१४ दिनसम्म न सास, न लाश : शोकमा डुब्यो मध्यविन्दुको सिङ्गो गाउँ

9 September, 2026

Ramesh Bastakoti

अब १२ दिनमा काम सकिन्छ,त्यसपछि घर फर्किन्छु। बिहानको करिब ७ बजे श्रीमान् गङ्गाराम मुखियाले फोनमा बोलेका यी अन्तिम शब्दहरू नवलपुर,मध्यविन्दु नगरपालिका–५ बाघखोरकी मीनाकुमारी मुखियाको कानमा अझै गुञ्जिरहेका छन्। तर,त्यो मीठो बाचा पूरा हुन नपाउँदै उर्लेर आएको रसुवाको भोटेकोशी नदीको विनाशकारी बाढीले सिङ्गो गाउँलाई नै गहिरो शोकमा डुबाएको छ।

​रसुवाको शेर्पा हाइड्रोपावरमा मजदुरी गर्दै आएका ४७ वर्षीय गङ्गाराम र उनका २२ वर्षीय छोरा विशाल मुखिया बाढीपछि सम्पर्कविहीन छन्। घरको आर्थिक अवस्था उकास्ने सपना बोकेर बाबु गङ्गाराम गत फागुन २४ गते रसुवा पुगेका थिए भने उनकै पछि लागेर छोरा विशाल पनि जेठ ४ मा उही काममा जोडिएका थिए।

बाढी आएको दिन बिहानै कुराकानी भएपछि मीनाकुमारी आफ्नै काममा लागिन्। तर,बिहान ११ बजे छिमेकीको फोनले रसुवाको बाढीको खबर सुनाएपछि उनको होस हवास उड्यो। उनले पटक-पटक श्रीमान् र छोरालाई फोन गरिन्,तर आज १४ दिन बितिसक्दा पनि त्यो फोनमा कसैले उत्तर दिएको छैन। मीनाकुमारी श्रीमान् र छोरालाई आज पनि उत्तिकै फोन गर्छिन्, तर उनको त्यो फोन उठ्दैन।

​मध्यविन्दु–५ कै अर्को घरमा पनि यस्तै बज्रपात परेको छ। सोही हाइड्रोपावरमा काम गर्न पुगेका स्थानीय जीवन विक पनि बाढीमा परेर बेपत्ता छन्। बाढी आउनुअघि बिहान ६:३० बजे जीवनले पनि आफ्नी श्रीमती शान्ति सुनारलाई फोन गर्दै अब काममा जान लागेको र छिट्टै घर फर्किने भनेका थिए। जीवनकी श्रीमती शान्ति आज पनि फोन कुर्दै बाटो हेर्दै बसिरहेकी छन्।

​छिट्टै घर फर्किने बाचा सुनेका यी परिवारका लागि आज १४ दिन बितिसक्दा पनि न त कुनै खबर आएको छ,न त उनीहरूको कुनै अत्तोपत्तो नै छ। ​स्थानीय उदय अर्याल गाउँको यो दर्दनाक स्थिति सम्झँदै भन्छन्, दसैँ-तिहार नजिकिदै गर्दा एकाएक छाएको यो विपत्तिले सिङ्गो गाउँ नै स्तब्ध बनेको छ। बिहान-बेलुका हाँसीखुसी चल्ने छिमेकीका घरहरूमा अहिले केवल रुवाबासी र सुनसान सन्नाटा छ। पुरै गाउँ शोकमा परेको छ।

​हराएका नागरिकका आफन्त टोपबहादुर महतो भन्छन्,’घरको गुजारा चलाउन र कमाउन गएका हाम्रा मान्छेहरू एकाएक यसरी हराउँदा कसैको मन थामिएको छैन। न त उनीहरूको सास भेटिएको छ,न त लास। आफन्तहरूको अत्तोपत्तो नहुँदा टोलाएर बाटो हेर्नुको विकल्प बाँकी छैन।’

​मध्यविन्दु नगरपालिका–५ का वडा सदस्य वीरबहादुर कुमालका अनुसार यो विपत्तिले मध्यविन्दु क्षेत्रलाई नै मर्माहत बनाएको छ। हाम्रो मध्यविन्दु वडा नम्बर ५ बाट ८ जना र वडा नम्बर १ बाट ४ जना गरी जम्मा १२ जना नागरिक बाढीमा परेर हराइरहेका छन्,’ वडा सदस्य कुमालले भने,’अहिलेसम्म उनीहरूको कुनै खबर आएको छैन। न त जीवितै भेटिने आस बाँकी रह्यो,न त शव नै पाउन सकिएको छ। सास र लास दुवैको अत्तोपत्तो नहुँदा पुरै गाउँ शोकमग्न बनेको छ।

​मध्यविन्दु–१ सेतापानी क्षेत्रबाट हेमबहादुर चौधरी,हुसनबहादुर थारू र कालिराम महतो थारू तथा मध्यविन्दु–५ बाट जीवन विक, गङ्गाराम मुखिया, विशाल मुखिया, सिताराम महतो, युद्ध महतो, एकादेव महतो, नुमनारायण महतो, केवलप्रसाद महतो र तेजबहादुर थारू पनि बेपत्ता छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026