सबै म्यानपावर एफडब्लुसिएमएसमा आबद्ध भए आपत्ति छैन: अध्यक्ष खत्री

7 October, 2026

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले मलेसिया रोजगारीका लागि सबै म्यानपावर कम्पनीलाई फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) मा आबद्ध गरिए आफूहरूको आपत्ति नरहने बताएका छन्।

पत्रकारहरूसँग कुराकानी गर्दै खत्रीले मलेसिया रोजगारीसम्बन्धी देखिएको समस्या समाधानका लागि सरकारले उपयुक्त उपाय अवलम्बन गर्न सक्ने बताए।

मन्त्रालयले सबै म्यानपावर कम्पनीलाई एफडब्लुसिएमएसमा आबद्ध गर्ने तयारी गरिरहेको अवस्थामा सबैलाई समान रूपमा प्रणालीमा समावेश गरिए आफूहरूको कुनै आपत्ति नरहने उनको भनाइ छ।

‘सम्मान, इज्जत र समान अधिकार प्राप्त गरेका सबै म्यानपावर कम्पनीलाई एफडब्लुसिएमएसमा आबद्ध गरिन्छ भने हाम्रो कुनै आपत्ति छैन,’ खत्रीले भने।

उनले मलेसिया रोजगारीसम्बन्धी समस्या समाधानका लागि संघ सरकारसँग सहकार्य गर्न तयार रहेको पनि बताए।

समस्या समाधानका लागि सरकारले चाल्ने कदममा व्यवसायीहरूको साथ र सहयोग रहने उनको भनाइ छ।

पछिल्लो समय मलेसियाको एफडब्लुसिएमएस प्रणाली विवादमा छ।

मलेसियाले यो प्रणालीमा सुरूमा २५ वटा म्यानपावर छनोट गरेको थियो।

पछि ती २५ वटाको रोहबरमा रहने गरी थप २५० म्यानपावर सूचीकृत गरेको छ।

सूचीकृत म्यानपावर कम्पनीबाट मात्रै श्रमिक भर्ना प्रक्रिया अगाडि बढाउने मलेसियाले जनाएको छ।

जसको मलेसियाले सिन्डिकेट गर्न लागेको भन्दै विरोध भइरहेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026