रोजगारी, शिक्षा, स्वास्थ्य र सुविधाको खोजीमा गाउँ छाडेर सहर पस्ने नेपालीलाई दसैंले फेरि थातथलोले सम्झाएको छ। दसैं मनाउन काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरबाट गाउँ फर्किनेहरूको लर्को लागेको छ।
बाढीपहिरोले राजमार्ग क्षतिग्रस्त बनाएको र ठाउँठाउँमा सडक अवरुद्ध भए पनि यात्रुहरू जोखिम मोलेरै घर फर्किरहेका छन्। संघीय राजधानी काठमाडौं उपत्यकाबाट मात्रै १० देखि १२ लाखसम्म मानिस बाहिरिने अनुमान छ।
सडकको दुरवस्थाका कारण भने विगतका वर्षको तुलनामा यसपालि यात्रुको चाप केही कम देखिएको यातायात व्यवसायीहरूले बताएका छन्। काठमाडौंलगायतका सहरहरूमा एउटा साझा प्रसंग बनेको छ— ‘दसैंमा गाउँ जाने।’
काठमाडौं, पोखरा, विराटनगरलगायतका सहरी क्षेत्र खाली हुँदै गएका छन् भने गाउँ भरिभराउ हुन थालेका छन्। त्यस्तै, प्रदेश राजधानी र ठूला सहरहरूबाट पनि ठूलो संख्यामा मानिसहरू गाउँ फर्किँदै छन्। बाढीपहिरोको असहज परिस्थिति हुँदाहुँदै पनि मानिसहरू दसैं मनाउन गाउँ गइरहेका छन्। दसैंको मुखमा भोटेकोशी र बुढीगण्डकीमा जलप्रलय नै भयो।
कालीगण्डकी, मस्र्याङ्दीलगायतका नदीमा बाढी आएर अधिकांश राजमार्गहरू ठाउँठाउँमा बिग्रिएका छन्। काठमाडौंबाट बाहिरिने पृथ्वी राजमार्ग र बीपी राजमार्ग ठाउँठाउँमा भत्किएका छन्। कृष्णभीर र रोशी खोलाको कहर पनि उत्तिकै छ। तर पनि सार्वजनिक सवारीसाधन होस् वा आफ्नै निजी सवारीसाधन, मानिसहरू थातथलोतर्फ लागिरहेकै छन्। थानकोट, साँगालगायतका नाकामा यात्रुहरूको चाप उच्च छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतम बाढीपहिरोका कारण विगतमा भन्दा केही कम भए पनि १० लाखको हाराहारीमा मानिसहरूले संघीय राजधानी छाड्ने देखिएको बताउँछन्।
पछिल्लो समय मुलुकमा आन्तरिक र बाह्य बसाइँसराइको अवस्था विकराल छ। गाउँ खाली हुँदै गएका छन्। सदरमुकाम हुँदै मानिसहरू संघीय राजधानी काठमाडौं छिर्ने र वैदेशिक रोजगारीमा जाने लर्को पनि उस्तै छ। ३४ जिल्लाको जनसंख्या त ऋणात्मक नै भइसकेको छ। तर दसैंमा भने गाउँ भरिभराउ हुन्छन्। नेपालभित्रका सहरी क्षेत्रका मानिस मात्र होइन, बिदा पाएमा विदेश गएकाहरूसमेत दसैंमा गाउँ फर्किने गर्छन्।
राष्ट्रिय तथ्यांक कार्यालयका उपतथ्यांक अधिकारी ढुण्डीराज लामिछाने नेपालमा आन्तरिक र बाह्य बसाइँसराइको अवस्था विकराल भए पनि थातथलोको माया भने रहिरहन्छ भन्ने संकेत दसैंमा गाउँ फर्किने प्रवृत्तिले देखाएको बताउँछन्। तथ्यांक कार्यालयका प्रवक्तासमेत रहेका लामिछाने नेपालमा अहिलेको सबैभन्दा जल्दोबल्दो विषय आन्तरिक र अन्तर्राष्ट्रिय बसाइँसराइ भएको बताउँछन्। चाडपर्वका बेला गाउँ जाने र पुनः कर्मभूमिमा फर्किने यस प्रवृत्तिलाई ‘फ्लोटिङ पपुलेसन’ अर्थात् चलायमान जनसंख्याको रूपमा लिने गरिएको उनी बताउँछन्।
लामिछानेका अनुसार चाडपर्वमा काठमाडौंबाट मात्रै करिब १२ लाख मानिस बाहिरिने गरेका छन्। यस तथ्यांकले यहाँ ठूलो मात्रामा चलायमान जनसंख्या बसोबास गर्ने गरेको देखाउँछ। सहरी क्षेत्रमा स्थायी र कानुनी रूपमा बसोबास गर्नेभन्दा बाहिरका जिल्लाबाट आएर बस्नेहरूको संख्या धेरै गुना ठूलो छ। यो संख्या दसैंको मौकामा गाउँतिर नै लाग्ने गरेको छ। दसैंको मौकामा गाउँ फर्किएकाहरूलाई स्थानीय स्तरमै जोड्न आफ्नै ठाउँ र स्थानीय तहहरूमा विकासका पूर्वाधारहरू निर्माण गर्नुपर्ने लामिछाने बताउँछन्।
