अस्ट्रेलिया विद्यार्थी भिसामा जानै कठिन, पुगेपछि बसाइ लम्ब्याउन थप मुस्किल

5 October, 2026

Pradip Timalsina

अस्ट्रेलियाले विदेशी विद्यार्थीका लागि थप कडा मापदण्डहरू लागु गरेको छ । विद्यार्थी भिसामा अस्ट्रेलिया प्रवेश गर्नै कठिन बनाएको मात्र होइन, अस्ट्रेलिया पुगेपछि अर्को भिसा थप्दै जाने, पटक-पटक कोर्स वा संस्था बदल्दै बसाइँ लम्ब्याउने र पछि परिवार बोलाउने बाटो भने क्रमशः साँघुरो बनाउँदै लगेको छ।

२ अक्टोबर २०२६ देखि लागू भएको नयाँ नियम त्यसैको पछिल्लो चरण हो। अब अस्ट्रेलियाभित्रै बसेर विद्यार्थी भिसा लिन खोज्ने अधिकांश अस्थायी भिसाधारीले देशबाहिरबाट आवेदन गर्नुपर्नेछ।

हाल विद्यार्थी भिसामा रहेका व्यक्तिले अर्को विद्यार्थी भिसाका लागि आवेदन दिँदा पनि अधिकांश अवस्थामा यही नियम लागू हुनेछ। आवेदन देशबाहिरबाट गर्नुपर्ने भए भिसा स्वीकृत हुँदा पनि आवेदक अस्ट्रेलियाबाहिरै हुनुपर्नेछ।

यसको अर्थ अस्ट्रेलिया पुगेपछि अध्ययनको तह वा योजना परिवर्तन गर्दा पहिले जस्तो सजिलोसँग देशभित्रै बसेर अर्को विद्यार्थी भिसा थप्ने विकल्प धेरैका लागि बाँकी रहेन।

यद्यपि सबैका लागि नियम एउटै छैन। अध्ययन पूरा गर्न थप १२ महिना आवश्यक पर्ने विद्यार्थी, विद्यावारिधि अध्ययनमा जाने, अस्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभाग वा रक्षा निकायबाट प्रायोजित विद्यार्थी, विद्यालय तहका विद्यार्थी तथा केही अन्य विशेष अवस्थालाई छुट दिइएको छ।

शिक्षा प्रदायकको समस्या वा अध्ययन निरन्तरतामा संस्थागत कारणले असर परेका केही विद्यार्थीका लागि पनि छुटको व्यवस्था छ।

परिवार पछि बोलाउने बाटो बन्द

नयाँ व्यवस्थाको अर्को ठूलो असर परिवारसँग अस्ट्रेलिया जाने विद्यार्थीमा पर्छ।

अब अधिकांश विद्यार्थीले नयाँ विद्यार्थी भिसाको आवेदनमै श्रीमान्, श्रीमती वा आश्रित सन्तानलाई समावेश गर्न पाउने छैनन्। त्यसभन्दा पनि महत्त्वपूर्ण, विद्यार्थी भिसा स्वीकृत भएपछि पछि परिवारलाई ‘सब्सिक्वेन्ट इन्ट्रेन्ट’का रूपमा बोलाउने व्यवस्था नै हटाइएको छ।

यसको अर्थ, विद्यार्थी एक्लै पहिले जाने र पछि परिवारलाई त्यही विद्यार्थी भिसाका आधारमा बोलाउने पुरानो बाटो सामान्य अवस्थामा खुला रहनेछैन।

केही सीमित अवस्थामा भने परिवारलाई समावेश गर्न पाइन्छ। विद्यावारिधि, अस्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभाग वा रक्षा निकायबाट प्रायोजित अध्ययन, विदेशी सरकारी छात्रवृत्ति तथा योग्य प्रशान्त र आसियान क्षेत्रका विद्यार्थी त्यस्ता अपवादमा पर्छन्।

पहिलेदेखि परिवार अस्ट्रेलियामै रहेका केही विद्यार्थीले पनि निश्चित अवस्थाअनुसार अर्को विद्यार्थी भिसाको आवेदनमा उनीहरूलाई समावेश गर्न सक्ने व्यवस्था छ। तर नयाँ नियमपछि परिवारलाई पछि छुट्टै आवेदनमार्फत जोड्ने बाटो भने बन्द गरिएको छ।

