विदेशमा रहेका श्रमिकका लागि प्रभावकारी बन्दै वीरको टेलिमेडिसिन सेवा

7 October, 2026

Shivahari Ghimire

  • मलेसियामा कार्यरत बझाङका उमेश धामी बिस्तारै मानसिक समस्यामा पर्न थाले । दैनिक कामको पेलान र एक्लै बस्दा उनलाई मानसिक समस्याले थिच्न थालेको थियो । बिस्तारै उनमा एकोहोरिने, परिवारका सदस्यसँग कुराकानी नगर्ने, नियमित काममा नजानेजस्ता समस्या देखिन थाले । समस्या बढेपछि गत असारमा उनलाई कम्पनीले नै उपचार गर्न भन्दै घर पठाउने तयारीसमेत गरेको थियो । धामीसँगै काम गर्ने साथीहरूले उनलाई घर पठाउनुभन्दा बरु त्यहीँ उपचार गर्नतिर लागे । उनीहरूले साउनको पहिलो साता वीर अस्पतालको टेलिमेडिसिन सेन्टरको नम्बरमा फोन गरे । मानसिक समस्याले विक्षिप्त हुन लागेका धामीबारे वीरका चिकित्सकसँग कुराकानी गरे । बिरामीका लक्षण बताएपछि यहाँबाट औषधिको नाम लेखेर अनलाइनमा पठाइदिए । एक महिनासम्म लगातार परामर्श दिए । त्यसपछि उनलाई निको भयो । हाल उनको अवस्था सामान्य छ । अहिले उनी आफूले काम गरिरहेको कम्पनीमा निरन्तर काममा छन् ।

  • गत भदौ पहिलो साता साउदी अरबमा कार्यरत महोत्तरीका महेश यादवको अचानक छाती दुख्यो । उनका साथीहरूलाई नेपालमा रहेको वीर अस्पतालमा टेलिमेडिसिन सेवा छ भन्ने थाहा थियो । यादवका साथीहरूले वीरको टेलिमेडिसिन सेन्टरमा फोन गरे । लक्षण सुनाउँदा उनलाई हृदयाघात भएको थाहा भयो । सिपिआर गर्दै अस्पताल दौडाउन वीरमा मेडिकल अधिकृतले अनुरोध गरे । मलेसियास्थित अस्पतालमा उपचार गरेपछि उनी निको भए ।

    पछिल्लो समय वीर अस्पतालको टेलिमेडिसिन सेन्टरमा स्वास्थ्य सेवा तथा परामर्शका लागि विदेशबाट फोन तारन्तार आउने गरेको छ । कतिपयले गम्भीर समस्या लिएर फोन गर्छन् भने कतिपयले सामान्य । टेलिमेडिसिन सेन्टरका प्रमुख डा. प्रकाश बुढाथोकीका अनुसार दूरदराजमा रहेका नेपाललाई सित्तैमा परामर्श दिने र स्वास्थ्य अवस्थाको जोखिम टार्ने काम टेलिमेडिसिन सेवा गरिरहेको बताए । ‘अहिले दैनिक २० देखि २५ जनाले विदेशबाट टेलिमेडिसिन सेन्टरमा फोन गर्नुहुन्छ, उहाँहरूले आफ्नो स्वास्थ्य भएको समस्या भन्नुहुन्छ, हामीले सोअनुसार उपचारका लागि परामर्श दिन्छौँ, कतिपयलाई यो औषधि सेवन गर्नुस् वा यो अस्पतालमा जानुस् भनेर भन्छौँ,’ उनले भने, ‘विशेषगरी खाडी मुलुकमा काम गर्ने नेपालीले यस्तो परामर्श सेवा लिनुहुन्छ ।’

