मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकामा स्थानीयस्तरमा उत्पादन हुने कपासबाट विभिन्न सामग्री उत्पादन हुन थालेपछि १३ जनाले रोजगारी पाएका छन्।
सोरु गाउँपालिका–८, तारापानीमा स्थापना भएको परिवर्तन साना किसान सहकारी संस्थाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै एकल महिला तथा विपन्न परिवारका १३ जनालाई रोजगारी दिएको हो। सहकारीले स्थानीय कपासबाट तयारी पोसाक, टोपी, दौरा–सुरुवाल, सिरक, डसना लगायतका सामग्री उत्पादन गर्दै आएको छ।
परिवर्तन साना किसान सहकारी संस्थाका अध्यक्ष पदमबहादुर मल्लका अनुसार जिल्लामै पहिलोपटक स्थानीय कपास प्रशोधन गरी विभिन्न तयारी सामग्री उत्पादन गर्न थालिएको हो। सहकारीले स्थानीय किसानले उत्पादन गरेको कपास खरिद गरी प्रशोधन तथा सामग्री उत्पादन गर्ने गरेको उहाँले बताउनुभयो।
उहाँका अनुसार सहकारीलाई वार्षिक करिब आठदेखि १० टनसम्म कपास आवश्यक पर्ने गरेको छ। स्थानीय किसानबाट कपास खरिद गरी प्रशोधन तथा तयारी सामग्री उत्पादन गर्दा किसानसँगै स्थानीय कामदारले पनि रोजगारी पाउने गरेका छन्।
स्थानीय कपासबाट तयार गरिएका सामग्रीको मूल्य बजारमा पाइने अन्य सामग्रीको तुलनामा केही बढी पर्ने भएकाले बिक्रीमा समस्या हुने गरेको अध्यक्ष मल्लले बताउनुभयो। “स्थानीय उत्पादनबाट तयार भएका सामग्रीको मूल्य केही बढी पर्ने भएकाले बजारमा अपेक्षाअनुसार खपत हुन सकेको छैन,” उहाँले भन्नुभयो।
सहकारीले वार्षिक रूपमा करिब सातदेखि आठ लाख रुपैयाँ बराबरका सामग्री बिक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो। स्थानीय उत्पादनको प्रयोग र बजारीकरण बढाउन सके कपास खेती गर्ने किसानको आम्दानी बढ्नुका साथै थप रोजगारी सिर्जना गर्न सकिने उहाँको भनाइ छ।
सोरु गाउँपालिका–१ का समाजसेवी सुरेश शाहीले जिल्लाका चारवटै स्थानीय तहले स्थानीय कपासबाट उत्पादित तयारी पोसाक तथा अन्य सामग्रीको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। छायानाथ रारा नगरपालिका तथा सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाका कर्मचारीले समेत स्थानीयस्तरमा उत्पादित पोसाक प्रयोग गरेमा बजार विस्तारसँगै स्थानीय उत्पादनको प्रचारप्रसारमा सहयोग पुग्ने उहाँको भनाइ छ।
सहकारीमा कार्यरत कामदार कालीबहादुर मल्लले १३ जना कामदारले स्थानीय कपासबाट विभिन्न प्रकारका तयारी पोसाक तथा सामग्री बनाउँदै आएको बताउनुभयो। जिल्लामै उत्पादन भएका सामग्रीको बजारीकरण हुन सके आफूहरूजस्ता कामदारका लागि थप रोजगारीका अवसर सिर्जना हुने उहाँले बताउनुभयो।
स्थानीय कपासको उत्पादन, प्रशोधन र बजारीकरणलाई व्यवस्थित गर्न सके किसानको आम्दानी बढाउनुका साथै गाउँमै रोजगारी सिर्जना गर्न सकिने अपेक्षा गरिएको छ।