मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलले राहदानी सेवामा द्रुत सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।
संसदीय सुनुवाइका क्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
‘नेपालको राहदानी विभागसँग समन्वय गरी अनावश्यक दिलाइ हटाउने,’ खरेलको कार्ययोजना छ, ‘राहदानी तयार भएपछि सुरक्षित कुरियरमार्फत सिधै श्रमिकको आवास वा कार्यस्थलमा पुऱ्याउने ।’
मोबाइल सन्देशमार्फत आफैं ट्र्याक गर्न सक्ने डिजिटल प्रणाली सुरु गर्ने, गम्भीर बिरामी, वृद्ध र आकस्मिक अवस्थाका नागरिकलाई विशेष प्राथमिकता दिने पनि बताएका छन् ।
धेरै नेपाली श्रमिक रहेका क्षेत्रहरूमा मोबाइल राहदानी तथा कन्सुलर शिविर सञ्चालन गर्ने योजना सुनाएका छन् ।
मलेसियालाई मुख्य केन्द्र बनाएर इन्डोनेसिया, ब्रुनाई दारुसलाम, फिलिपिन्स र टिमोर लेस्तेमा गैरआवासीय राजदूतको रूपमा काम गर्ने र क्वालालम्पुर दूतावासलाई कूटनीतिक, आर्थिक र नागरिक पहुँचका लागि मुख्य मञ्चका रूपमा प्रयोग बताएका छन् ।
सहज कन्सुलर तथा प्रमाणीकरण सेवा दिने उनको प्रतिबद्धता छ ।
अनलाइनमार्फत कागजपत्र प्रमाणीकरण समय लिने र आवेदन अवस्था हेर्ने प्रणाली विकास गर्ने उनले बताएका छन् ।
क्वालालम्पुर आउन नसक्ने टाढाका नेपालीका लागि ग्रामीण क्षेत्रमा पहुँच विस्तार गर्ने, प्रमाणीकरण भएका कागजात सुरक्षित रूपमा हुलाकमार्फत फर्ता पठाउने विकल्प र सेवा शुल्क, आवश्यक कागजात र सम्पर्क विवरण अनलाइनमा स्पष्ट र पारदर्शी राख्ने उनले बताएका छन् ।
कारागार र हिरासतमा रहेका नेपालीका लागि कानुनी सहायता संयन्त्र बलियो बनाउने र थुनुवाको कानुनी अवस्था, अदालत मिति र स्वदेश फिर्ती विवरण स्पष्ट राख्ने उनको प्रतिबद्धता छ ।
नेपाली नागरिकहरूको पूर्ण सुरक्षा र द्रुत गतिमा सेवा प्रदान गर्ने आधुनिक दूतावास स्थापना गर्ने, नेपालको आर्थिक हित प्रवर्द्धन गर्दै सीप विकास, पर्यटन, व्यापार र लगानी वृद्धिमा जोड दिने पनि उनको योजना छ ।
मलेसियाको कानुनी दायरा र द्विपक्षीय संयन्त्रमार्फत आपसी सम्मानका साथ काम गर्ने र कागजी प्रक्रियामा मात्र सीमित नभई नागरिकले पाएको सेवा र समस्या समाधानलाई सफलताको मापन बनाउने प्रतिबद्धता जनाएका छन् ।