घरखर्च चलाउन नजिकको सहर र भारत पुगेका नेपाली घर फर्किन थालेका छन् । असारको काम सकेर भारतको सिम्लालगायतका ठाउँमा मजदुरी गर्न गएका कालीकोटलगायतका माथिल्लो कर्णालीका स्थानीय घर फर्कन थालेका हुन् । अचेल कर्णाली राजमार्गको खुलालुदेखि माथि जाने सबै गाडी भारतबाट आएका नेपाली मजदुरले भरिभराउ छन् ।
सुर्खेत–कालीकोट गाडी चलाउँदै आएका रासकोट नगरपालिका–१ का गाडीचालक अर्जुनबहादुर बमले अचेल यात्रुसँगै सामानले गर्दा गाडीमा क्षमताभन्दा बढी भार बोक्नु परेको बताउनुभयो । उहाँले सुर्र्खेतदेखि रासकोट आउँदा बोलेरो गाडीमा पाँच जना यात्रु राख्दा उनीहरूका सामानका कारण भार बढी बोक्नु परेको बताउनुभयो ।
पढ्ने विद्यार्थीको घर फर्कने यात्रा सुरु भएको छैन । अहिले भारतबाट र नेपालका विभिन्न सहरमा व्यापार र मजदुरीका लागि गएका मान्छे घर फर्किने चटारोमा छन् । गाउँ जानेले अहिले गाडी नपाउने समस्या पनि उस्तै छ । पछिल्लो समय ठुला बस चढ्ने यात्रु कम पाइन्छन् । साना जिप, बोलेरोमा मात्र यात्रा गर्ने भएकाले दसैँमा घर जाने यात्रुले गाडी भरिभराउ हुन थालेका छन् । कालीकोटको जितेमा बजार छैन तर विभिन्न गाडीमा जिरो प्वाइन्ट पुगेका यात्रुले अहिले जिते, खुलालु भरिभराउ हुने गरेका छन् । सुर्खेतबाट मान्म कालीकोट, मुगु, हुम्ला, बाजुराको पूर्वी क्षेत्र जाने यात्रु गाडी नपाएर छतदेखि ढोकामा समेत झुन्डिएर जाने गरेका छन् ।
खुलालुका पङ्खबहादुर विष्टले एक हप्तादेखि दैनिक गाडीमा क्षमताभन्दा बढी यात्रु आउने गरेको बताउनुभयो । १० सिटका गाडीमा २० जनाभन्दा बढी आइरहेका छन् ।