अदम्य आँट, साहस, चुनौतीको सहजै वहन गर्न सक्ने क्षमता, आत्मविश्वास, धैर्य, सिर्जनशीलका पर्याय मानिन्छन् युवा । भर्भराउँदो ऊर्जा, सौर्य र शक्तिको प्रतीक युवासँग समाज र राष्ट्रको रूपान्तरण गर्न सक्ने क्षमता हुन्छ, जसको आधारमा उनीहरू आफ्नो विकासमा मात्र होइन राज्य र समाजको समुन्नतिका लागि पनि तम्तयार हुन्छन् । राष्ट्र निर्माणका लागि दशकौँदेखि योगदान दिइरहेका युवा विविध समस्याको चक्रव्यूहबाट घेरिएका छन् । आर्थिक समृद्धि तथा सामाजिक रूपान्तरणको अभिभारा युवाको काँधमा छ तर उनीहरूलाई समस्याबाट मुक्त गर्न भने सकिएको छैन । परिवर्तन र विकासका संवाहक तथा उन्नतिको आधारशीला मानिने युवा राष्ट्र निर्माणका प्रमुख साधन र साध्य बन्नका लागि विभिन्न चुनौतीको सामना गर्नु परेको छ । समृद्ध र सुनौलो नेपालको सम्भावना र भविष्य युवाकै भरोसामा छ । उनीहरूसँग जेलिएका समस्याका गाँठा फुकाउन र उल्झन हटाउन नसक्दा राष्ट्र निर्माणको गति सुस्त भएको छ । जसका कारण युवाको समग्र क्षेत्रको अवस्था र विकासको गति पनि सन्तोषजनक भएको छैन । यस्तै अवस्थामा नयाँ युवाको सरकारको आगमन भएसँगै सुनौलो बिहानीको आशामा युवा दीर्घकालीन समृद्धिको खोजीमा छन् ।
नेपालको जनसाङ्ख्यिक संरचनामा उल्लेख्य स्थान ओगटेका युवाको कार्यक्षमतामा नै देशको भविष्य टिकेको हुन्छ । उनीहरूको समृद्धिको आधारमा समाज र राज्यको रूपान्तरण जोडिएको हुन्छ तर परिवर्तन र समृद्धिको सबैभन्दा ठुलो सम्भावना मानिएको युवाशक्तिको ठुलो हिस्सा गरिबी, बेरोजगारी, अशिक्षा तथा आर्थिक अवसरको अन्योल र सुखद भविष्यको अनिश्चिततासँग जुधिरहेको छ । पछिल्लो जनगणना अनुसार युवाको जनसङ्ख्या ४२.५६ प्रतिशत छ । यसमध्ये नेपालको युवा बेरोजगारी दर २०.६ प्रतिशत रहेको छ ।
युवाका लागि नयाँ रोजगारीका अवसर सिर्जना हुन नसकेको अवस्थाबारे विश्लेषण गर्दै सरकारले युवालक्षित कार्यक्रमलाई रोजगार सिर्जना, सिप विकास र नवप्रवर्तनसँग जोडेर अगाडि बढाई युवा रोजगार प्रवर्धनलाई प्राथमिकता दिएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत युवालाई लक्षित गर्दै खेल पूर्वाधार विस्तारदेखि सिप विकास र उद्यमशीलता प्रवर्धनसम्मका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । बजेटमा वैदेशिक रोजगारीमा रहेका युवालाई लक्षित गर्दै खुला विश्वविद्यालयमार्फत अध्ययनको अवसर प्रदान गरिने जनाइको छ । युवालाई विभिन्न विषयगत छोटो अवधिका तथा कार्यस्थल–आधारित तालिममार्फत सिपयुक्त बनाउने कार्यक्रम अगाडि सारिएको छ । साथै, कृषि तथा पशुजन्य उद्यम गर्न इच्छुक युवालाई प्रोत्साहन गर्न एक हजार युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराइने सरकारको घोषणा छ ।
सरकारले गत वैशाखमा पाँच वर्षभित्र १५ लाख नयाँ रोजगारी सिर्जना गर्ने र मुलुकको अर्थतन्त्रलाई एक खर्ब डलर पु¥याउने महìवाकाङ्क्षी लक्ष्यसहितको प्रतिबद्धतापत्रको मसौदा सार्वजनिक गरेको थियो । यसका लागि आर्थिक क्षेत्रमा स्थायित्व र सुधारतर्फ नेपालको युवाकेन्द्रित जनसाङ्ख्यिक लाभांशलाई आर्थिक रूपान्तरणका रूपमा उपयोग गरी मुलुकलाई मध्यम आयमूलकमा स्तरोन्नति गरिने मसौदामा उल्लेख छ । राष्ट्रिय आयको समतामूलक पुनर्वितरण तथा सन्तुलनसहितको विकासका लागि निजी क्षेत्रको गतिशीलता, नवप्रवर्तन र सिर्जनशीलतालाई प्रवर्धन गर्न उदार अर्थनीति, सार्वजनिक