साउदी अरबको दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक नेपाली सहित ८ जना घाइते भएका छन्।
बुधबार साँझ भएको आक्रमणमा घाइते हुने आठ जनामध्ये एक नेपाली रहेको साउदी अरबको नागरिक उड्डयन प्राधिकरण (जीएसीए) ले जनाएको छ। यसअघि त्यस घटनामा दुई जनाको मृत्यु भएको सार्वजनिक भएको थियो।
जीएसीएले बिहीबार थप एक जनाको मृत्यु पुष्टि गरेसँगै मृतकको संख्या दुई पुगेको हो। मृत्यु हुनेमा एक साउदी नागरिक र एक भारतीय नागरिक छन्।
प्राधिकरणका अनुसार घाइते नेपालीसहित आठ जनाको अवस्था सामान्यदेखि गम्भीरसम्म छ। घाइते हुनेमा एक साउदी नागरिक, भारत, यमन र बंगलादेशका दुई–दुई जना तथा नेपालका एक जना छन्। घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
प्राधिकरणले घटनाबाट भएको क्षतिको आकलन गर्न र यात्रु तथा विमानस्थलका कर्मचारीको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरी आवश्यक काम भइरहेको जनाएको छ।
जीएसीएका अनुसार विमानस्थलको सेवा पुनः सञ्चालनमा आइसकेको छ र हवाई उडान सामान्य अवस्थामा फर्किएको छ।
यसैबीच बुधबार बिहान साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनामालाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको थियो । घटनामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन्।
साउदी अरबको ऊर्जा मन्त्रालयले बिज्ञप्ती जारी गर्दै बुधबार बिहान भएको घटनामा एक नेपाली र एक फिलिपिनी नागरिकको मृत्यु भएको जनाएको छ। घाइते हुनेमा एक पाकिस्तानी र एक भारतीय नागरिक छन्।
घटनामा मृत्यु भएका नेपालीको परिचय, ठेगाना र घटनाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।