विदेशबाट आएर स्वदेशमा फूल खेती

26 October, 2026

Santosh Dahit

तिहार नजिकिएसँगै दाङको घोराही उपमहानगरपालिका–१४, झिङ्गौरास्थित लोकेन्द्र रोकामगरको फूलबारी ढकमक्क फुलेको सयपत्री फूलले पहेँलपुर बनेको छ । फूलबारीमा फुलेका पहेँला र सुन्तला रङका सयपत्रीले वातावरण नै मनमोहक बनाएको छ । यही फूलबारीबाट उत्पादित सयपत्री देशको विभिन्न बजारमा पुग्ने गरेका छन् ।

जलजला पुष्प खेती तथा नर्सरी फार्म दर्ता गरेर १२ वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आउनुभएका रोकामगरले दुई बिघा क्षेत्रफलमा सयपत्री फूलखेती गर्नुभएको छ । फूलखेतीसँगै विभिन्न जातका बोटबिरुवा उत्पादन गर्दै आउनुभएका उहाँले गत वर्ष सयपत्रीको व्यवसायबाट १६ लाख रुपियाँ बराबरको कारोबार गर्नुभएको थियो । यस वर्ष पनि तिहारलाई लक्षित गरी उहाँले फूल उत्पादन र बिक्रीलाई निरन्तरता दिँदै आउनुभएको छ ।

फूलखेतीबाट आम्दानी हुन थालेपछि रोकामगरले व्यवसाय विस्तार गर्ने योजना बनाउनुभएको छ । सयपत्री फूलखेती र नर्सरी सञ्चालन गर्दै आउनुभएका उहाँले अब गुलाब खेतीसमेत विस्तार गर्ने तयारी गर्नुभएको छ । उहाँको फार्ममा दैनिक चारदेखि पाँच जनाले रोजगारी पाउँदै आएका छन् । परिवारका सदस्यसमेत यही व्यवसायमा संलग्न छन् । उहाँले भन्नुभयो, “पहिला म सात वर्ष कतारमा बसेँ । त्यसपछि नेपाल फर्किएर फूलखेतीलाई व्यावसायिक रूपमा अगाडि बढाएँ । सुरुका वर्षमा फूलको बजार त्यति राम्रो थिएन । अहिले माग बढेको छ र आम्दानी पनि राम्रो हुँदै गएको छ ।”

रोकामगरले थाइल्यान्डका आगा र कर्मा तथा भारतको टेनिसबल जातका सयपत्री फूलखेती गर्दै आउनुभएको छ । असारमा रोपिएका सयपत्री तिहारको समयसम्म ढकमक्क फुल्ने गरेको उहाँले बताउनुभयो । तिहारमा फूलमाला, पूजाआजा र घर सजावटका लागि सयपत्रीको माग बढ्ने भएकाले यस समय किसानका लागि फूल बिक्री गर्ने मुख्य अवसर बन्ने गरेको छ । उहाँका अनुसार अहिले सयपत्रीको एउटा मालाको मूल्य एक सय रुपियाँ र प्रतिकिलो फूलको मूल्य पाँच सय रुपियाँ रहेको छ । फार्ममा उत्पादित फूल घोराही, तुलसीपुरलगायत दाङका बजारमा बिक्री हुनुका साथै बुटवल, पोखरा, नेपालगन्ज र काठमाडौँसम्म पठाउने गरिएको उहाँले बताउनुभयो ।

रोकामगरले व्यावसायिक फूलखेती सुरु गर्दा दाङमा फूलखेती गर्ने किसानको सङ्ख्या कम थियो । अहिले भने जिल्लाका विभिन्न स्थानमा फूलखेती विस्तार हुँदै गएको छ । फूलखेतीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना देखिएपछि किसान यसतर्फ आकर्षित हुन थालेका छन् । रोकामगरका छोरा अनुश रोकामगरका अनुसार दाङमा अहिले करिब ३० बिघा क्षेत्रफलमा फूलखेती भइरहेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026