सेवा शुल्क बढाउनुपर्नेलगायतका माग राखेर २२ साउनदेखि आन्दोलनमा उत्रिएका म्यानपावर व्यवसायीले सोमबारदेखि सम्पूर्ण काम–कारोबार र श्रमिकको उडानसमेत रोक्ने भएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अगुवाइमा सेवा शुल्क बढाउनुपर्ने, व्यवसायीमाथिको धरपकड रोक्नुपर्ने, नीति–नियम परिमार्जन गर्नुपर्नेलगायत माग राखेर आन्दोलन सुरु गरेका थिए । त्यसयता व्यवसायीले नयाँ कामदार पठाउने र भिसा आएका कामदारको श्रम स्वीकृति लिने काम स्थगित गरेका थिए । श्रम स्वीकृत भइसकेकालाई ३१ साउनसम्म उडाइसक्ने र त्यसपछि सम्पूर्ण काम रोकेर आन्दोलनमा उत्रने संघले चेतावनी दिएको थियो । सोहीअनुसार १ भदौदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण गतिविधि रोकिएको महासचिव हिराबहादुर डाँगी (हरि)ले बताए ।
‘हाम्रो संघको साउन ७ गते भएको बृहत् भेलाको म्यान्डेट र संघले २२ गते गरेको घोषणाअनुसार हामी चरणबद्ध आन्दोलनमा छौँ,’ उनले भने, ‘यसअघि पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोक्दै, जारी श्रम स्वीकृति भएका श्रमिकको उडानका लागि दिइएको समयसीमा समाप्त भएको छ, अब देशभरका मुख्य तथा शाखा कार्यालयसमेत बन्द गरी वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण काम–कारोबार तथा श्रमिकको उडान पूर्ण रूपमा बन्द हुनेछ ।’
हाल वैदेशिक रोजगारमा जानेहरूबाट व्यवसायीले १० हजार रुपैयाँ सेवा शुल्क लिन पाउँछन् । तर, अनधिकृत रूपमा भने योभन्दा धेरै रकम लिने गरेको व्यवसायीले नै बताउँदै आएका छन् । व्यवसायीले वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन लामो समयदेखि राख्दै आएका माग तथा सुझाव पूरा नभएको संघका पूर्वअध्यक्ष रोहन गुरुङले बताए ।