शिक्षा, स्वास्थ्य, यातायात, आवास तथा सामाजिक सुरक्षाको व्यवस्था गर्ने जनाइएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले छ महिनाको अवधिमा विभिन्न योजना तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । सरकारले यस अवधिमा युवाको विकास र रोजगारी प्रवर्धनका लागि प्रक्रियागत, संरचनागत तथा प्रशासनिक सुधार, प्रविधिको प्रयोगमा विस्तार र सेवा प्रवाहमा प्रभावकारिता जस्ता पक्षमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएको छ । सरकारले ल्याएको शासकीय सुधार कार्यसूचीमा युवालाई लक्षित गर्दै देशमा रोजगारी सिर्जना, सिप विकास तथा उद्यमशीलता प्रवर्धनलाई एकीकृत रूपमा सुदृढ गर्न रोजगार, सिप तथा उद्यमशीलता केन्द्रका रूपमा रूपान्तरण गर्ने जनाइएको छ ।
राष्ट्रिय युवा नीति, २०७२ ले युवाका आधारभूत अधिकारको प्रत्याभूति गर्दै युवा सशक्तीकरणका माध्यमबाट उद्यमशील, सिर्जनशील, वैज्ञानिक एवं सकारात्मक सोचयुक्त समृद्ध युवा तयार गर्ने परिकल्पना गरेको थियो । १६ औँ योजनामा देशको जनसाङ्ख्यिक लाभलाई अधिकतम उपयोग गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न श्रम बजारको आवश्यकता अनुसारका नवीन प्रविधिमैत्री सिपयुक्त, कर्मशील, परिश्रमी सेवाको भावना भएको युवा श्रमशक्तिको उत्पादन र परिचालनमार्फत राष्ट्रिय उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न सकिने उल्लेख छ । यस्ता अभ्यासलाई निरन्तरता दिन राजनीतिमा अब्बल, जुझारु, सक्षम तथा ऊर्जाशील युवाको सक्रिय सहभागिता जरुरी हुन्छ । देशका हरेक क्षेत्रको विकासको अवस्था राजनीतिसँग निर्भर हुन्छ । राजनीति भनेको इमानदार र नैतिकवान् व्यक्तिले राज्य र जनताको हितका लागि गरिने सेवा हो । वर्तमान सरकारको मुख्य एजेन्डा भनेकै सुशासन, विकास, भ्रष्टाचार नियन्त्रण, प्रभावकारी सेवा हो ।
हरेक वर्ष पाँच लाख युवा श्रमबजारमा प्रवेश गर्न योग्य हुन्छन् तर सबैले स्वदेशमा रोजगारी पाउँदैनन् । सरकारी सेवामा सीमित पहुँच छ भने निजी क्षेत्रमा अत्यन्तै न्यून ज्याला । उद्यमशीलताको अभाव हुँदा रोजगारीको सिर्जना र स्थायित्वको कमी छ । यसले गर्दा अधिकांशले विदेशतर्फको बाटो सोझ्याउन बाध्य छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्क अनुसार नेपालमा बेरोजगारी दर १२.६ प्रतिशत छ । हातमा विश्वविद्यालयको प्रमाणपत्र लिएर पनि आफ्नो योग्यता र रुचि अनुसारको काम नपाउँदा युवामा असन्तुष्टि र निराशा बढ्दो छ । फलस्वरूप उनीहरू उच्च शिक्षा पूरा गरेर पनि वैदेशिक रोजगारीका लागि विदेशको बाटो रोज्नुपर्ने अवस्था छन् । बजारको माग र जनशक्तिको आपूर्तिबिच सामाञ्जस्य नहुँदा, उद्यमशीलतामा प्रोत्साहन नहुँदा युवाशक्तिले देशमा भविष्य देख्नै छोडेका हुन् । लैङ्गिक, क्षेत्रीय, जातीय असमानताका कारण युवाले पर्याप्त अवसर त पाएका छैनन् नै त्यसमाथि युवामैत्री लगानीको अभावका कारण स्वदेशमा उद्यमशील भई दिगो उत्पादकत्व बढाउन सकेका छैनन् । गुणस्तरीय, समयसापेक्ष, रोजगारमूलक शिक्षाको अभावका कारण देशमा आफूले चाहे जस्तो काम नपाउनेको सङ्ख्या पनि उत्तिकै छ ।
देश र समाजको नेतृत्व गर्ने, नीति निर्माण गर्ने दायित्व रहेका युवा शिक्षित, सक्षम, अब्बल हुनु पनि उत्तिकै जरुरी छ । ऊर्जाशील र इमानदार व्यक्ति राज्यका प्रमुख अङ्गमा आएमा मात्र देशको समृद्धि तथा आर्थिक, सामाजिक रूपान्तरण सहज हुन्छ ।