वैदेशिक रोजगार बोर्डमा गरिनुपर्ने सुधार

16 September, 2026

Jeevan Baniya

वैदेशिक रोजगार ऐन, २०६४ ले देशमा पहिलो पटक वैदेशिक रोजगार कल्याणकारी कोषको परिकल्पना गर्‍यो, जुन वैदेशिक रोजगारको क्षेत्रमा गरिएको धेरै अन्य सुधारका पहलहरूमध्ये महत्त्वपूर्ण थियो । त्यसअघि पञ्चायतकालमा आएको वैदेशिक रोजगार ऐन, १९८५ ले कुनै त्यस्तो व्यवस्था गरेको थिएन । त्यस्तै, २०६४ अघि नेपाली कामदारले श्रम अनुमति प्राप्त गर्दा तिरेको शुल्क सरकारको अन्य कोषमा राजस्वको रूपमा जान्थ्यो । तर, वैदेशिक रोजगारीको सिलसिलामा कामदार र तिनका परिवारमा मृत्यु, घाइते, अस्वस्थ वा शव स्वदेश फिर्ता गर्नुपर्दा पनि त्यो स्रोत अर्थ मन्त्रालयले विनियोजन नगर्दासम्म उपलब्ध हुँदैनथ्यो । अर्थात्, आवश्यक परेका बेला पनि स्रोत परिचालन गर्न नसकिने अवस्था थियो ।

२०६४ मा ऐनमा नै व्यवस्था गरी वैदेशिक रोजगार कल्याणकारी कोषको परिकल्पना गरियो । बोर्डको गतिविधिलाई सहयोग गर्न र यसका निर्णयहरू कार्यान्वयन गर्न वैदेशिक रोजगार बोर्डको सचिवालय पनि स्थापना गरियो । स्थापनाकालमा प्रत्येक नेपाली कामदारले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति प्राप्त गर्न ५०० रुपैयाँ शुल्कस्वरूप योगदान गर्दै स्थापना भएको बोर्डको कोषमा हाल लगभग ८ अर्ब रुपैयाँ मौज्दात छ । समयक्रमसँगै कोषका स्रोतहरू पनि बढेर गएका छन् । श्रम अनुमति नवीकरण शुल्कदेखि निजी भर्ती संस्थाहरू (म्यानपावर) ले बैंकमा राखेको ‘धरौटी रकम’ को निक्षेप खाताबाट प्राप्त ब्याज र बोर्डले विभिन्न वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपमा राखेको कोषको ब्याज कोषमा सञ्चित हुन्छ । त्यस्तै, स्वास्थ्य संस्था, प्रस्थानपूर्व अभिमुखीकरण तालिम सञ्चालन गर्ने संस्थाहरूबाट इजाजतपत्र शुल्क र इजाजतपत्र नवीकरण शुल्क तथा विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय संस्थाहरूबाट प्राप्त अनुदान तथा सहयोग जस्ता स्रोतबाट कोषमा उक्त रकम सञ्चित सम्भव भएको छ ।

बोर्डले आफ्नो कल्याणकारी कोषबाट आप्रवासी कामदार र उनीहरूका परिवारलाई मृत्यु र चोटपटक तथा स्वास्थ्य समस्या हुँदा क्षतिपूर्ति तथा सहयोग, आश्रित परिवारलाई सहयोग, कामदारहरूको स्वदेश फिर्ती सहजीकरण, केही हदसम्म विदेशमा कामदारलाई कानुनी सहायता गर्दै आएको छ । त्यसका लागि बोर्डको कोषबाट खर्च पनि उलेख्य रूपमा बढ्दै गएको छ । केही महिनाअघि मात्र परराष्ट्र मन्त्रालयमा विदेशमा अलपत्र नेपाली कामदारहरूको उद्धार र विदेशमा मृत्यु भएका आप्रवासी कामदारहरूको शव स्वदेश फिर्ता ल्याउन भनी केही बजेट विनियोजन गरिएको छ । बजेटको रकम कम भए पनि अत्यन्तै सकारात्मक छ । यो व्यवस्थासँगै बोर्डले विगतमा कानुनी सहायता र उद्धार तथा घर फिर्तीसम्बन्धी सहायताका लागि वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत गर्दै आइरहेको सहयोग अब आवश्यक नहुन सक्छ । अहिलेसम्मको अनुभवका आधारमा हेर्दा बोर्डको संरचना, म्यान्डेट, क्रियाकलाप तथा यसका कार्यसम्पादन र नेतृत्वको चयनमा उल्लेख्य सुधारको आवश्यकता छ । यो आलेखको प्रमुख विषय यही हो ।

