श्रम मन्त्रालयले तयार पार्‍यो हरित रोजगारी मिसन प्रतिवेदन, डेढ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य

21 August, 2026

युवा, श्रम तथा रोजगार मन्त्रालयले हरित अर्थतन्त्र विकास र यसबाट रोजगारीका अवसर सिर्जना गर्ने योजना अनुसार नेपाल हरित रोजगारी मिसन (नेपाल ग्रिन जब्स मिसन) सम्बन्धी प्रतिवेदन तयार गरेको छ।

मन्त्रालयमा गठित कार्यदलले तयार गरेको प्रतिवेदन युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसमक्ष पेस गरेको छ।

उक्त मिसनले सबैका लागि हरित सीप तथा मर्यादित रोजगारीका अवसरमा पहुँच सुनिश्चित गर्दै आर्थिक रूपान्तरणको परिकल्पना गरेको मन्त्रालयले जनाएको छ।

प्रस्तावित मिसन अन्तर्गत हरित सीप, उद्यमशीलता र लगानीयोग्य परियोजनालाई रोजगारीसँग जोडिनेछ।

त्यसका आधारमा आगामी पाँच वर्षमा एक लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।

हरित अर्थतन्त्रतर्फको रूपान्तरणसँगै रोजगारीका नयाँ क्षेत्र पहिचान गर्ने, युवालाई आवश्यक हरित सीप प्रदान गर्ने तथा सीपलाई उद्यमशीलता र लगानीसँग जोड्ने गरी मिसन अघि बढाउने प्रस्ताव गरिएको छ।

कार्यदलले तयार पारेको प्रतिवेदनले वातावरणमैत्री आर्थिक गतिविधिलाई रोजगारी सिर्जनासँग जोडेर युवाका लागि दीर्घकालीन र मर्यादित रोजगारीका अवसर विस्तार गर्न सकिने आधार प्रस्तुत गरेको छ।

मन्त्रालयका अनुसार प्रस्तावित मिसनले हरित सीप भएका जनशक्तिको विकास, हरित उद्यमशीलताको प्रवर्द्धन तथा लगानी योग्य परियोजनाको विकासमार्फत रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्नेछ।

यसका लागि सरकारी निकाय, निजी क्षेत्र तथा अन्य सरोकारवालाबीच समन्वय गरी हरित रोजगारीको आधार विस्तार गर्ने अवधारणा अघि सारिएको छ।

प्रतिवेदनमा उल्लेखित लक्ष्य कार्यान्वयन भए आगामी पाँच वर्षमा एक लाख ५० हजार युवाले हरित क्षेत्रमा रोजगारीको अवसर पाउने अपेक्षा गरिएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026