सरकारको नीतिविपरीत मलेसिया पठाउने कम्पनीमाथि छानबिन

15 September, 2026

वैदेशिक रोजगार विभागले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लुसिएमएस) मा आबद्ध २५ नेपाली इजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी कम्पनीमाथि छानबिन थालेको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवकाे निर्देशनपछि विभागले ती २५ वटा वैदेशिक कम्पनीको कारोबार, छनोटको आधार, मलेसिया रोजगारीमा रहेको विगतको संलग्नता तथा अन्य संस्थालाई आबद्ध गर्दा अपनाइएका प्रक्रियाबारे छानबिन थालेको हो ।

विभागले एफडब्लुसिएमएसमा सूचीकृत २५ वटा म्यानपावरसँग आबद्ध वा सहयोगीका रूपमा सूचीकृत २५० कम्पनीसँग प्रणालीमा आबद्ध हुनुको आधार, अपनाइएको प्रक्रिया तथा ती कम्पनीसँगको सम्बन्धबारे स्पष्टीकरण माग्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।

वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा रोजगारीमा एफडब्लुसिएमएसमा आबद्ध २५ नेपाली इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीले मात्रै पठाउन पाउने व्यवस्था खारेजीको माग गर्दै आएका थिए । यस विषयमा सरकारलाई कूटनीतिक रूपमा पहल गरेर मलेसिया रोजगारीमा श्रमिक पठाउन गरिएको सिन्डिकेट खारेज गर्न आग्रह गरेका थिए ।

सङ्घका अध्यक्ष डिकबहादुर खत्रीले एफडब्लुसिएमएसमा आबद्ध २५ वटा म्यानपावरको छानबिनका लागि गरेको सुरुवातको स्वागत गर्दै यी कम्पनीले गरेको गलत प्रयासको प्रमाण सङ्कलनमा आफूहरूले पनि सहयोग गर्ने बताउनुभयो ।

विभागका निर्देशक विन्दा आचार्यले उक्त कम्पनीका विषयमा छानबिन तथा अध्ययन पूरा नहुँदासम्म २५० कम्पनीले मलेसियाका लागि नयाँ पूर्वस्वीकृति प्रक्रिया अघि बढाउन नसक्ने जानकारी दिनुभयो । उहाँका अनुसार यो रोक्का मलेसियाका लागि हुने नयाँ पूर्वस्वीकृतिमा मात्र लागु हुने छ तर यसअघि नै सम्पूर्ण प्रक्रिया पूरा गरी श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकको हकमा भने यसले कुनै असर पार्ने छैन र उनीहरूको जाने प्रक्रिया यथावत् रहने छ ।

इजाजतपत्र रद्दसम्मको चेतावनी

विभागले निष्पक्ष प्रतिस्पर्धा सङ्कुचित गर्ने कुनै पनि कार्य वा संरचनामा संलग्न नहुन, आबद्धता भए तत्काल अन्त्य गर्न तथा श्रमिक छनोट र वैदेशिक रोजगार व्यवसायमा समूहगत नियन्त्रण वा एकाधिकार कायम गर्ने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । निर्देशक आचार्यले विभागको निर्देशन पालना गर्नु इजाजतपत्र प्राप्त कम्पनीको कर्तव्य भएको जनाउँदै उल्लङ्घन पाइएमा कानुन अनुसार इजाजतपत्र रद्दसम्मको कारबाही गर्न सकिने चेतावनी दिनुभयो ।

पारदर्शिता र कूटनीतिक पहल

सरकारले वैदेशिक रोजगार व्यवसायमा पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धा कायम गर्दै सबै इजाजतपत्र प्राप्त संस्थाका लागि समान अवसर सुनिश्चित गर्ने जनाएको छ । छानबिनबाट कानुनविपरीत संलग्नता, गैरकानुनी आर्थिक कारोबार वा प्रतिस्पर्धा सीमित गर्ने गतिविधि पुष्टि भएमा आवश्यक कानुनी कारबाही गरिने छ । यसैबिच मलेसियासँगको श्रम आप्रवासनसम्बन्धी विषयलाई दुई देशबिचको सरकार–सरकार संवादबाट समाधान गर्न प्रशासनिक तथा कूटनीतिक पहल जारी रहेको छ ।

नेपालको कानुन र दुई देशबिच भएको श्रम सम्झौताबमोजिम मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई पारदर्शी, व्यवस्थित, प्रतिस्पर्धी र निर्वाध बनाउँदै सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता रहेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024