महेन्द्रनगर, धनगढी र नेपालगन्ज — चार वर्षपछि घर फर्किएका रुकुम चौरजहारीका भीमप्रसाद खत्रीलाई शुक्रबार बिहान नेपालगन्जको जमुनाह नाका पार गरेपछि दसैं आएजस्तो लाग्यो। भारतको हिमाचल प्रदेशमा मजदुरी गरेर बचत गरेको रकम बोकेर फर्किएका उनी परिवारसँग दसैं मनाउन उत्साहित थिए। ‘पैसाभन्दा पनि परिवारसँगै बिताउने समय बढी महत्त्वपूर्ण छ,’ उनले भने, ‘चार वर्षपछि परिवारसँग रमाइलो गरेर दसैं मनाउन पाइने भयो।’
खत्रीजस्तै भारतका विभिन्न सहरमा मजदुरी गर्ने सयौं नेपाली दसैं मनाउन घर फर्किरहेका छन्। घटस्थापनासँगै सुदूरपश्चिमका गौरीफन्टा र गड्डाचौकी तथा बाँकेको जमुनाह नाकामा स्वदेश फर्किनेको चाप बढेको छ। कोही वर्षौंपछि परिवार भेट्न फर्किएका छन्, कोही चाडपर्वको खर्च जुटाएर घर आएका छन्। तर लामो यात्रा गरेर नाकामा आइपुगेका उनीहरूलाई गन्तव्यसम्म पुग्न सहज छैन। अटो चालकले मनपरी भाडा असुल्ने र यात्रुलाई अलपत्र पार्ने गरेको गुनासो छ।
सुर्खेतका प्रेम ओली खेतीपातीको काम सकेर दसैं खर्च जुटाउन भारतको उत्तराखण्ड पुगेका थिए। चार महिनाका लागि भारतको सिम्ला पुगेका उनी शुक्रबार पोका–पुन्तरा बोकेर घर फर्किए। ‘दसैं मनाउन पुग्ने खर्च ल्याएको छु,’ उनले भने, ‘गरिबलाई चाडपर्व परिवारसँग भेटेर समय बिताउने अवसर हुन्।’
दैलेख चामुण्डाका २१ वर्षीय सिजांग नेपाली दुई महिनाअघि भारतको उत्तराखण्डस्थित बागेश्वर पुगेका थिए। त्यहाँ ज्यालादारी गरेर फर्किएका उनी अब दसैं–तिहार घरमै मनाउने योजनामा छन्। ‘दसैं नजिकिएसँगै सबै गाउँले फर्किन थालेकाले हामी पनि आयौं,’ उनले भने, ‘अब दसैं–तिहार घरमै मनाउने हो, त्यसपछि भारततिरै लाग्ने हो।’
१६ वर्षकै उमेरदेखि भारत आउजाउ गरिरहेका उनले उत्तराखण्डका रानीखेत र गढवाललगायत क्षेत्रमा काम गरिसकेका छन्। पछिल्लो पटक बागेश्वर पुगेका उनी तिहारपछि बेङलोर जाने सोचमा छन्। ‘तिहारपछि बेङलोर जाने सोच बनाएको छु,’ उनले भने, ‘मजदुरी मात्र कति गर्ने, अरू काम पाइन्छ कि हेरौं।’
बागेश्वरमा खोटो संकलनको काम गर्दै आएका बझाङको दुर्गाथलीका धनबहादुर दौल्याल पनि शुक्रबार घर फर्किए। एक दशकदेखि खोटो संकलन गर्दै आएका उनी गत फागुनमा बागेश्वर पुगेका थिए। ‘सबै फर्किन लागेपछि हामी पनि काम छाडेर हिँड्यौं,’ उनले भने, ‘अहिले त काम गर्ने ठाउँ सुनसान छन्।’
एक क्विन्टल खोटो संकलन गरेबापत १ हजार ९ सय भारतीय रुपैयाँ पाउने गरेको उनले बताए। महिनामा ४० देखि ५० क्विन्टल हाराहारी खोटो संकलन हुने गरेको उनको भनाइ छ। श्रीमती पार्वतीसहित बागेश्वरमा काम गर्दै आएका दौल्याल तिहारपछि खेतीपातीको काम सकेर फेरि फर्किने योजनामा छन्।
भारतमा लामो समयदेखि रोजगारी गरिरहेका नेपाली पनि दसैं मनाउन घर फर्किरहेका छन्। अछामको कुस्कोटका ५० वर्षीय सर्जनबहादुर साउद सात वर्षपछि गाउँ फर्किएका छन्। भारतको नयाँ दिल्लीस्थित कश्मीरी गेटमा काम गर्दै आएका उनी भाइसहित तीन जनाको परिवार लिएर आएका हुन्। ‘सपरिवार आएका छौं,’ उनले भने, ‘दसैं मनाएर फर्किहाल्छौं।’
सर्जनबहादुर ३७ वर्षदेखि भारतमा रोजगारी गरिरहेका छन्। गाउँमा खर्च धान्न मुस्किल भएपछि उनी भारत पसेका थिए। कुस्कोटकै बिरकेश साउद १२ वर्षपछि स्वदेश फर्किएका हुन्। ‘हाम्रै गाउँका ६० जनाभन्दा बढी घर फर्किरहेका छौं,’ उनले भने, ‘यसपालिको दसैंमा गाउँमा रमाइलो गर्ने सोचले आएका हौं।’
सर्जनबहादुर र बिरकेशजस्तै अछाम, बाजुरा, बझाङ, डोटी र कैलालीलगायत जिल्लाका बासिन्दा गौरीफन्टा नाका हुँदै स्वदेश फर्किरहेका छन्। सुदूरपश्चिमका पहाडी जिल्लासहित कैलाली र कञ्चनपुरका स्थानीय रोजगारीका लागि भारतका पञ्जाब, मुम्बई, बैंग्लोर, गुजरात र सुरतलगायत सहर पुग्ने गरेका छन्।