अस्ट्रेलियाको नजर अब ‘कोर्स हपिङ’तिर

भिसा नियममा मात्र होइन, अस्ट्रेलियाले विद्यार्थीले एकपटक प्रवेश गरेपछि कलेज र कोर्स परिवर्तन गर्ने अभ्यासमाथि पनि नियन्त्रण बढाएको छ।

२ अक्टोबरदेखि गैरविद्यालय क्षेत्रका अन्तर्राष्ट्रिय विद्यार्थीले एउटै शिक्षा प्रदायकको मुख्य कोर्समा कम्तीमा १२ महिना पूरा नगरी अर्को प्रदायकमा सर्न पाउने अवधि अस्थायी रूपमा बढाइएको छ। यो व्यवस्था ३० जुन २०२७ सम्म लागू हुनेछ। त्यसपछि १ जुलाई २०२७ देखि फेरि ६ महिनाको प्रावधानमा फर्कनेछ।

यसपछि अर्को तहको कडाइ पनि आउँदैछ। अस्ट्रेलियाले २०२७ को मध्यदेखि नयाँ विद्यार्थी भिसा ‘ट्रान्सफर स्ट्रिम’ ल्याउने बताएको छ। यसको उद्देश्य अस्ट्रेलिया आएपछि कम तहका वा कम गुणस्तरका कोर्समा सर्दै विद्यार्थी भिसाको अवधि लम्ब्याउने प्रवृत्ति रोक्नु हो।

अर्थात्, अस्ट्रेलियाको चासो अब विद्यार्थीले अस्ट्रेलिया प्रवेश गर्दा वास्तविक विद्यार्थी हो कि होइन भन्नेमा मात्रै सीमित छैन। प्रवेश गरेपछि उसले के पढ्यो, किन संस्था बदल्यो र अध्ययनको बाटो भिसा लम्ब्याउने माध्यम त बनेको छैन भन्ने विषय पनि निगरानीमा आउँदैछ।

एउटा कोर्स नै बन्द गर्ने निर्णय किन आयो ?

नयाँ नियम लागू भएको भोलिपल्टदेखि अर्को घटना पनि चर्चामा छ।

अस्ट्रेलियाले ‘ग्राजुएट डिप्लोमा अफ म्यानेजमेन्ट (लर्निङ)’ नामको पाठ्यक्रममा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना नै रोक्ने निर्णय गरेको छ। ५ अक्टोबरदेखि नयाँ विद्यार्थी भर्ना गर्न पाइने छैन।

सरकारले उक्त पाठ्यक्रममा विद्यार्थी भर्नाको ढाँचा र संस्थागत गतिविधिमा महत्त्वपूर्ण र प्रणालीगत भिसा इमानदारीसम्बन्धी समस्या देखिएको बताएको छ। पहिलेदेखि अध्ययनरत विद्यार्थीले भने आफ्नो पढाइ पूरा गर्न पाउनेछन्।

अझ रोचक कुरा, पाठ्यक्रम बन्द हुने सूचना आएपछि केही शिक्षा प्रदायकले समयसीमा छल्न खोजेको सरकारी दाबी छ। सरकारले १,३०० भन्दा बढी नयाँ कन्फर्मेसन अफ इनरोलमेन्ट जारी भएको र १,५०० भन्दा बढी विद्यार्थीको अध्ययन सुरु हुने मिति अगाडि सारिएको जनाएको छ।

नेपाली विद्यार्थी किन बढी संवेदनशील ?

