युवालाई स्वदेशमै भविष्य देखाउन असोज १४ देखि इटहरीमा सीप तथा रोजगार मेला हुने

24 September, 2026

श्रम बजारको मागअनुसार युवालाई दक्ष बनाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यसहित कोशी प्रदेशको इटहरीमा सात दिने ‘सीप तथा रोजगार मेला २०८३’ आयोजना हुने भएको छ।

आगामी असोज १४ देखि २० गतेसम्म सञ्चालन हुने उक्त मेलाको तयारीबारे युवा, श्रम तथा रोजगार मन्त्रालयले बुधाबार पत्रकार भेटघाटमार्फत जानकारी दिएकाे हो।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले मेला परिसरभित्र प्रवेश गर्ने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकुन् भन्ने मूल ध्येयका साथ कार्यक्रम आयोजना गर्न लागिएको बताए।

‘मेलामा छिर्ने प्रत्येक युवा बाहिर निस्कँदा आफ्ना सम्भावनाप्रति स्पष्ट, आशावादी र नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ निस्कने वातावरण बनाइनेछ,’ मन्त्री यादवले भने।

सरकारले चालु आर्थिक वर्षभित्र देशभरका कम्तीमा १ लाख युवालाई रोजगारीको अवसरमा जोड्ने लक्ष्य राखेको छ। सोही लक्ष्य हासिल गर्न सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहसँग कार्यसम्पादन सम्झौता गरिएको जानकारी दिँदै मन्त्री यादवले इटहरीबाट सुरु हुने यो अभियान क्रमशः बाँकी ६ वटै प्रदेशमा राष्ट्रिय अभियानका रूपमा विस्तार गरिने बताए।

सरकारले वि.सं. २०८३/८४ देखि २०९२/९३ सम्मको अवधिलाई रोजगार दशक घोषणा गरेको छ।

रोजगारदाताले उपयुक्त जनशक्ति नपाउने र श्रमिकले काम नपाउने विद्यमान मिस म्याच अन्त्य गर्न मेलाले एकीकृत मञ्चको काम गर्नेछ।

‘सीप र रोजगारी: साझा जिम्मेवारी’ नारा दिइएको यस मेलामा सुनसरी-मोरङ औद्योगिक कोरिडोरलाई केन्द्रित गरी उद्योग, सेवा, कृषि तथा निर्माण क्षेत्रका स्टलहरू राखिनेछन्।

मेलामा रोजगारी खोज्ने र दिने पक्षबीच प्रत्यक्ष संवादमार्फत जब म्याचिङ र जब प्लेसमेन्ट गराइनेछ। साथै, हाल बजारमा उच्च माग रहेका आर्टिफिसियल इन्टेलिजेन्स (एआई), विद्युतीय सवारीसाधन (ईभी), र एसी रिपेयरिङजस्ता क्षेत्रमा छोटो अवधिको सीपमूलक तालिम, करिअर काउन्सिलिङ तथा उत्प्रेरणात्मक सत्रहरू सञ्चालन गरिनेछ।

मेलालाई पारदर्शी एवं व्यवस्थित बनाउन डिजिटल पोर्टल समेत सञ्चालनमा ल्याइएको छ। यस पोर्टलमा कोशी प्रदेशका १३७ वटै स्थानीय तहका रोजगार संयोजक, रोजगारदाता र बेरोजगार युवाहरूले विवरण दर्ता गराई सेवा लिन सक्नेछन्।

तीनवटै तहका सरकार, निजी क्षेत्र र सरोकारवाला निकायहरूको संयुक्त सहकार्यमा आयोजना हुने यस मेलाले वैदेशिक रोजगारीको बाध्यता न्यूनीकरण गर्न टेवा पुर्‍याउने विश्वास सरकारले लिएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026