मलेसियाले सूचीमा राखेका २५ मध्ये दुई म्यानपावरमा संघले लगायो ताला

24 August, 2026

वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाले श्रमिक लैजान सूचीमा राखेका २५ म्यानपावर कम्पनी मध्ये दुईवटा कम्पनीमा ताला लगाएको छ।

संघका अध्यक्ष डिकबहादुर खत्रीले पत्रकार सम्मेलन गर्दै सांकेतिक कारबाही स्वरूप आइतबार(आज) दुइटा म्यानपावर कम्पनीमा ताला लगाएको जानकारी दिए।

उनका अनुसार एसिया लिंक सर्भिसेज प्रालि र ट्रस्ट नेपाल ओभरसिज प्रालिमा ताला लगाइएको हो।

मलेसियाले लगाउन लागेको सिन्डिकेटमा सघाएको आरोपमा ताला लगाइएको व्यवसायीहरूले बताएका छन्।

मलेसियाले आप्रवासी श्रमिक केन्द्रिकृत व्यवस्थापन प्रणाली(एफडब्लुसिएमएस)मा नेपालबाट २५ वटा म्यानपावर सूचीकृत गरेर ती सूचीकृत म्यानपावरबाट मात्रै श्रमिक लैजाने भएसँगै संघले ताला लगाएको हो।

मलेसियाले नेपाल सहित १० स्रोत मुलुकहरूबाट श्रमिक लैजाने गरी म्यानपावर कम्पनीहरू सूचीकृत गरेको छ।

उक्त प्रणालीमा मलेसियाले नेपालसहित बंगलादेश, श्रीलंका, म्यानमार, पाकिस्तान, थाइल्याण्ड, कम्बोडिया, भियतनाम, भारत र फिलिपिन्सका म्यानपावर सूचीकृत गरेको छ।

मलेसियाको मानव संसाधन मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सूचीकृत बाहेक अरू म्यानपावर कम्पनीमार्फत श्रमिक नलैजाने जनाएको छ।

यी हुन् नेपालबाट सूचीकृत म्यानपावरहरू :

  • फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालि
  • लाल धनुष इन्टरनेसनल सर्भिस
  • नेपाल प्लेसमेन्ट एजेन्सी प्रालि
  • द रिभर ओभरसिज प्रालि
  • एसिया लिंक सर्भिसेज प्रालि
  • मोन्टाज ओभरसिज प्रालि
  • नेपाल एचआर सोलुसन प्रालि
  • स्काई पावर इन्टरनेसनल सर्भिसेज
  • ट्रस्ट नेपाल ओभरसिज प्रालि
  • एक्सेस पार्टनर्स प्रालि
  • ह्वाइट हर्स इन्टरनेसनल प्रालि
  • ट्रान्स एसिया इन्टिग्रेट सर्भिसेज प्रालि
  • बिएम. ओभरसिज प्रालि
  • इन्डो अरब म्यानपावर प्रालि
  • समयोग ओभरसिज प्रालि
  • ट्यालेन्ट ओभरसिज सर्भिसेज प्रालि
  • वाइड स्पेस इन्टरनेसनल
  • खोजी रिक्रुटमेन्ट सर्भिसेज प्रालि
  • ए.एन.एस. एसोसिएट्स प्रालि
  • अल-हयात म्यानेजमेन्ट सिस्टम प्रालि
  • अल स्किल्स इन्टरनेसनल ह्युमन रिसोर्सेस
  • बिलिभेबल ओभरसिज प्रालि
  • डी स्क्वायर्ड ग्रुप
  • डी.डी. ह्युमन रिसोर्सेस ग्रुप प्रालि
  • प्यारामाउन्ट एम्प्लोयमेन्ट कन्सल्टेन्सी प्रालि

नेपाल मलेसियाबीच दुई पक्षीय श्रम सम्झौता भए पनि एकतर्फी रूपमा २५ वटा म्यानपावर तोकेको उल्लेख गरिएको छ। यसबारे अरू म्यानपावर व्यवसायी र सरकारलाई जानकारी नभएको बताइरहेका छन्।

श्रम मन्त्रालयले यसबारे नेपालका लागि मलेसियाली कार्यबाहक राजदूतसँग छलफल गरिसकेको र परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक नोट पठाइसकेको जनाएको छ।

यसबारे छलफलका लागि सोमबार संघको रोहबरमा २५ म्यानपावर व्यवसायीलाई समेत मन्त्रालयले डाकेको जनाएको छ।

छलफलपछि थप २३ म्यानपावरमा पनि ताला लगाउनुपर्ने वा ती दुइटामा लगाइएको ताला खोल्ने भन्ने स्पष्ट धारणा संघले अघि सार्ने अध्यक्ष खत्रीको भनाइ छ।

वैदेशिक रोजगारीमा श्रमिक पठाउने सन्दर्भमा सबै व्यवसायीहरूको समान अधिकार हुनुपर्ने तथा एकाधिकार हुनुनहुने संघले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024