नेपालीलाई भिसा दिन हङकङ ‘उत्सुक’

4 June, 2013

हङकङका कार्यकारी प्रमुख सीवाई लेयुङले नेपालीमाथिको भिसा प्रतिबन्ध खुकुलो बनाएर हङकङ–नेपाल सम्बन्ध बलियो बनाउन उत्सुक रहेको बताएका छन्। हङकङका लागि महावाणिज्यदूत महेशप्रसाद दाहालसँगको शिष्टाचार भेटमा सीवाईले आठ वर्षदेखि हङकङ प्रवेशमा नेपालीले भोग्दै आएको समस्या छलफलबाट समाधान गर्न सकिने दोहोर्याए।

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ र मकाउका लागि महावाणिज्यदूत नियुक्त भएर आएको एक महिनापछि २१ मेमा कार्यकारी प्रमुख लेयुङसँग शिष्टाचार भेटवार्ता गर्ने क्रममा दाहालले चरणबद्ध रुपमा भए पनि भिसा प्रतिबन्ध हटाउन आग्रह गरेका थिए। हङकङ–नेपालबीच व्यापार, पर्यटनलगायत द्विपक्षीय सम्बन्ध विस्तारका लागि समेत भिसा सहज बनाइनुपर्ने दाहालको तर्क थियो।

जवाफमा कार्यकारी प्रमुख लेयुङले भिसा सहज बनाउन उत्सुक रहेको संकेत गरेका हुन्। ‘सानो र भिडभाडयुक्त सहर भएकाले हङकङ कडा भिसा नीति लागू गर्न बाध्य छ तर आपसी छलफल गरी समस्या समाधान गर्न हामी उत्सुक छौं,’ लेयुङको जवाफ उद्धृत गर्दै दाहालले सोमबार नागरिकसँग भने।

नेपाली पासपोर्टलाई सन् २००५ देखि भिसा कडाई गरिएपछि हङकङ प्रवेशमा नेपालीले कठिनाई सामना गर्दै आएका छन्। रोजगार भिसा रोकिएपछि हङकङमा नेपाली घरेलु कामदारको संख्या २ हजारबाट पाँच सयमा झरेको छ भने कूटनीतिक, विद्यार्थी र भ्रमण भिसा पाउन त्यत्तिकै कठिन छ। भिसा खुलाउन बेइजिङ र हङकङमा नेपाल सरकारले गरेको प्रयास असफल हुँदै आएको छ।

दाहालले चीनको विदेश मन्त्रालयका हङकङस्थित कमिसनर सोङ झेसँग पनि भिसा समस्या समाधानमा पहल गरिदिन आग्रह गरेका छन्। चीन सरकारबाट औपचारिक पत्र बुझ्ने क्रममा सोमबार कमिसनर सोङसँग भएको शिष्टाचार भेटमा हङकङमा नेपालीले भोग्दै आएको भिसा समस्या सुल्झाउन केन्द्रीय सरकारका तर्फबाट पहल गरिदिन आग्रह गरेको र त्यसमा सकारात्मक जवाफ पाएको दाहालले बताए। चीनको ‘एक देश दुई प्रणाली’ नीतिअन्तर्गत हङकङ र मकाउको विदेश र प्रतिरक्षा मामिला बेइजिङले नै हेर्छ।

अघिल्लो वर्ष कार्यकारी प्रमुखमा निर्वाचित भएका लेयुङले हङकङका नागरिकका लागि नेपाल राम्रो ‘होलिडे डेस्टिनेसन’ बन्न सक्ने बताएका छन्। वाणिज्यदूत किरण शाक्यसहित सरकारी मुख्यालय पुगेका दाहालले हङकङको उच्च मागअनुसार नेपालले दक्ष र अर्धदक्ष कामदार पठाउन सक्ने भन्दै नेपालको जलविद्युत, पर्यटन, कृषि तथा सडक, पुल र रेलमार्ग जस्ता पूर्वाधार विकासको क्षेत्रमा हङकङबाट थप लगानीको अपेक्षा गरिएको बताएका थिए।

‘नेपाल र हङकङबीच व्यापार, लगानी र आर्थिक सम्बन्ध विस्तारका लागि ठोस प्रयास जरुरी छ,’ लेयुङको जवाफ उद्धृत गर्दै दाहालले थपे। नेपाली लगायत हङकङका अल्पसंख्यक समुदायको हित र एकताप्रति सरकार चिन्तित रहेको पनि लेयुङले भेटमा बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026