कोशी प्रदेशमा रोजगार मेला, ६ हजारभन्दा बढी कामदारको माग

30 September, 2026

कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा बुधबारदेखि साताव्यापी ‘सीप तथा रोजगार मेला’ सुरु हुँदै छ । उक्त मेलामा विभिन्न उद्योग–प्रतिष्ठानले ६ हजारभन्दा बढी कामदार तथा कर्मचारीको माग गरेका छन् भने रोजगारी र तालिमका लागि ५ हजारभन्दा बढी युवाले आवेदन दिएका छन् ।

युवा जनशक्तिलाई स्वदेशमै रोजगारीका अवसरसँग जोड्ने उद्देश्यले युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीस्थित सोल्टी वेस्टइन्ड होटलको परिसरमा मेला आयोजना गरिएको हो ।

मन्त्रालयले सञ्चालनमा ल्याएको रोजगार पोर्टलमार्फत उद्योगी–व्यवसायीले हालसम्म ६ हजारभन्दा बढी पदका लागि जनशक्ति माग गर्दै रिक्त पद खुलाएका छन् । सोही प्रणालीमार्फत रोजगारी खोज्ने र सीपमूलक तालिम लिन चाहने ५ हजारभन्दा बढी युवा सूचीकृत भइसकेका छन् ।

माग भएका रोजगारीका अवसरमध्ये ८० देखि ९० प्रतिशत कोशी प्रदेशकै उद्योग तथा व्यवसायसँग सम्बन्धित रहेको र बाँकी अन्य क्षेत्रका रहेको मन्त्रालयका सहसचिव तथा सीप तथा रोजगार मेलाका संयोजक हेमराज तामाङले जानकारी दिनुभयो ।

मेलामा प्रत्यक्ष अन्तर्वार्तामार्फत रोजगारदाता र रोजगारी खोज्ने युवाबिच समन्वय गरी रोजगारी सुनिश्चित गर्ने लक्ष्य राखिएको तामाङले बताउनुभयो ।

युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव एवं मेलाका संयोजक तामाङका अनुसार असोज १४ देखि २० गतेसम्म सञ्चालन हुने मेलामा सूचना तथा जानकारीमूलक गरी करिब ७५ वटा स्टल राखिएका छन् । सात दिनसम्म चल्ने मेलामा विभिन्न १० विधामा अल्पकालीन सीपमूलक तालिम सञ्चालन गरिनेछ ।

जसअन्तर्गत उद्यमशीलता विकास तथा व्यावसायिक योजना, बारिस्टा, अचार बनाउने, मेकअप तथा नेल आर्ट, आतिथ्य सत्कार तथा सञ्चार कला, कुक तथा वेटर, आधारभूत लेखा, सिटी सफारी तथा विद्युतीय सवारी (ईभी) मर्मत र एसी मर्मतसम्बन्धी तालिम सञ्चालन हुनेछन् ।

यसैगरी, डिजिटल प्रविधितर्फ युवाको आकर्षणलाई मध्यनजर गर्दै मेलामा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) र डिजिटल मार्केटिङसम्बन्धी तालिमलाई प्राथमिकता दिइएको छ । खुला सत्रमार्फत एक हजारभन्दा बढी युवालाई एआईसम्बन्धी अभिमुखीकरण दिइनेछ भने २०–२० जनाको समूह बनाएर गहन तालिमको व्यवस्था मिलाइएको छ ।

मेलामार्फत शिक्षार्थी तालिम (एप्रेन्टिसिप) र कार्यस्थलमा आधारित तालिम (डब्लूबीटी) का लागि समेत आवश्यक सूचना सङ्कलन गरी युवालाई क्रमशः औद्योगिक प्रतिष्ठानसँग जोड्ने योजना रहेको संयोजक तामाङले जानकारी दिनुभयो ।

मेलाको औपचारिक उद्घाटन सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम छ भने उद्घाटन सत्रको अध्यक्षता युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले गर्ने तय भएको सहसचिव तामाङले जानकारी दिनुभयो ।

कार्यक्रममा सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह, कोशी प्रदेशका मुख्यमन्त्री, सुनसरी जिल्लाबाट प्रतिनिधित्व गर्ने सङ्घीय संसद् तथा राष्ट्रिय सभाका सदस्य, प्रदेश सरकारका मन्त्री तथा प्रदेश सभा सदस्यहरूको सहभागिता रहनेछ ।

त्यस्तै, कोशी प्रदेशका सबै जिल्ला समन्वय समितिका प्रमुख, पालिकाका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत, प्रदेशस्तरीय राजनीतिक दलका नेतृत्व, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका प्रतिनिधिको उपस्थिति रहने जनाइएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026