संघीयतासँगै मुलुकमा तीन तहका सरकार छन्। स्थानीय सरकारले यस्ता जनसंख्यालाई गाउँमै टिकाइराख्नका लागि निर्वाहमुखी कृषिलाई व्यवसायीकरण गर्ने, अर्गानिक खेतीलाई प्रोत्साहन दिने तथा ऊर्जा एवं कलकारखानाहरू खोल्नुपर्ने आवश्यकता छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न नसके पनि स्वदेशमै विज्ञहरूलाई स्थानीय स्तरमा टिकाउन विशेष नीति तथा योजनाहरू बनाउनुपर्ने जनसंख्याविद् लामिछानेको भनाइ छ।
यात्रुको चापमा कमी
विगतका वर्षहरूमा भन्दा यसपालि यात्रुको चाप केही कम छ। राजमार्गको दुरावस्थाका कारण गत वर्षको तुलनामा यस वर्ष दसैंमा यात्रुको चाप कम रहेको यातायात व्यवसायी महासंघका महासचिव गौतमले जानकारी दिए।
‘षष्ठीको दिनभरि नै विगतका वर्षहरूमा जस्तो भिडभाड र चहलपहल देखिएको छैन,’ महासचिव गौतमले भने। फूलपाती र अष्टमीका दिन बढी चाप हुने अनुमान गरिएको छ। महासंघका महासचिव गौतमका अनुसार यस वर्ष दसैंमा यात्रा गर्नेको संख्या १० लाखसम्म पनि नपुग्ने अनुमान छ। बाटोकै मुख्य समस्याका कारण मानिसहरूले चाहेर पनि यात्रा गर्न नसकेको उनको भनाइ छ।
उनले यात्राका लागि सार्वजनिक सवारीसाधनको पर्याप्तता रहेको बताए। ‘गाडीको कुनै कमी छैन, अहिले पनि पर्याप्त गाडीहरू उपलब्ध छन्,’ उनले भने, ‘दैनिक सामान्यतया काठमाडौं उपत्यकामा १० हजार सार्वजनिक सवारीसाधन प्रवेश गर्ने गरेकोमा यसपटक ३० हजार सवारीसाधनको व्यवस्था गरिएको छ।’
त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक डा. कमलादेवी लामिछानेले दसैंलाई सामाजिक दृष्टिकोणले हेर्नुपर्ने बताएकी छन्। उनले भनिन्, ‘यसलाई सामाजिक दृष्टिकोणबाट हेर्नुपर्छ, किनकि हामी सामाजिक प्राणी हौं। हाम्रा समाजमा चलेका रीतिरिवाज, चालचलन र संस्कृतिलाई मानिसहरू बिर्सन चाहँदैनन्।’
वर्षभरिको भागदौड र व्यस्तताबाट उम्किएर दसैंको मौकामा आफ्नो ठाउँ वा थातथलो फर्किन चाहने उनी बताउँछिन्। ‘मानिसहरू वर्षभरिको भागदौड र व्यस्तताबाट उम्किएर लामो बिदामा आफ्नो ठाउँ वा थातथलो फर्किन चाहन्छन्,’ उनले भनिन्, ‘मानिस विदेशमा वा सहरमा जहाँ बसेको भए पनि गाउँघर र जन्मथलोप्रतिको माया र आकर्षण सधैं रहिरहन्छ।’
प्रतिकूल परिस्थितिका कारण धेरै फर्किन चाहनेहरूसमेत रोकिएको उनको भनाइ छ। बाढीपहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा जाने इच्छा हुँदाहुँदै पनि जान नपाएको उनले बताइन्। उनले भनिन्, ‘यसपालि पनि मानिसहरू आफ्नो ठाउँमा फर्किन खोजिरहेका छन्, यद्यपि गत वर्षजस्तो अत्यधिक भिडभाड भने नभएको पाइएको छ।’
बाढीपहिरोका कारण राजमार्गको अवस्था निकै दयनीय छ। सोही कारण गत वर्षहरूको तुलनामा यसपालि दसैंमा यात्रा गर्नेको संख्यामा केही कमी आएको छ र यो संख्या १० लाखसम्म पनि नपुग्ने हाम्रो अनुमान छ। यद्यपि यात्रुका लागि सवारीसाधनको कुनै कमी छैन, उपत्यकामा पर्याप्त गाडीहरूको व्यवस्था गरिएको छ।
