मलेसियामा सीमित म्यानपावर मार्फत श्रमिक पठाउने विषयमा आईओएमको ध्यानाकर्षण

23 September, 2026

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम’ (एफडब्लूसीएमएस) मा नेपालका २५ म्यानपावर कम्पनीलाई मुख्य संस्था र २ सय ५० लाई सबएजेन्टका रूपमा सूचीकरण गरिएको विषयमा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) नेपालसँग छलफल गरेको छ ।

संघ अध्यक्ष डिकबहादुर खत्री (कुमार) नेतृत्वको प्रतिनिधिमण्डलले आईओएम नेपालकी चिफ अफ मिसन हेलेन फोर्ससँग भेट गरी एफडब्लूसीएमएसमा नेपालका म्यानपावर सूचीकृत भएको विषयमा ध्यानाकर्षण गराएको हो ।

भेटमा एफडब्लूसीएमएसको वर्तमान व्यवस्थाले सीमित संस्थालाई मात्र मुख्य संस्थाका रूपमा राख्दा एकाधिकार कायम हुन सक्ने भन्दै त्यसलाई रोक्नुपर्ने संघले जनाएको छ ।

साथै, उक्त व्यवस्थाका कारण नेपाली श्रमिकमाथि थप आर्थिक भार पर्न नहुने विषयमा पनि छलफल भएको संघले जनाएको छ ।

वैदेशिक रोजगार व्यवसायीले समान अवसर र प्रतिस्पर्धाका आधारमा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने मागसमेत प्रतिनिधिमण्डलले राखेको संघ महासचिव हिराबहादुर डाँगी (हरि) ले जानकारी दिए ।

मलेसियाले नेपाल सहित विभिन्न स्रोत देशबाट जाने गरेका श्रमिक पठाउन निश्चित म्यानपावरलाई तोकेको थियो । सूचीकरण गरेको विषयमा नेपालमा चर्को विरोध हुनुका साथै नेपाल सरकारले सूचीकृत भएका २५ र तिनीहरूका सबएजेन्ट २ सय ५० म्यानपावरमाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।

वैदेशिक रोजगार विभागले उनीहरूको पूर्वस्वीकृति रोक्का गरी आवश्यक अनुसन्धान गरिररहेको हो । यो विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन सम्वाद गरेर मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने स्पष्ट पारेका थिए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024