अघिल्लो वर्षको असोजमा ६४ हजार ६ सय ३४ जनाले श्रम स्वीकृति लिएका थिए। गएको असोजमा मात्रै ७३ हजार ७ सय ६५ नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिए। यो वर्ष झन् बढ्यो। यसले देशमा अझै रोजगारीका अवसर सिर्जना नभएको मात्रै देखाउँदैन, वैदेशिक रोजगारीमै आकर्षण बढिरहेको देखाउँछ।
सौभाग्यको संकेत देखिएको थियो– मुलुकमा युवाले चाहेको सरकार छ। तर तथ्यांकले दुर्भाग्य देखाउँछ। राजनीतिक स्थिरता हुन सक्नेगरी एउटै राजनीतिक पार्टीको पर्याप्त बहुमतको सरकार छ। तर युवामा अझै देशमा केही हुन्छ भन्ने भरोसा भने रहेन सायद।
जुन भरोसा सरकारले दिलाउनुपर्ने थियो। रोजगारीका अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने थियो। रोजगारी सरकार स्वयंले सिर्जना गर्ने होइन। त्यो निजी क्षेत्रले उद्योग, कलकारखाना र व्यवसाय सञ्चालन गर्दा सिर्जना हुने हो। तर आज मुलुकको निजी क्षेत्र आफैं भयभीत छ। सरकारले निजी क्षेत्रलाई विश्वासमा लिन सकेको छैन। बैंकमा दसौं खर्ब रुपैयाँ निक्षेप थुप्रिएको छ। कोही ऋण लिएर उद्यम, व्यवसाय गर्न कस्सिएको छैन।
वैदेशिक रोजगारी युवाको आकर्षण र रहरभन्दा पनि बाध्यता धेरै हो। स्वदेशमै रोजगारी पाए परिवारसँग बिछोडिएर कोही बिदेसिन चाहँदैन। तर नेपाली युवा पलायनको भुमरीमा पर्न अभिशप्त हुनु परेको धेरै दशक भयो। तिनै युवाले बर्सेनि १० खर्बभन्दा बढीको रेमिट्यान्स पठाउँछन् र राज्यको अर्थतन्त्रलाई टेको लाग्छ। अनि सरकारमा बस्नेहरू रेमिट्यान्सको विकल्प खोज्ने अर्थात् युवा पलायन रोक्न उपाय खोज्न ध्यान पुर्याउँदैनन्, चाहँदैनन्।
तर युवा संसाधन निर्यात गरेर कुनै देश बन्दैन, बनेको अपवाद वा उदाहरण पनि छैन। युवालाई स्वदेशमै राख्न इलम व्यवसायमा आकर्षित गर्न नसक्नु नै ठूलो भुल हो। राष्ट्रको दीर्घकालीक हित विपरीतको कर्म हो। आज नेपालको ठूलो जनसंख्याको भार युवाको छ। केही दशकपछि बुढ्यौली उमेरको भार बढी हुँदैछ। तर यही बेला युवालाई विदेश जान रोकेर देशमा केही नगर्ने हो भने भोलिका दिन झन् दुरवस्थाको हुने निश्चित छ।
हो, कुनै बेला अर्थात सन् ९० को दशकपछि स्वदेशमा तत्कालका लागि रोजगारी सिर्जना हुन नसक्दा वैदेशिक रोजगारी विकल्प थियो। सर्वसाधारणले राहदानीसमेत नपाउने अवस्थाको राजनीतिक व्यवस्था बदलिएपछि विदेशकै रोजगारीकै पनि भर पर्नुपर्ने बाध्यता थियो। तर त्यो केही समयका लागि हुनुपर्नेमा आज सबै युवा नेपालीको नियति नै विदेश हुनु ठूलो विडम्बना हो। श्रम स्वीकृति लिएर खाडी र मलेसिया जाने युवाको पंक्ति एकथरी हो।
विद्यार्थीका रूपमा अस्ट्रेलिया, क्यानडा, युरोपेली मुलुकहरू वा अमेरिका जाने पनि खासमा रोजगारीकै खोजमा हो। अर्थात्, जुन रूपमा भए पनि युवा पलायन भएको भइरहेको छ। न रोजगारीका अवसर न शैक्षिक वातावरण। दुवैले युवालाई धकेलेको छ देशबाट र तानेको छ विदेशले। जसरी विदेशले तान्नु युवा पलायनको मुख्य कारण हो, यहाँको वातावरणले धकेल्नु पनि उत्तिकै महत्वपूर्ण छ।
आकर्षण रोक्न नसकिएला। तर वातावरण बनाइयो भने चाहिँ पक्कै पनि बर्सेनि लाखौंका संख्यामा हुने युवा पलायन हजारमा सीमित गराउन सम्भव हुन्छ। त्यसका लागि सरकारले सबैभन्दा पहिला उद्यमशीलतामैत्री वातावरण बनाउनुपर्छ। नवप्रवर्तनका लागि युवालाई अवसर सिर्जना गर्नुपर्छ। कृषि, पर्यटन, जडीबुटीलगायत नेपालमै अवसर सिर्जना गर्ने क्षेत्रमा युवा आकर्षणका कार्यक्रम ल्याउनुपर्छ। होइन भने पलायनको यो विषवृक्ष अझै झ्यांगिँदै जानेछ।