इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब 

9 September, 2026

इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा केयरगिभरको काम गर्नका लागि एक हजार ४६४ नेपालीका लागि रोजगारी खुलेको छ । वैदेशिक रोजगार विभागले मंगलबार एक सूचना प्रकाशित गरी एक हजार १३२ महिला र ३३२ पुरुषका लागि आवेदन खुलाएको हो ।

आगामी २६ भदौसम्ममा आवेदन पेस गरिसक्नुपर्ने छोटो समयावधिसमेत तोकिएको छ । आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने प्रावधान छ। यसरी छनाेटमा परेका नेपाली कामदारको सूचना विभागले प्राप्त गरेपछि इजरायल पठाउने सबै प्रक्रिया विभागबाटै हुने गर्छ ।

विभागले जारी गरेको सूचनामा इजरायलको केयरगिभरमा काम गर्नेको मासिक तलब ६,४४३.८५ इजरायली मुद्रा हुने उल्लेख छ । यो भनेका मासिक कम्तीमा तीन लाख रुपैयाँ हो । २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको उमेर समूहले केभरगिभरमा काम गर्न आवेदन दिन सक्ने व्यवस्था छ ।

कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा प्रवीणता प्रमाणपत्र उत्तीर्ण गरी मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केभर गिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएको हुनुपर्ने योग्यता तोकिएको छ । केयरगिभरमा जानका लागि नर्सिङ गरेका युवाहरूको ठुलो समुह इच्छुक रहँदै आएको छ ।

पाँच वर्षसम्म बसेर काम गर्न पाउने अवधि तोकिएको छ । तर, विगतमा इजरायल बसेर फर्केकाले भने आवेदन दिन नपाउने व्यवस्था छ । इजरायलमा जिटुजी प्रक्रियाबाट कामदार छनाेट तथा भर्ना हुने भएकाले सुरक्षित कार्यस्थलमा आकर्षक कमाइ हुने गर्दछ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026