म्यान्डेटका सन्दर्भमा, अहिले बोर्डले वैदेशिक रोजगार कल्याणकारी कोषबाट सञ्चालन गर्दै आएको जुन सीप विकास तालिमहरू छन्, ऐन वा नियमावलीमा नै संशोधन गरी त्यसलाई परिवर्तन गर्नु श्रेयष्कर हुन्छ । बोर्डले आफैं निजी तालिम प्रदायकहरूबाट दिँदै आएको सीप तालिमका कार्यक्रमहरू अब युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र प्रदेशअन्तर्गतका तालिम केन्द्रबाट सञ्चालन हुनु वाञ्छनीय हुन्छ । त्यसो हुँदा अनियमितता कम हुने, तालिमको गुणस्तर पनि वृद्धि हुने र तालिममा जनताको पहुँच विस्तार हुन सक्छ ।

त्यस्तै, बोर्डले विगतमा विदेशबाट फर्की आएका कामदारलाई लक्षित गरी विभिन्न आर्थिक, सीपसम्बन्धी र मनोसामाजिक पुनःएकीकरण कार्यक्रम पनि कार्यान्वयनमा ल्याएको छ । पालिकाहरूले त्यस्ता पुनःएकीकरण कार्यक्रमहरूको प्रस्ताव तर्जुमा गरी वैदेशिक रोजगार कल्याण कोषबाट हस्तान्तरण गरिने ससर्त अनुदानको स्वीकृतिका लागि बोर्डमा पेस गर्नुपर्ने नीतिगत व्यवस्था व्यावहारिक छैन, उत्साहबर्द्धक पनि छैन । अधिकांश पालिकाहरूले उक्त अनुदान प्राप्त गर्न परामर्शदाताको सहायताबिना कुनै प्रस्ताव तयार गरी पेस गर्ने कुरामा इच्छा राख्ने गरेका छैनन्, तत्परता पनि देखाएका छैनन् । त्यसैले यी विषयमा कामदार तथा तिनका परिवारका आवश्यकता र प्रमाणका आधारमा पुनःएकीकरण नीति र कार्यक्रम बनाई बोर्डले मात्र नभई तिनै तहका सरकारहरूले काम गर्नुपर्ने आवश्यकता छ । त्यसैले विगतदेखि बोर्डले गर्दै आएका पुनःएकीकरणका कार्यक्रमको निर्मम समीक्षा गर्दै बोर्डको यो म्यान्डेट पनि परिमार्जन हुनु मनासिब हुनेछ ।

बोर्डको म्यान्डेटमा नै रहेको तर बिलकुल प्रभावकारी हुन नसकेको विषय हो– वैदेशिक रोजगारीलाई सुसूचित, सुरक्षित र मर्यादित बनाउनका लागि सूचना तथा अभिमुखीकरणमा गर्नुपर्ने काम । पूर्वप्रस्थान अभिमुखीकरणसम्बन्धी अनुभव र नजिरहरू हेर्दा तालिमको गुणस्तर र अनुगमन थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ । सरकार र सरोकारवालाहरूसँग सहकार्य गर्दै पूर्वप्रस्थान अभिमुखीकरण पाठ्यक्रमलगायत आप्रवासी स्रोत केन्द्र, रोजगार सेवा केन्द्रलगायत देश, विदेशमा अन्य माध्यमबाट वैदेशिक रोजगारीको चक्रमा दिनुपर्ने सही सूचनाको उत्पादन गर्ने र सम्प्रेषण गर्नु पनि बोर्डको काम हो । पूर्वप्रस्थान अभिमुखीकरण पाठ्यक्रम विशेषतः धेरै नेपाली रोजगारीका लागि जाने गन्तव्यहरूका लागि देशगत र कुनै क्षेत्रगत रूपमा तथा सकभर नेपालका विभिन्न राष्ट्रिय भाषाहरू (जस्तैः मैथिली, भोजपुरी, तामाङ) मा पनि तयार गरी विभिन्न चक्रमा उपलब्ध गराउनुपर्ने आवश्यकता छ । युरोपलगायतका नयाँ गन्तव्य देशहरूलाई पनि केन्द्रित गरी

पाठ्यक्रमहरूको निर्माण र कार्यान्वयन आवश्यक छ । नवीनतम प्रविधि र माध्यमको प्रयोगमार्फत त्यस्ता सूचना तथा जानकारी धेरैभन्दा धेरै कामदार तथा जनसमुदायमा प्रभावकारी रूपले पुर्‍याउन सकिन्छ । यो विषय बोर्डको अबको प्राथमिकतामा पर्नुपर्छ । त्यस्तै तीव्रतर रूपमा प्रविधिको प्रयोगसँगै सुरक्षित वैदेशिक रोजगारीका लागि फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोग सुरक्षित ढंगले गर्नुपर्छ । त्यस्तै, डिजिटल प्रविधि तथा साइबर अपराध, डिजिटल प्रविधिमार्फत झूटा प्रलोभन तथा भ्रामक र मिथ्या सूचनासम्बन्धी विषयबारे सुसूचित गर्ने विषय झन् पेचिलो भएर आएको छ ।

