भारत जानेको सङ्ख्या बढ्दै

25 August, 2026

खेतीपातीको मुख्य काम सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढेको छ । बाँकेको जमुनाह नाका हुँदै पछिल्ला दिनमा दैनिक सात सयदेखि एक हजारसम्म नेपाली रोजगारीका लागि भारततर्फ जाने गरेका छन् ।

इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी निरीक्षक राजन भट्टराईका अनुसार केही दिनयता भारत जाने नेपालीको सङ्ख्या बढेको हो । उहाँका अनुसार नाकामा बिहानदेखि साँझसम्म रोजगारीका लागि भारत जाने नेपालीको भिड लाग्ने गरेको छ । उहाँले भन्नुभयो, “केही दिनयता भारत जाने नेपालीको सङ्ख्या उल्लेख्य बढेको छ । अहिले दैनिक एक हजार जनासम्म भारततर्फ जाने गरेका छन् ।”

भारतको हिमाञ्चल प्रदेशमा स्याउ पाक्ने समय भएकाले स्याउ टिप्ने तथा ढुवानीका कामका लागि पनि नेपाली युवा त्यसतर्फ जाने गरेका छन् । त्यसबाहेक सिमला, अमृतसर, चण्डीगढ, हरिद्वार, जयपुरलगायतका सहरमा रोजगारीका लागि जानेको सङ्ख्या बढी रहेको प्रहरीले जनाएको छ । रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढेपछि जमुनाह नाका र भारततर्फको रुपैडिहा बसपार्कमा सुरक्षाव्यवस्था थप गरिएको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीका अनुसार बिहान ६ देखि साँझ ७ बजेसम्म नेपाली समूह बनाएर भारत प्रवेश गर्ने गरेका छन् ।

जमुनाह नाकामा भेटिएका जाजरकोटको नलगाड नगरपालिका, ढिमेका दलबहादुर विकले खेतीपातीको काम सकिएपछि गाउँमा रोजगारी नपाउँदा भारत जानु परेको बताउनुभयो । “खेतीपातीको काम सकियो । गाउँमा अर्को काम छैन । त्यसैले फेरि भारत जान लागेको हुँ,” उहाँले भन्नुभयो, “नेपालमै पर्याप्त रोजगारी सिर्जना नभएसम्म हामी जस्ता युवालाई भारत जानुपर्ने बाध्यता हट्दैन ।” दैलेखको नौमुलेका रमेश मल्ल पनि रोजगारीका लागि हरिद्वार जान लाग्नुभएको छ । उहाँले अर्को वर्ष दसैँमा घर फर्किने योजना रहेको बताउनुभयो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026