दुबईमा राहदानी लिन जान नसक्ने नेपालीलाई हुलाकमार्फत डेलिभरी गरिने

28 September, 2026

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ ।

महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो ।

अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक दिएपछि सम्बन्धित आवेदकले महावाणिज्यदूतावासमै डेलिभरी फाराम भर्नुपर्नेछ । नयाँ राहदानी बनेपछि महावाणिज्यदूतावासले उक्त राहदानी यूएईको सरकारी हुलाक सेवा इमिरेट्स पोस्टमार्फत डेलिभरी गरिने दूतावासले जनाएको छ ।

महावाणिज्यदूतावासका अनुसार डेलिभरीका लागि सेवाग्राहीले इमिरेट्स पोस्टलाई १५ दिराम शुल्क तिर्नुपर्नेछ । भ्याटसहित भने यो शुल्क १५.७५ दिराम हुनेछ ।

महावाणिज्यदूतावासले यो सेवा स्वेच्छिक रहेको भन्दै आवश्यक पर्ने सेवाग्राहीले मात्र उपयोग गर्न सक्ने जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026