माइती नेपालको पहलमा भारतको तेलंगानाबाट नेपाली बालिकाको उद्धार

28 September, 2026

Mohan Bista

बेचबिखनको उच्च जोखिममा रहेकी एक नेपाली बालिकालाई माइती नेपाल कञ्चनपुरले भारतको तेलंगाना राज्यबाट उद्धार गरेको छ। माइती नेपाल कञ्चनपुरले म्याग्दीको धवलागिरी गाउँपालिका– ७ की १४ वर्षीया बालिकालाई उद्धार गरेको हो।

माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार गत २५ भदौदेखि हराइरहेकी बालिकालाई दलाल समूहले भारतको तेलंगाना पुर्‍याएको थियो। भारतमा राम्रो जागिर लगाइदिने भन्दै उनीहरूले बालिकालाई भारत लगेका थिए।

बालिकाका आमाबुबा दुवै अपांगता भएका (दृष्टिविहीन) छन्। आमाबुबालाई छाडेर आफ्नै साथी र भिजानुसँग भारत गएकी बालिका हराएपछि उनका बुवाले स्थानीय प्रहरी र माइती नेपालमा खोजतलासका लागि निवेदन दिएका थिए।

निवेदन प्राप्त भएपछि माइती नेपालले नेपाल र भारत दुवैतर्फ खोजतलासको काम अघि बढाएको संयोजक भट्टले बताइन्। भारतीय प्रहरी तथा अन्य संघसंस्थासँग समन्वय गर्दै बालिकाको खोजी गरिएको थियो। भारतीय रेलवे प्रहरीको सहयोगमा तेलंगानाको खम्मम रेलवे स्टेसनबाट बालिकाको उद्धार गरिएको उनले बताइन्। उद्धारपछि बालिकालाई सकुशल नेपाल ल्याएर माइती नेपाल कञ्चनपुरको संरक्षणमा राखिएको छ।

बालिकालाई पारिवारिक पुनर्मिलन गराउने तयारी भइरहेको माइती नेपालले जनाएको छ। बालिकालाई भारत लैजाने दुईजनाविरुद्ध भारतमै मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दर्ता गरी उनीहरूलाई भारतीय प्रहरीको हिरासतमा राखिएको संयोजक भट्टले जानकारी दिइन्। बालिका सकुशल उद्धार भएको खबर पाएपछि परिवारले खुसी व्यक्त गरेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026