कम्पनीले सफ्टवेयर बेच्ने तय भएको छ । उक्त कम्पनीले करिब १ महिनाअघि अन्नपूर्ण होटलमा आयोजित कार्यक्रममा उच्च सरकारी अधिकारीकै उपस्थितिमा नेपालका स्वास्थ्य संस्थाले दिने निरोगिताको प्रमाणपत्रको खिल्ली उडाएको थियो । सफ्टवेयर तथा प्रविधि कम्पनी भनेर आफूलाई चिनाउने उक्त कम्पनीको आफ्नो वेबसाइटसमेत छैन ।

मन्त्रालय भने स्वास्थ्य संस्था व्यवस्थित गरी तिनीहरूलाई विश्वसनीय बनाउनुको सट्टा मलेसिया ‘सरकारको निर्णय’ भन्दै बायोमेटि्रक स्वास्थ्य परीक्षणको पक्षमा देखिएको छ । ‘मलेसियामा कामदार पठाउने हो भने त्यहाँको कानुन मान्नैपर्छ,’ मन्त्रालयका सचिव श्रेष्ठले भने, ‘एक पटक लगानी गर्दा कामदारलाई व्यवस्थित गर्न सकिन्छ र कामदार गलत स्वास्थ्य परीक्षण प्रतिवेदनका कारण फर्किनुपर्दैन भने किन लगानी नगर्ने ?’

एसोसियसनका अध्यक्ष खड्गबहादुर श्रेष्ठले ‘केही व्यवसायीको चलखेलमा सफ्टवेयर र बायोमेटि्रक स्वास्थ्य परीक्षण’ गर्न खोजिएको बताए । ‘एउटा सफ्टवेयरलाई २० करोडभन्दा बढी पर्छ भन्नु हावादारी कुरा हो,’ उनले भने, ‘मलेसिया सरकारले नै बायोमेटि्रक स्वास्थ्य परीक्षणको माध्यमबाट विदेशी कामदार व्यवस्थापन गर्न लागेको हो । त्यसका लागि चाहिने सफ्टवेयर र उपकरणका लागि हामीले किन पैसा तिर्ने ?’

सफ्टवेयर बनाउने भनिएको बेस्टिनेट एसडिएन बीएचडी नामक कम्पनीलाई मलेसिया सरकारले विदेशी कामदारसम्बन्धी सूचना केन्द्रीकृत गरी व्यवस्थापन गर्न जिम्मा दिएको बताइएको छ । त्यससम्बन्धी आधिकारिक कागजात कसैसँग छैन ।

मलेसियाले पनि बायोमेटि्रक स्वास्थ्य परीक्षणबारे मन्त्रालयलाई आजसम्म जानकारी गराएको छैन । त्यसका बाबजुद मन्त्रालय बायोमेटि्रक स्वास्थ्य परीक्षणप्रति मन्त्रालयको लगाव बुझिनसक्नु रहेको व्यवसायीहरू टिप्पणी गर्छन् । ‘हामीले बेस्टिनेट कम्पनी र मलेसिया सरकारले गरेको व्यवस्थाबारे बुझ्न त्यहाँ भएको हाम्रो दूतावासलाई पत्र पठाएका छौं,’ सचिव श्रेष्ठले भने, ‘जवाफ आइसकेको छैन ।’

के हो बायोमेटि्रक ?

आँखाको रेटिना र औंलाको छापबाट स्वास्थ्य परीक्षण गरिएको व्यक्ति असली वा नक्कली भएको चिन्ने विधि बायोमेटि्रक हो । स्वास्थ्य परीक्षण गर्ने व्यक्तिको औंला छापा र रेटिना मलेसियाको कम्पनीलाई उपलब्ध गराएपछि एउटा व्यक्तिको स्वास्थ्य परीक्षण प्रमाणपत्र प्रयोग गरेर अर्को व्यक्ति जान सक्दैन।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026