विदेशबाट फर्किएर अकबरे खेती, वार्षिक नौ लाखसम्म आम्दानी

28 October, 2026

Santosh Subedi

वैदेशिक रोजगारीका लागि करिब एक दशक दुबईमा बिताउनुभएका धनकुटाको पाख्रीबास नगरपालिका–७, राम्चेडाँडाका मोहन थापा अहिले आफ्नै गाउँमा अकबरे खुर्सानी खेती गरेर राम्रो आम्दानी गरिरहनुभएको छ ।

थोरै क्षेत्रफलबाट सुरु गरेको खेती विस्तार गर्दै नौ रोपनीमा पुर्‍याउनुभएका उहाँले वार्षिक आठदेखि नौ लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ ।

विदेशमा पसिना बगाउनुभन्दा आफ्नै ठाउँमा केही गर्ने सोचसहित दुई वर्षअघि घर फर्किनुभएका थापाले गत वर्षदेखि व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती सुरु गर्नुभएको हो ।

सुरुमा तीनदेखि चार रोपनी क्षेत्रफलमा खेती गर्नुभएका उहाँले आम्दानी राम्रो हुन थालेपछि यस वर्ष खेती विस्तार गरेर करिब नौ रोपनीमा पुर्‍याउनुभएको छ ।

कम मेहनतमा राम्रो आम्दानी गर्न सकिने भएकाले अकबरे खुर्सानी खेतीप्रति आकर्षित भएको उहाँ बताउनुहुन्छ । नगदेबालीका रूपमा रहेको खुर्सानी खेतीले घरपरिवारसँगै बसेर आर्थिक रूपमा आत्मनिर्भर बन्न सकिने उहाँको अनुभव छ ।

थापाले लगाएको अकबरे खुर्सानी भदौको अन्तिम सातादेखि टिप्न सुरु गरिन्छ । पुस महिनासम्म उत्पादन लिने गरिएको उहाँ बताउनुहुन्छ । महिनामा करिब आठदेखि नौ पटकसम्म खुर्सानी टिपेर बिक्री गर्ने गरिएको छ । न्यूनतम प्रतिकेजी २५० रुपियाँमा बिक्री हुने खुर्सानी खरिद गर्न ग्राहक घरमै आउने गरेका छन् ।

उत्पादन भएको खुर्सानी स्थानीय बजारसँगै धरान, विराटनगर, झापा, इलामलगायतका ठाउँ हुँदै काठमाडौंसम्म पुग्ने गरेको छ । बजारको व्यवस्था सन्तोषजनक भए पनि किसानले आफूले उत्पादन गरेको कृषि उपजको मूल्य आफैँ निर्धारण गर्न नपाउँदा समस्या हुने गरेको थापाको गुनासो छ ।

‘किसानले जति धेरै उत्पादन गर्‍यो, उति कम मूल्य पाउनुपर्ने अवस्था छ,’ उहाँ भन्नुहुन्छ, ‘कृषि उपजको उचित मूल्य निर्धारण र बजार व्यवस्थापनमा सरकारले सहयोग गरिदिए किसानलाई थप सहज हुने थियो ।’

अकबरे खुर्सानी खेतीबाट राम्रो आम्दानी गर्न थालेपछि थापाले स्थानीय तीनदेखि चार जनालाई रोजगारीसमेत दिनुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै गाउँमा व्यवसाय सुरु गर्नुभएका उहाँले खेती विस्तारसँगै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने अवसरसमेत पाउनुभएको छ ।

गाउँमै बसेर कृषि पेसाबाट राम्रो आम्दानी गर्न सकिने भएकाले वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई पनि आफ्नै ठाउँमा सम्भावना खोज्न उहाँ सुझाव दिनुहुन्छ । थोरै क्षेत्रफलबाट सुरु गरेर मेहनत र लगनशीलताका साथ खेती विस्तार गर्न सके आर्थिक रूपमा सबल बन्न सकिने उहाँको विश्वास छ ।

विदेशमा रोजगारी खोज्नुभन्दा आफ्नै माटोमा सम्भावना खोज्नुपर्ने सन्देश दिँदै थापाले अकबरे खुर्सानी खेतीलाई थप विस्तार गर्ने सोच बनाउनुभएको छ । उहाँको अनुभवले गाउँमै कृषि उद्यममार्फत आम्दानी र रोजगारी सिर्जना गर्न सकिने सम्भावना देखाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026