मलेसियाको अध्यागमन विभागले आइतबार राजधानी क्वालालम्पुरको कोत्रायबाट नेपाली श्रमिकसहित कागजातविहीन सयौं आप्रवासीलाई पक्राउ गरेको छ । पक्राउपछि उनीहरूलाई सडक छेउमै हातकडी लगाएर राखिएको थियो । उनीहरू बिदाको दिन विभिन्न स्थानबाट कोत्रायमा घुमफिरदेखि किनमेल गर्न आइपुगेका थिए ।
घुमफिर गर्न आएको मौका पारेर अध्यागमन विभागले विशेष कारबाही (अप्रेसन) गरेको थियो । उक्त अप्रेसनबाट एकै दिन ४७२ जनालाई पक्राउ गरेको विभागले जनाएको छ । क्वालालम्पुर अध्यागमन निर्देशक दातुक हम्सा इन्जाउले स्थानीय सञ्चारमाध्यमहरूलाई दिएको जानकारीअनुसार उक्त अप्रेसन बिहान करिब ११ बजेदेखि सुरु भएको थियो । जसमा करिब २५ सय विदेशी श्रमिकको कागजात परीक्षण गरिएको थियो ।
पक्राउ पर्नेहरूमा नेपाल, बंगलादेश, म्यानमार, फिलिपिन्स, इन्डोनेसिया, पाकिस्तान, भारत, चीन, जिम्बाब्वे तथा साउदी अरबका नागरिकहरू छन् । जसमा ४३९ पुरुष र ३३ महिला छन् । उनीहरूको उमेर १८ देखि ६२ वर्षबीचका छन् । विभागका अनुसार पक्राउ पर्नेमा ८ नेपाली श्रमिक पनि छन् ।
क्वालालम्पुर अध्यागमन निर्देशक इन्जाउका अनुसार वैध परिचयपत्र वा यात्रा कागजात नभएको, भिसा अवधि सकिएपछि (ओभरस्टे) गरिरहेका, मान्यता नपाएका कागजात प्रयोग गरेको तथा अध्यागमन ऐनअन्तर्गतका अन्य विभिन्न उल्लंघन गरेकालाई पक्राउ गरिएको हो ।
मलेसियामा कागजातविहीन श्रमिकलाई अभिलेखबद्ध गर्न भन्दै ‘आप्रवासी फिर्ती कार्यक्रम २.०’ जारी छ । १९ मे २०२५ देखि २९ अप्रिल २०२६ सम्म सञ्चालन गरिएको उक्त कार्यक्रमलाई एक वर्ष अर्थात ३१ मे २०२७ सम्म थप गरेको छ । अध्यागमनले पक्राउसँगै स्वच्छिक रुपमा घर फिर्न चाहनेलाई जान पाउने सुविधा दिएको छ । मलेसियमा गत वर्षसम्म नेपालसहित ११२ देशका २ लाख ५४ हजार १८६ जना आप्रवासी दर्ता भएका छन् । यस अवधिमा जरिवाना तथा शुल्कबापत १२ करोड ७० लाख रिङ्गेट संकलन भएको विभागले जनाएको छ ।
अवैध रूपमा मलेसिया प्रवेश गरेका वा भिसा अवधि सक्किएर बसेका व्यक्तिका लागि ५०० रिङ्गेट (झन्डै १८ हजार रुपैयाँ), पाससम्बन्धी नियम उल्लंघन गर्नेका लागि ३०० रिङ्गेट (करिब ११ हजार रुपैयाँ) र विशेष पास शुल्क बापत २० रिङ्गेट (७ सय रुपैयाँ) तिर्नुपर्ने व्यवस्था छ । यो विभागसमक्ष गएर आत्मसमर्पण गर्नेहरूको लागि हो । आत्मसमर्पण गर्नेहरू एजेन्टबिना सिधै अध्यागमन कार्यालयमा जान सक्नेछन् । त्यहाँको प्रक्रिया पूरा गरेपछि स्वदेश फिर्न बाटो खुल्नेछ । तर यसरी स्वेच्छिक रुपमा नफिर्नेको लागि पक्राउ गरी डिपोर्ट (निष्कासन) गर्ने गरेको छ । विभागका अनुसार देशभर संयुक्त अपरेसन, गुप्त सूचना संकलन तथा निगरानीमार्फत अध्यागमन कानुन कार्यान्वयनलाई अझ कडा गरिरहेको छ ।
