यूएई जाने श्रमिकको प्रहरी रिपोर्ट शुल्क घट्ने

28 September, 2026

Ajabi Poudyal

वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली श्रमिकले प्रहरी रिपोर्ट प्रमाणीकरणका लागि बुझाउँदै आएको शुल्क ५० प्रतिशत घट्ने भएको छ। बिहीबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी र नेपालका लागि यूएईका राजदूतबीच भएको भेटघाटमा शुल्क घटाउने निर्णय भएको हो।

भेटका क्रममा वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका विभिन्न समसामयिक विषयमा छलफल हुनुका साथै नेपाली श्रमिकलाई सहज हुने गरी विभिन्न विषयमा सहमति र प्रतिबद्धता व्यक्त गरिएको संघका महासचिव हरिबहादुर डाँगीले जानकारी दिएका छन्।

संघले यूएई जाने नेपाली श्रमिकका लागि प्रहरी प्रमाणपत्र प्रमाणीकरणको व्यवस्था पूर्णरूपमा हटाउन आग्रह गरेको थियो। तर, यो व्यवस्था यूएईको आन्तरिक सुरक्षासँग सम्बन्धित रहेकाले तत्काल पूर्णरूपमा हटाउन सम्भव नभए पनि शुल्क र समय घटाउने विषयमा राजदूतले सकारात्मक पहल गर्ने आश्वासन दिएका थिए। संघका अनुसार अक्टोबर २०२६ देखि यूएई जाने नेपाली श्रमिकको प्रहरी प्रमाणपत्र प्रमाणीकरण शुल्कमा ५० प्रतिशत छुट दिइनेछ। साथै, यसअघि लामो समय लाग्दै आएको प्रमाणीकरण प्रक्रियालाई अब तीन दिनभित्रै सम्पन्न गर्ने व्यवस्था मिलाइएको छ।

यूएई जाने नेपाली श्रमिकको प्रहरी प्रमाणपत्र प्रमाणीकरण शुल्क ५० प्रतिशत घट्ने भएको छ।

लामो समय लाग्दै आएको प्रमाणीकरण प्रक्रिया अब तीन दिनभित्र सम्पन्न गर्ने व्यवस्था गरिएको छ।

अक्टोबर २०२६ देखि नयाँ शुल्क लागू हुने।

नेपालबाट यूएई भिजिट तथा व्यावसायिक भिसामा जाने नागरिकलाई पनि प्रमाणीकरण नचाहिने व्यवस्था गर्न राजदूतले पहल गर्ने।

आगामी दिनमा नेपालबाट भिजिट तथा व्यावसायिक भिसामा यूएई जाने नेपाली नागरिकलाई प्रहरी प्रमाणपत्र प्रमाणीकरण गर्न नपर्ने व्यवस्थाका लागि समेत राजदूतले पहल गर्ने बताएका छन्।

भेटमा नेपाली श्रमिकको हवाई यात्रालाई सहज बनाउने विषयमा पनि छलफल भएको थियो। यूएईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक उडान सुरु गरिसकेको र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि छिट्टै नियमित उडान सञ्चालन गर्न आवश्यक पहल भइरहेको जानकारी राजदूतले गराएका थिए।

पोखरा र भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान विस्तार भएमा उच्च हवाई भाडाका कारण भारत भई गन्तव्य मुलुक जान बाध्य नेपाली श्रमिकहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। संघले वैदेशिक रोजगारीमा जाने श्रमिक तथा व्यवसायीहरूलाई पोखरा र भैरहवा विमानस्थलको प्रयोग बढाउन आग्रह गर्दै नियमित हवाई सेवालाई सहज, भरपर्दो र दीर्घकालीन बनाउन आवश्यक वातावरण निर्माणका लागि सम्बन्धित पक्षसँग अपिल गरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026