मलेसियाको भिसा लगाएर मजदुरी गर्न रसुवा पुगेका बोहोरा दाजुभाई बेखबर

11 September, 2026

DB Budha

पातारासी गाउँपालिका-४ लाम्री गाउँकी ५१ वषीया चन्द्ररुपा बोहोरा छोराहरु कुरेर बसेको दुई साता बित्यो । छोरा फर्किने आशमा उनी हरेक दिन बाटो हेरिरहन्छिन् । चन्द्ररुपाका माइला छोरा २७ वर्षीय लालसिंह बोहोरा र कान्छा २४ वर्षीय गणेश मलेसिया जाने भनेर गएको साउनमा भिसा लगाउन काठमाडौं गएका थिए । काठमाडौं पुगेर भिसा लगाउने काम सकाए । उनीहरुको उडान दसैं लगत्तै थियो ।

त्यो खबरले घरपरिवार उत्साहित थिए । चन्द्ररुपालाई छोराहरु विदेश गएर राम्रै कमाउलान् भन्ने आश समेत थियो । चन्द्ररुपाका पतिको निधन भएको सात वर्ष भयो । साहरा भनेकै ती दुई छोरा थिए । उनका जेठा छोरा रामबहादुर अलग्गै बस्छन् । रामबहादुर गाउँमै खेतीकिसानी गर्छन् । चन्द्ररुपसँग लालसिंह र गणेश बस्थे ।

सहोदर दाजुभाइ वैदेशिक रोजगारीमा एकै देश मलेसियामा जाने तयारी पनि थियो । भिसा लगाउने बित्तिकै आमा चन्द्ररुपालाई फोन गरेर लालसिंहले भनेका थिए,‘आमा भिसा लगायौं तर उडान ढिलो हुने जस्तो छ । उतिबेलासम्म रसुवा क्षेत्रमा गएर ज्यालादारी काममा लाग्छौं ।’ पैसा कमाउन विदेश जाने खबरले उत्साहित चन्द्ररुपमा रसुवातिर काम गर्न जाने कुराले निकै खुसी भइन् ।

रसुवाको हाकु–२१६ स्थित सुरुङ नम्बर ३ मा मजदुरी गरिरहेका लालसिंह र गणेश भदौ १० गतेको भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन् । विदेश जाने तयारीमा रहेका दुई छोरा एकै पटक सम्पर्कविहीन हुँदा परिवारमा बिचल्ली भएको छ । ‘भिसा लगाएर घर फर्किनु भन्दा रसुवातिर गएर दुई महिना मजदुरी गर्छौं भन्दा दुई/चार पैसा कमाउलान् त भन्ने लागेको थियो । बाढीपछि अहिलेसम्म दुवै छोराको न सास भेटिएको छ न लास,’ चन्द्ररुपाले भनिन् ।

लालसिंहले आठ कक्षा पास गरेका छन् । गणेशले १२ कक्षा सकेर बसेका थिए । लालसिंहकी पत्नी चन्द्रमाया दुई वर्षदेखि बिरामी छिन् । २१ महिनाकी छोरी र ६ महिनाको गर्भ हुर्काइरहेकी उनको गर्धनमा समस्या भएकोले शरीर चल्न छाडेको थियो । गत चैतमा मात्रै लालसिंहले चन्द्रमायाको उपचार गराएका थिए । चिकित्सकले फेरि देखाउन भनेको छ । ‘अब बुहारीको उपचार पनि कसले गरिदेला ?’ चन्द्ररुपाले भनिन् ।

चन्द्रमायाको उपचारमा ७ लाख खर्च लागेको थियो । यो सबै सहकारीलगातका संस्था र आफन्तबाट लिइएको ऋण हो । यही ऋण तिर्न पनि दाजुभाई विदेश गइरहेका थिए । ‘घरमा अन्य आम्दानी केही छैन । जडीबुटी खोज्ने र खेती किसानी गरेर हुने आम्दानीले परिवारको खर्च धान्नै कठिन छ, आफ्नो शरीर नचल्ने भएको छ,’ चन्द्रमायाले भनिन्, ‘उपचारमा लागेको ऋण एकातिर छ, घर चलाउने अर्को तनाव छ । दुई भाई एकसाथ हराउँदा परिवारकै बिचल्ली छ ।’

रसुवा मजदुरी गर्दा एक महिना पुगिरहेको थियो । दाजुभाईले ज्याला पाउने बेला भएकाले नुनतेल खर्च होला कि भन्ने आशमा बसेको परिवारमा एक्कासी बाढीमा हराएको खबरले चिन्तित छ । राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा प्रमुख कल्पना आचार्य नेपालले पनि चन्द्ररुपालाई भेटेर परिवारको अवस्था र सम्पर्कविहीन दाजुभाइको विषयमा जानकारी लिइन् । उनले राज्यले खोज तथा उद्धारको काम गरिरहेको भन्दै जीवित भेटिन सक्ने संभावना समेत रहेको बताइन् । एक सय पन्ध्र घरधुरी रहेको लाम्री गाउँका १५ जना भन्दा धेरै युवा विदेशमा छन् । अधिकांश युवायुवती कामको सिलसिलामा भारततिर छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024