क्वालालम्पुरमा पक्राउ परेका सबैलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि बुकित जलिल अध्यागमन डिपो पठाइने गरेको छ ।
गैरआवासीय नेपाली संघ मलेसियाका पूर्वअध्यक्ष विनोद थापाले कानुन उल्लंघन गर्ने श्रमिक, उनीहरूलाई आश्रय दिने तथा रोजगारी उपलब्ध गराउने रोजगारदातामाथि समेत खोजी, पक्राउ, अभियोजन र निष्कासनको प्रक्रिया अघि बढाइरहेको बताए । ‘हरेक दिन कागजातविहीन सयौं श्रमिकलाई पक्राउ गरिरहेको छ । हामीले कागजातविहीन भएर नबस्न सचेत गरिरहेका छौं,’ थापाले भने, ‘कागजातविहीनलाई कानुनी कारबाहीअघि नै सम्पर्कमा आएर आफ्नो स्थिति अभिलेख गर्न आग्रह गरेका छौं ।’
मलेसियामा झन्डै ५० हजार नेपालीसँग आवासीय भिसा छैन । भिसा नभएकाहरू राजधानी बाहिरको टाढा टाढा जंगलमा गएर काम गरिरहेका छन् । नेपाली दुतावासका अनुसार कम्पनी वा रोजगारदाता डुबेमा, बन्द भएमा वा रोजगारदाताले काम र तलब दिन नसकेमा श्रमिक बाध्य भएर कम्पनी छोड्नुपर्ने परिस्थिति बन्ने गरेको छ । खासगरी सुरक्षा र सेवा क्षेत्रमा जाने श्रमिकले सम्झौताअनुसारको तलब नपाउनु, दैनिक १२–१४ घण्टा काम गराएर श्रम शोषण हुनु वा राहदानी रोजगारदाताले कब्जा गरेर फिर्ता नगर्दा श्रमिकहरू भागेर अन्यत्र काम खोज्न बाध्य भइरहेका छन् । ‘मेरो कम्पनीले भिसा नवीकरण गरिदिएन,’ कागजातविहीन भएका धादिङ अभय अधिकारीले कान्तिपुरसँग भने, ‘जसले गर्दा मलेसियाको अध्यागमन कानुनअनुसार मेरो स्वतः ‘ओभरस्टे’ भइदियो ।’
अर्का श्रमिक सर्लाहीका उपेन्द्र महत्तोले नेपालबाट पठाउने म्यानपावर र मलेसियाका एजेन्टले भनेअनुसारको काम वा कम्पनी नदिएपछि अर्कै ठाँउमा खोज्दा कागजातविहीन भएको बताए ।
नेपाली दुतावासका श्रम काउन्सिलर कृष्णप्रसाद भुसालले भिसा नभएको श्रमिकलाई बिरामी पर्दा, घरायासी समस्या हुँदा वा सम्झौता सकिएपछि पनि कम्पनीले घर फर्कन सहमति नदिँदा लुकेर बस्नुपर्ने स्थिति रहेको बताए । ‘जोसँग भिसा छ । सोही कम्पनीमा कार्यरत छ । उनीहरूको श्रम विवाद परेमा समाधान गर्न सहज छ,’ उनले भने,‘ कागजातविहीन श्रमिकको मृत्यु भएमा शव पठाउन नै कठिन छ । उनीहरू मलेसियाको नियमअनुसार पाउने क्षतिपूर्तिबाट समेत बञ्चित हुन्छन् ।’
दुतावासले कागजात नभएका नेपालीलाई तोकिएको जरिवाना तिरेर स्वेच्छाले आफ्नो देश फर्किने अवसरलाई प्रयोग गर्न प्रोत्साहित गरिरहेको जनाएको छ ।