बुढाथोकीका अनुसार टेलिमेडिसिन सेन्टरमा सातजनाको टिम छ । जहाँ मेडिकल अधिकृत, मनोसामाजिक परामर्शदाता, विशेषज्ञ चिकित्सक र ल्याबका कर्मचारी छन् । साउनयता बिहान ९ देखि बेलुकी ९ बजेसम्म टेलिमेडिसिन सेवा प्रदान गरिन्छ । त्यसका लागि अस्पतालले दुइटा मोबाइल नम्बर, ह्वाट्सएप, भाइबर र इमोलगायतबाट सम्पर्क गरेर टेलिमेडिसिन सेवा लिन सकिन्छ । ‘विशेषगरी वैदेशिक रोजगारका लागि खाडीमा रहनुभएका नेपालीहरूले यो सेवालाई रुचाउनुभएको छ, अझ यसको प्रचारप्रसार कम छ, यसलाई बढी चिनाउने हो भने विदेशमा काम गर्नुहुनेले टेलिमेडिसिनबाट स्वास्थ्य परामर्श सेवा लिन सक्नुहुन्छ,’ बुढाथोकीले भने, ‘यसलाई अब २४सै घण्टा सेवा दिन सक्ने गरी गृहकार्य गरिरहेका छौँ ।’

एक वर्षमा ५२ देशमा काम गर्ने तीन हजार ९९७ जनाले लिए सेवा

बुढाथोकीका अनुसार विगतमा टेलिमेडिसिन सेवा राम्रो थिएन । १५ चैत ०७९ मा वैदेशिक रोजगार विभागसँग समन्वय र सम्झौता भएपछि कार्यालय समयमा चल्ने गरी सेवा नियमित गरिएको थियो । हाल विभागले पनि विदेश जान लागेका कामदारलाई टेलिमेडिसिन सेवाबारे थाहा दिने गरेको छ । बिस्तारै कामदारहरूलाई थाहा हुन थालेपछि यसबाट परामर्श लिनेको संख्या बढ्दो छ । गत आर्थिक वर्षमा ५२ देशमा काम गर्ने तीन हजार ९९७ जना नेपालीले सेवा लिएका छन् । जसमा सबैभन्दा बढी मलेसियाबाट एक हजार दुई सय छन् ।

टेलिमेडिसिन सेन्टरका मेडिकल अधिकृत, मनोसामाजिक परामर्शदाताले जटिल किसिमको विशेषज्ञ सेवा चाहिने भएमा अन्य विभागसँग समन्वय गरी चिकित्सकीय सेवा प्रवाह गर्ने गरेको बुढाथोकीको भनाइ छ । उनका अनुसार दुर्गममा विशेषज्ञ चिकित्सक सेवा पुर्याउन सकिँदैन । टेलिमेडिसिन नै प्रभावकारी माध्यम हो । सरकारको डिजिटल नेपाल फ्रेमवर्कमा आठ क्षेत्रमध्ये स्वास्थ्य एउटा क्षेत्र थियो । त्यसमा टेलिमेडिसिन सेवा सुरु गर्ने उल्लेख थियो । तर, त्यसलाई प्रभावकारी रूपमा अघि बढाइएन । मुख्यतः विदेशमा काम गर्न गएका नेपालीका लागि यो प्रभावकारी भएकाले यसलाई अझ प्रचारप्रसार गर्ने र सम्बन्धित देशसँग समेत समन्वय गरेर कामदारलाई अस्पतालसँग जोड्ने तयारी भइरहेको बुढाथोकीको भनाइ छ ।

टेलिमेडिसिनबारे छैन सरकारको स्पष्ट नीति

प्रभावकारी मानिएको टेलिमेडिसिन सेवाको नीतिगत पक्ष भने कमजोर छ । यो सेवालाई नीतिगत रूपमा सरकारले स्पष्ट पार्न सकेको छैन । डा. बुढाथोकीका अनुसार ‘दूर चिकित्सा सेवा तथा अनलाइन स्वास्थ्य सेवा कार्यविधि ०७७’ बनेको छ । यो कार्यविधि कोभिडका वेला बनेको हो । त्यतिवेला भौतिक रूपमा सेवा प्रवाह गर्न कठिन हुने भएकाले मेडिकल काउन्सिलले पनि एउटा मापदण्ड बनाएको थियो, तर त्यसको कार्यान्वयन हुन सकेको छैन ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारले वीर अस्पतालमा टेलिमेडिसिन विदेशमा बस्नेहरूका लागि बढी उपयोगी भएको बताए । उनले यसबाहेक अन्य अस्पतालले पनि रोगका किसिमअनुसार टेलिमेडिसिन सेवा दिइरहेको जानकारी दिए । ‘वीरको सबैभन्दा राम्रो छ, अन्य अस्पतालहरूले पनि यस्तो सेवा दिएका छन्, पाटन अस्पतालले मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा दिइरहेको छ, सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रले पनि मिर्गौलासम्बन्धी परामर्श दिइरहेको छ,’ उनले भने, ‘तर, प्रभावकारी के कस्तो भन्ने होला, टेलिमेडिसिन सेवा बढ्दो छ, अब यसको नीतिगत विषय पनि मन्त्रालयले स्पष्ट पार्दै जानेछ ।’

