सामाजिक सुरक्षा कोष : कमैले गर्छन् नियमित योगदान

5 October, 2026

सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्ने वैदेशिक श्रमिकको सङ्ख्या अत्यन्त कम रहेको छ । कोषका अनुसार अहिले बढीमा १३ प्रतिशतले मात्र नियमित योगदान गर्दै आएका छन् । वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिनुपूर्व कोषको योजनामा आबद्ध हुनुपर्ने बाध्यकारी व्यवस्था छ ।

कोषका अनुसार २०७६ साउन १ देखि २०८३ असोज १५ गतेसम्म औपचारिक क्षेत्र, वैदेशिक रोजगार, स्वरोजगार र अनौपचारिकसमेत गरेर ३२ लाख १३ हजार ९०३ योगदानकर्ता योजनामा जोडिएका छन् । त्यसमध्ये २४ लाख २९ हजा १६१ योगदानकर्ता वैदेशिक रोजगारीमा जाने (७६ प्रतिशत) रहेका छन् ।

वैदेशिक रोजगारका जानकार रामेश्वर नेपाल वैदेशिक रोजगारी जानेलाई कोषमा नियमित योगदान गर्दाका फाइदाका विषयमा पर्याप्त जानकारी नहुँदा यस्तो अवस्था भएको बताउनुहुन्छ तर कोषका प्रवक्ता कृष्णप्रसाद अधिकारी भने नेपालीका प्रमुख श्रम गन्तव्य देश (संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब, मलेसिया) मा नियमित योगदानका लाभबारे नेपाली दूतावास र कूटनीतिक नियोगमार्फत जानकारी गराउँदै आएको दाबी गर्नुहुन्छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषका योजनामा आकर्षण गर्न श्रमिकको आफ्नो कमाइ अनुसार कम्तीमा आधारभूत पारिश्रमिकको २१ प्रतिशत (वा तोकिएको न्यूनतम रकम दुई हजार ५९८ रुपियाँ) मासिक रूपमा बुझाउन सक्ने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीमा रहेकाले नियमित योगदान गरेमा रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएमा परिवारलाई पेन्सनको व्यवस्था, अङ्गभङ्ग भएमा वा जटिल बिरामी भएमा १० लाख रुपियाँ बराबरको उपचार सुविधा रहेको छ ।

सरकारले सबै वर्गका श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षामा अनिवार्य सूचीकरण भएर नियमित योगदान रकम जम्मा गर्ने प्रावधान बनाए पनि वैदेशिक रोजगारीमा रहेका अधिकांश श्रमिकको योगदान रकम नियमित हुन सकेको छैन ।

सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकको हितका लागि सञ्चालनमा ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा विदेशमा रहेका युवाले बाध्यता र औपचारिकताका लागि मात्र रकम जम्मा गर्ने गरेको पाइएको छ । श्रम स्वीकृति लिन मात्र कोषमा रकम जम्मा गर्नुपर्ने बुझाइका कारण योगदान भइरहेको जानकार बताउँछन् ।

कोषका अनुसार अहिलेसम्म ३२ लाख १३ हजार ९०३ श्रमिकबाट हालसम्म एक खर्ब २३ अर्ब ८३ करोड रुपियाँ सङ्कलन भएको छ । जसमा २२ अर्ब ५५ करोड रुपियाँ औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था योजना अन्तर्गत दाबी भुक्तानी भएको कोषले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024