त्यस्तै, केही आफ्ना अभीष्ट पूरा गर्न आसेपासेलाई काम दिन रिसर्चका नाममा रिसर्चको कर्मकाण्ड गर्ने दोहनकारी संस्था बन्नु हुँदैन । बोर्डले गम्भीर रूपमा नै घरेलु कामलगायत नयाँ गन्तव्य तथा क्षेत्रबारे अन्तर्राष्ट्रिय श्रम बजारको खोजी, अवसर र जोखिमबारे परराष्ट्र, नेपाली नियोग, डायस्पोरा र अध्यक्षहरूको सहकार्यमा अध्ययन गर्ने र गराउने कामलाई ध्यान दिनुपर्छ । वैदेशिक रोजगारलाई सुरक्षित, लाभदायी र मर्यादित बनाउन नीति र रणनीति तर्जुमा गर्न, दुईपक्षीय वार्ता तथा कूटनीतिको तयारी गर्न, अभिमुखीकरण र जानकारीसम्बन्धी सामग्री तयार गर्न वा सामाजिक सुरक्षा बोर्डले अहम् भूमिका खेल्न सक्छ र खेल्नुपर्छ । त्यसको समन्वयका लागि बोर्डमा ‘फोकल’ व्यक्तिसहितको टिम तयार गरी अगाडि बढ्नु अपरिहार्य भइसकेको छ । त्यस्तै नियमित रूपले बोर्डले सरकारका ऐन, नीति, नियम, कार्ययोजना र रणनीतिहरूको कार्यान्वयनको समीक्षा र अध्ययन गरी नेपाल सरकारलाई सुधारका लागि आवश्यक सुझाव दिने सत्कर्म गर्न सक्छ ।

बोर्डले मृत्यु र अंगभंग भएको अवस्थामा प्रदान गरिने सहायताहरू अनलाइन प्रणालीबाट स्थानीय सरकारको समन्वयमा गर्दै आएको छ । तर अझै पनि निजी बिमा रकम दाबी गर्नका लागि काठमाडौं आउनुपर्ने अवस्था कायमै छ । त्यसको अन्त्यका लागि यथाशक्य छिटो काम गर्नुपर्छ । त्यस्तै, उच्च संख्यामा नागरिकहरू वैदेशिक रोजगारीमा गएका देशहरूले वैदेशिक रोजगार बोर्डले प्रदान गर्दै आएको जस्तै सेवाहरू जनताको नजिक पुर्‍याउनका लागि देशभर नै त्यसका केन्द्रहरू वा शाखाहरू स्थापना गरेको पाइन्छ । नेपालमा भने बोर्ड काठमाडौंमा मात्र छ । त्यसैले कम्तीमा पनि उच्च वैदेशिक रोजगारीमा जाने प्रदेशहरू (मधेश, कोशी, बागमती, लुम्बिनी) मा बोर्डका कार्यालयहरू स्थापना गर्न आवश्यक छ । काठमाडौंमा रहेको सचिवालयले बोर्डको सम्पूर्ण जिम्मेवारी पूरा गर्न ती सबै प्रदेशका कार्यालय, आप्रवासी स्रोत केन्द्र र रोजगार सेवा केन्द्रहरूको क्षमता अभिवृद्धि गर्दै समन्वयमा काम गर्न सक्छ ।