डेकनाथ गौतम महासचिव, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ
गाउँ र दसैं एकअर्काका परिपूरक हुन्। पछिल्ला दशकहरूमा मान्छेको सहरी बसाइ बढे पनि दसैंमा गाउँ फर्किने लहरले यो कुराको पुष्टि गर्दछ। थातथलोसँग मान्छेको साइनो भावनात्मक हुने भएकाले नै ठूलो खर्च र अनेक कष्ट सहेर गाउँ फर्किंदा पनि मान्छेहरू खुसी देखिन्छन्। सहरबाट दसैंमा गाउँ फर्किनेहरूको ताँतीले गाउँ गुल्जार हुन्छ।
चेतन अधिकारी, जनसंख्या विज्ञ
नेपालमा आन्तरिक र बाह्य बसाइँसराइको अवस्था विकराल भए पनि दसैंमा गाउँ फर्किने प्रवृत्तिले थातथलोको माया अझै बाँकी रहेको देखाउँछ। चाडपर्वमा काठमाडौंबाट बाहिरिने करिब १२ लाख मानिस ‘फ्लोटिङ पपुलेसन’ हुन्। यस्ता मानिसहरूलाई गाउँमै टिकाइराख्न स्थानीय सरकारले कृषि व्यवसाय, अर्गानिक खेती, ऊर्जा र कलकारखाना प्रवद्र्धन गर्ने विशेष नीति ल्याउनु आवश्यक छ।
ढुण्डीराज लामिछाने उप—तथ्यांक अधिकारी एवं प्रवक्ता, राष्ट्रिय तथ्यांक कार्यालय
दसैंलाई केवल पर्वका रूपमा मात्र नभई सामाजिक दृष्टिकोणबाट हेर्नुपर्छ। मानिसहरू जहाँसुकै बसेका भए पनि आफ्नो जन्मथलो र संस्कृतिको माया सधैं रहिरहन्छ। वर्षभरिको भागदौड र व्यस्तताबाट उम्किएर गाउँ फर्किंदा एकातिर पारिवारिक पुनर्मिलन गराउँछ भने अर्कातिर मानिसलाई मानसिक रूपमा ‘रिफ्रेस’ बनाउँछ।
डा. कमलादेवी लामिछाने
उपप्राध्यापक, त्रिभुवन विश्वविद्यालय
मानिसहरू पुनर्मिलन र रिफ्रेसमेन्टका लागि पनि दसैंमा गाउँघर जाने गरेको उनले बताइन्। ‘दसैंमा लामो बिदा हुन्छ, जसले पारिवारिक पुनर्मिलन गराउँछ। घुमघामले मानिसहरूलाई मानसिक रूपमा ‘रिफ्रेस’ समेत गराउँछ,’ उनले भनिन्।
कलंकी–नागढुंगा नाकामा अत्यधिक चाप
शुक्रबार कलंकी–नागढुंगा नाकामा अत्यधिक चाप देखिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले कलंकी–नागढुंगा नाकामा सवारीसाधन र यात्रुको चाप धेरै रहेको बताए। उनले भने, ‘कलंकी–नागढुंगा नाकामा चाप धेरै छ, हामीले व्यवस्थापन गरिरहेका छौं।’ यो नाकाबाट पूर्व–पश्चिम सबैतिरका यात्रुहरू जाने गर्दछन्।
घर फर्किनेहरूको साँगालगायतका अन्य नाकामा पनि दिनभर नै चाप रहेको थियो। कोटेश्वर, नयाँ बसपार्कलगायतका क्षेत्रमा यात्रुको भिड छ। बिहीबार पञ्चमीका दिनसम्म २ लाख ६० हजार मानिस बाहिरिएका छन् भने ६४ हजार ९ सय ७२ सवारीसाधन काठमाडौंबाट बाहिरिएका छन्। शुक्रबार पनि एकै दिन ठूलो संख्यामा मानिसहरू बाहिरिएको प्रहरीको भनाइ छ।
प्रहरी उपरीक्षक सुवेदीका अनुसार काठमाडौं उपत्यका बाहिर जाने सबै गाडीहरूको मेकानिकल परीक्षण गरेर मात्र बसपार्कबाट अगाडि बढाउने व्यवस्था मिलाइएको छ। उनका अनुसार चालकको मादक पदार्थ सेवन र लागुपदार्थ सेवन परीक्षण तथा गाडीको यान्त्रिक परीक्षण अनिवार्य गरिएको छ।
राजमार्गहरूमा सवारीको लामो लाइन छ। बीपी राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभुवन राजपथलगायतका राजमार्गमा सवारीसाधनको बाक्लो चाप छ। दसैंका लागि असोज २३ गतेदेखि नै अग्रिम टिकट बुकिङ खुला गरिएको थियो।