निर्देशिकाको मस्यौदा बन्यो, तर स्वीकृत भएन

बुढाथोकीका अनुसार ०७६ मा डिजिटल हेल्थ निर्देशिका बनाउने भनेर स्वास्थ्य मन्त्रालयले मस्यौदा तयार पारेको थियो । तर, हाल उक्त मस्यौदा कहाँ छ पत्तो छैन । नीतिगत रूपमा टेलिमेडिसिनलाई परिपक्व बनाउने कार्य नहुँदा यो सेवा प्रभावकारी भए पनि अन्य अस्पतालमा सुरु गर्न नसकिएको बुढाथोकीको भनाइ छ । ‘टेलिमेडिसिनको सबैभन्दा महŒवपूर्ण भनेको इलेक्ट्रोनिक हेल्थ रेकर्ड हो । तर, हामीकहाँ हेल्थ सिस्टम प्रविधिमैत्री बन्न सकिरहेको छैन, जसकारण टेलिमेडिसिन सेवा पनि प्रभावकारी हुन सकिरहेको छैन,’ उनले भने, ‘टेलिमेडिसिनको क्षेत्रमा सरकारले ध्यान नै दिएन । एकतर्फ बजेटको कमी भयो अर्कातर्फ डिजिटल हेल्थको अभ्यास कम भयो ।’

०७६ देखि सुरु भएको ग्रामीण टेलिमेडिसिन सेवा बन्द

विश्वमा सन् १९९२ मा अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटीले गाउँले मानिसलाई टेलिमेडिसिन सेवा सुरु भएको थियो । नेपालमा पनि ७ माघ ०६७ मा ग्रामीण टेलिमेडिसिन सेवा भनेर सुरु भयो । त्यतिवेला हिमाली र पहाडी क्षेत्रमा २५ जिल्लामा यो सेवा सुरु गरिएको थियो । तर, त्यो नमुनाकै रूपमा सीमित भयो । निरन्तरता र व्यापकमा भएन । अझ ०७७ मा कोभिड–१९ आएपछि यो सेवा झन्झन् व्यापक र आवश्यक ठानियो । त्यहीअनुसार स्वास्थ्य मन्त्रालयले ०७२ देखि टेलिमेडिसिन सेवा सञ्चालन गर्ने भनेर नीति तथा कार्यक्रममै समेटेको थियो । ०८० मै सरकारले ०८१ सम्म संघीय अस्पतालमा टेलिमेडिसिन सेवा सुरु गर्ने भनेर घोषणा गरेको थियो । तर, अझै पनि यो सेवा प्रभावकारी हुन नसकेको बुढाथोकीको भनाइ छ ।

वीर अस्पतालको टेलिमेडिसिन सेन्टर प्रमुख डा. प्रकाश बुढाथोकी भन्छन्–

अहिले दैनिक २० देखि २५ जनाले विदेशबाट टेलिमेडिसिन सेन्टरमा फोन गर्नुहुन्छ, उहाँहरूले आफ्नो स्वास्थ्य भएको समस्या भन्नुहुन्छ, हामीले सोअनुसार उपचारका लागि परामर्श दिन्छौँ, कतिपयलाई यो औषधि सेवन गर्नुस् वा यो अस्पतालमा जानुस् भनेर भन्छौँ । विशेषगरी खाडी मुलुकमा काम गर्ने नेपालीले यस्तो परामर्श सेवा लिनुहुन्छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026