माथि उल्लेखित कामहरूसँग सान्दर्भिक र सम्बन्धित विषय हो– वैदेशिक रोजगार बोर्डको नेतृत्वको छनोट र भूमिका । बोर्डले भर्खरै नयाँ कार्यकारी निर्देशक पाएको छ । अपेक्षा छ, यसपालि पक्कै पनि छनोटका सम्पूर्ण प्रक्रिया पारदर्शी थियो । अर्को शब्दमा, विगतमा जस्तो कुनै अमूक राजनीतिक दल सरकारमा वा मन्त्रालयको नेतृवमा हुँदा मूल्यांकन र छनोट प्रक्रिया नै प्रभावित पारी उसैले चाहेको व्यक्ति कार्यकारी निर्देशकमा सिफारिस हुने विडम्बनापूर्ण अवस्थाको क्रमभंगता भयो होला । तर, अहिले पनि नीतिगत रूपमा केही विषय सच्याएर मात्र कार्यकारी निर्देशक पदको विज्ञापन प्रकाशित गर्नुपर्थ्यो भन्ने मान्यता हो । जस्तो कि, तीन वटा शैक्षिक विधामा मात्र (कानुन, सार्वजनिक प्रशासन र व्यवस्थापन) स्नातकोत्तर गरेकाहरू मात्र यो पदका लागि योग्य हुने नीतिगत व्यवस्था छ, त्यसले यस क्षेत्रलाई मिहिन ढंगले बुझेका र लामो समय यस क्षेत्रमा अनुभव हाासिल गरेकाहरूलाई आवेदन प्रक्रियाबाट नै वञ्चित गर्छ । जबकि, त्यस्ता व्यक्तिहरूले बोर्डको नेतृत्व सम्हाल्दै गर्दा शून्यबाट काम सुरु गर्नु पर्दैन । बरु सिधै कार्यान्वयनमा लागेर सरकारको लक्षित उद्देश्य हाासिल गर्न सघाउ पुग्छ । त्यसैले सकभर सबै विषय, कम्तीमा पनि मानविकी तथा समाज विज्ञान अध्ययन गरेकाहरूलाई पनि उक्त पदका लागि योग्य ठानिनुपर्छ । यसो भन्दै गर्दा अहिले बोर्डको कार्यकारी निर्देशक पदका लागि छानिनुभएका व्यक्ति तथा संक्षिप्त सूचीमा छनोट हुनेहरूप्रति मेरो कुनै पूर्वाग्रह छैन । बरु शैक्षिक विधासम्बन्धी मापदण्ड नपुगेका तर सक्षम र अनुभवी व्यक्तिहरू आवेदनको प्रक्रियाबाटै वञ्चित भएको अवस्था छ, त्यो पक्कै पनि जायज छैन । आउँदा दिनमा सम्बन्धित ऐन तथा नियमावली संशोधन गरी त्यस्ता प्रावधानमा परिवर्तन भएन भने यो ‘जान्नेलाई छान्ने’ त्यो मान्यताकै विरुद्ध हुनेछ ।

आगामी दिनमा सुधार हुनुपर्ने अर्को पक्ष हो– बोर्डमा हालको २५ सदस्य संख्या कम गर्ने र राजनीतिक भर्तीभन्दा पनि बोर्डलाई बेलाबेलामा मार्गनिर्देशित गर्ने अनुभवी, प्रतिबद्ध र बोर्डको कार्यक्षेत्रबारे विज्ञता भएका व्यक्तिहरूलाई सदस्य बनाउनुपर्छ ।

त्यस्तै, बोर्डको कार्यकारी निर्देशक, मन्त्रालयको नेतृत्व तथा बोर्डका कर्मचारीबीचको द्वन्द्वको अन्त्य जरुरी छ । जगजाहेर छ– कुनै अमूक दलको नेताले मन्त्रालयको नेतृत्व गर्दा र सोही दलको नजिकको व्यक्ति बोर्डको कार्यकारी निर्देशक हुँदाको तुलनामा उक्त व्यक्तिहरू फरक फरक दल वा नेता नजिक/टाढा हुँदा उब्जेका अनेकन (अ)सहज परिस्थिति लामो समयदेखि देखिँदै आएको छ । मन्त्रालयको समग्र प्रगति बोर्डले गर्ने गतिविधिसँग अन्योन्याश्रित रूपले जोडिने हुनाले यसले मन्त्रालय र बोर्डबीच बलियो समन्वय र सहकार्यको माग गर्छ ।

हुन त सरकारका सबै निकायको जस्तै विभाग, मन्त्रालय र कूटनीतिक नियोगहरूको समन्वय र सहकार्य एकदमै महत्त्वपूर्ण हुन्छ । तर, वैदेशिक रोजगारीमा जाने संख्याको तुलनामा मृत्यु हुने, घाइते चोटपटक हुने र स्वास्थ्य समस्या हुनेको नेपालीको संख्या क्रमशः कम हुँदै जाने–नजाने कुरा पनि हुने वैदेशिक रोजगार बोर्ड र यसको नेतृत्वको कार्यसम्पादन तथा मूल्यांकनको विषय बन्नुपर्छ । नत्र भने बोर्डले यति जना मृतक, घाइते र स्वास्थ्य समस्यामा परेकाहरूलाई यति आर्थिक तथा अन्य सहयोग गरियो भनि प्रतिवेदनहरू पेस गर्नुलाई प्रगतिका रूपमा प्रस्तुत गरिरहनुपर्ने विडम्बनापूर्ण अवस्थाको अन्तहीन सिलसिला चलिरहनेछ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024