नेपालगन्जस्थित जमुनाह नाकामा बिहान ६ देखि राति १० बजेसम्म नेपाल प्रवेश गर्नेको घुइँचो लाग्छ। नाका भएर दैनिक १० हजार सर्वसाधारण स्वदेश फर्किरहेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईले बताए। दसैं नजिकिएसँगै फर्किनेको संख्या बढिरहेको उनको भनाइ छ। पछिल्ला पाँच दिनमा मात्रै यहाँबाट ५० हजारभन्दा बढी नेपाली घर फर्किएको उनले बताए।
नेपालगन्ज भएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बासिन्दा फर्किने गरेका छन्। भारतबाट बस र रेलमा तीनदेखि पाँच दिनसम्म यात्रा गरेर नाकामा आइपुग्ने उनीहरूको मुहारमा यात्राको थकानभन्दा परिवारसँग भेट्न पाउने खुसी बढी देखिन्छ। तर नाकामा यात्रु तानातान गर्न रिक्सा चालकबीच तँछाडमछाड हुन्छ भने नेपालगन्जका होटल सञ्चालक पनि यात्रु खोज्दै नाकासम्म पुग्छन्।
स्वदेश फर्किने यात्रुको सहजता र सुरक्षाका लागि जमुनाहमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सीमावर्ती क्षेत्रमा लुटपाट र ठगी हुन नदिन तथा यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन सहायता कक्ष सञ्चालन गरिएको बताए। ‘नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा योजना लागू गरेका छौं,’ उनले भने, ‘सहायता कक्षबाट आवश्यक सूचना, समन्वय तथा सहयोग उपलब्ध गराइनेछ।’
सीमा पार गरेर स्वदेश आइपुगेका यात्रु गन्तव्यसम्म पुग्न पनि ठगिने गरेका छन्। कैलालीको गौरीफन्टास्थित त्रिनगर भन्सारबाट धनगढीको ट्राफिक चौराहसम्म ३० र बसपार्कसम्म ४० रुपैयाँ अटो भाडा निर्धारण गरिएको छ। तर केही चालकले ५ सयदेखि १ हजार ४ सय रुपैयाँसम्म असुल्ने गरेको प्रहरीले जनाएको छ।
भारतको तमिलनाडुबाट फर्किएका आदित्य खड्कासँग त्रिनगरबाट धनगढी बसपार्कसम्म पुर्याउन अटो चालकले ८ सय भारतीय रुपैयाँ मागेका थिए। खड्काले ट्राफिक प्रहरीसित गुनासो गरेपछि चालकलाई नियन्त्रणमा लिइएको थियो। केही दिनअघि अछामको रामारोशनका कमल परियारसँग पनि नाकाबाट धनगढी बसपार्कसम्म ८ सय भारतीय रुपैयाँ भाडा असुलिएको थियो। प्रहरीले उक्त रकम फिर्ता गराएको थियो।
जिल्ला प्रहरी प्रवक्ता योगेन्द्र तिमिल्सिनाका अनुसार यात्रु ठगिन थालेपछि नाकालगायत विभिन्न स्थानमा प्रहरी परिचालन गरिएको छ। यात्रु ठगिएको वा कुनै समस्यामा परेको पाइएमा सहयोग गर्ने गरिएको उनले बताए। त्रिनगर प्रहरी चौकीका इन्चार्ज सई सन्तोष सिंहका अनुसार यात्रुको सहज आवागमनका लागि सहायता कक्ष सञ्चालन गर्नुका साथै नियमित अनुगमन बढाइएको छ। ‘तोकिएको भाडादरभन्दा बढी लिइएको पाइएमा कारबाही प्रक्रिया पनि अघि बढाइएको छ,’ उनले भने। उनका अनुसार यतिबेला भारतबाट दैनिक चार हजारभन्दा बढी यात्रु आउने गरेका छन्।
बाँकेको जमुनाह नाकामा पनि सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइएको छ। सशस्त्र प्रहरीले सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरेको छ। सशस्त्र प्रहरी सहायक निरीक्षक यज्ञ भण्डारीका अनुसार सबै यात्रुको जाँच गरिँदैन, शंका लागेका व्यक्तिलाई मात्रै जाँच गर्ने गरिएको छ। ‘लामो दूरी पार गरेर थाकेर नाकामा आइपुग्नुहुन्छ। सबै जना घर पुग्न हतारोमा हुन्छन्,’ उनले भने, ‘हामी सहजीकरण गरेर नाका पार गराउँछौं। शंका लागेका व्यक्तिलाई मात्रै जाँच गर्छौं।’
कञ्चनपुरको गड्डाचौकी नाकामा पनि यात्रुले हैरानी बेहोर्नुपरेको छ। त्यहाँ अटो चालकले कहिले आधा बाटोमै छाडिदिने त कहिले दोब्बर–तेब्बर भाडा असुल्ने गरेका छन्। गड्डाचौकीदेखि महेन्द्रनगरसम्म ५० रुपैयाँ भाडा तोकिएको छ। तर सामान देखाउँदै अटो चालकले १ सय रुपैयाँ वा त्योभन्दा बढी लिने गरेको पाइन्छ। यात्रुलाई ठगीबाट जोगाउन प्रहरीले नाका र महेन्द्रनगरस्थित बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। तर सहायता कक्षमा गुनासो कम मात्रै आउने गरेको छ।