यो परिवर्तन नेपालका लागि पनि सामान्य विषय होइन।

अस्ट्रेलियाको गृह मामिला विभागका अनुसार २०२४–२५ मा नेपाली नागरिकलाई ३१ हजार ८६९ विद्यार्थी भिसा दिइएको थियो। यो एक वर्षमा अस्ट्रेलियाले दिएको विद्यार्थी भिसामध्ये ८.६ प्रतिशत हो र नेपाल विद्यार्थी भिसा पाउने देशमध्ये तेस्रो स्थानमा थियो।

त्यसैगरी, जुन २०२६ सम्मको अस्ट्रेलियाली शिक्षा विभागको तथ्यांकमा अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपालीको हिस्सा करिब ९ प्रतिशत थियो।

यही अवधिमा अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीको कुल भर्ना अघिल्लो वर्षको तुलनामा ८ प्रतिशत र नयाँ विद्यार्थीको संख्या ९ प्रतिशत घटेको थियो।

यसको अर्थ, नेपाली विद्यार्थी अस्ट्रेलियाली शिक्षा प्रणालीको सानो समूह होइनन्। त्यसैले भिसा नियममा आएको परिवर्तनले पढाइको योजना, आर्थिक तयारी, परिवारसँगको बसाइँ र भविष्यको बसाइँसराइ योजनासम्म असर पार्न सक्छ।

सिड्नीका रजिस्टर्ड माइग्रेसन एजेन्ट निरज श्रेष्ठका अनुसार नयाँ व्यवस्था विशेषगरी अस्ट्रेलियाभित्र बसेर अर्को विद्यार्थी भिसा लिने तयारीमा रहेका र अध्ययनको तह वा विषय परिवर्तन गर्न चाहने विद्यार्थीका लागि महत्त्वपूर्ण छ।

उनका अनुसार अब कतिपय विद्यार्थीले नयाँ भिसा प्रक्रियाका लागि देशबाहिर जानुपर्ने हुन सक्छ। त्यसले हवाई यात्रा, बसाइँ र आवेदनसँग सम्बन्धित अतिरिक्त खर्च थप्न सक्छ। पहिले नै परिवारसहित अस्ट्रेलियामा रहेका विद्यार्थीका लागि भने आफू कुन अपवादभित्र पर्छु भन्ने कुरा झन् महत्त्वपूर्ण भएको उनको भनाइ छ।

श्रेष्ठका अनुसार नयाँ व्यवस्थाको मूल उद्देश्य वास्तविक अध्ययनभन्दा भिसा र बसाइँलाई प्राथमिकता दिने भिसा हपिङ तथा कोर्स हपिङ नियन्त्रण गर्नु हो। तर नियमको प्रभाव वास्तविक विद्यार्थीमाथि पनि पर्न सक्ने भएकाले आवेदनअघि आफ्नो अवस्था र लागू हुने छुटबारे स्पष्ट जानकारी लिनुपर्ने उनी बताउँछन्।

अब विद्यार्थीले के बुझ्नुपर्छ ?

नयाँ नियमपछि अस्ट्रेलियामा पढ्न जाने निर्णय पहिलेभन्दा बढी योजना बनाएर गर्नुपर्ने भएको छ।

विशेषगरी, अस्ट्रेलिया पुगेपछि फेरि विद्यार्थी भिसा लिनुपर्ने अवस्था आउन सक्छ कि आउँदैन, कलेज वा कोर्स परिवर्तनको सम्भावना कति छ, परिवार पछि बोलाउने योजना छ कि छैन र आफू कुनै अपवादभित्र पर्छु कि पर्दिनँ भन्ने कुरा आवेदनअघि नै जाँच्नुपर्नेछ।

अस्ट्रेलियाको गृह मामिला विभागले नयाँ नियम लागू भएपछि गलत स्थानबाट गरिएको आवेदन अमान्य हुन सक्ने र त्यसले भविष्यको भिसा अवस्थासमेत प्रभावित पार्न सक्ने चेतावनी दिएको छ। त्यसैले शिक्षा प्रदायक वा एजेन्टको मौखिक सुझावमा मात्र भर नपरी आधिकारिक नियम हेरेर योजना बनाउन विभागले आग्रह गरेको छ।

अस्ट्रेलियाले विद्यार्थीलाई रोक्न खोजेको होइन। तर विद्यार्थी भिसा लिएर प्रवेश गरेपछि पढाइभन्दा बाहिरका बाटोमार्फत अस्थायी बसाइँलाई निरन्तरता दिने सम्भावनालाई भने क्रमशः बन्द गर्दैछ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026