स्वदेशमै सम्भावना देख्ने सन्तोष चटपटे व्यवसायमा

14 August, 2026

Janu Pandey

अधिकांश युवा अवसरको खोजीमा विदेशतिर दौडिरहेका बेला कपिलवस्तु चन्द्रौटाका २३ वर्षीय सन्तोष गुप्ता भने स्वदेशमै सम्भावना देख्नुहुन्छ ।

बिहान क्याम्पसमा अध्ययन र दिउँसो चन्द्रौटा चोकमा चटपटे बेच्दै उहाँले पढाइसँगै व्यवसायलाई अघि बढाउनु भएको छ । दैनिक करिब तीन हजार रुपियाँ आम्दानी गर्ने सन्तोष आज श्रम, उद्यम र आत्मनिर्भरताको प्रेरणादायी उदाहरण बन्नुभएको छ ।

नेपाल आदर्श क्याम्पसमा अध्ययनरत सन्तोष बिहान नियमित रूपमा कक्षामा उपस्थित भइ अध्ययन गर्नु हुन्छ । उहाँको हातमा किताब र आँखामा भविष्यका सपना छन् । तर उहाँको जीवन केवल पढाइमै सीमित छैन । कक्षा सकिएपछि चन्द्रौटा चोक पुग्नुहुन्छ, जहाँ अर्को परिचय सुरु हुन्छ ‘एक मेहनती युवा व्यवसायीको ।’

घरमा दाजु र बाबाले पानी पुरी र चाटको व्यवसाय गर्दैआएका थिए । सन्तोषलाई व्यवसाय गरूँ की विदेश जाउँ भन्ने दोधार थियो । तर बुटवल बसाइको क्रममा उहाँले पहिलो पटक अन्डा चटपटेको स्वाद चाख्नुभयो । त्यही स्वादलाई आफ्नो भूमिमा पस्किने सोच दियो । सानो लगानीमा सुरु गरेको चटपटे व्यवसायले अहिले चन्द्रौटा बजारमा राम्रो पहिचान बनाउँदैगएको छ ।

दिउँसो करिब २ बजेदेखि बेलुकासम्म चन्द्रौटा चोकमा चटपटे बेच्दै ग्राहकको सेवा गर्नुहुन्छ । उहाँका अनुसार समाजमा अझै पनि साना व्यवसायलाई हेर्ने दृष्टिकोण पूर्ण रूपमा परिवर्तन भएको छैन । तर श्रमलाई सम्मान गर्नुपर्छ । कुनै पनि काम सानो वा ठुलो हुँदैन । यही सोचका कारण उहाँले अरूको भर नपरी आफ्नै मेहनतबाट आम्दानी गर्ने बाटो रोज्नु भएको थियो ।

उहाँ भन्नुहुन्छ, “अवसर खोज्न विदेश नै पुग्नुपर्छ भन्ने छैन । मेहनत गर्न तयार हुने हो भने आफ्नै ठाउँमा पनि सम्भावना प्रशस्त छन् । केही महिनाअघि सुरु गरेको व्यवसायबाट दैनिक करिब तीन हजार रुपियाँसम्म बचत हुनेगरेको छ । समुदायबाट राम्रो साथ र सहयोग पाएको छु ।”

सन्तोष स्वदेशमा केही हुँदैन भन्ने धारणा राख्ने युवाका लागि उहाँ सकारात्मक उदाहरण बनेका छन् । अधिकांश युवा अवसरको खोजीमा देश छाडिरहेको बेला उहाँले विदेशको सपना छाडेर गाउँमै बसेर चटपटे व्यवसाय रोज्नुभएको छ । बिदेसिने लहरबिच आफ्नै गाउँमा बसेर श्रम र उद्यमलाई रोजेका सन्तोष युवाका लागि प्रेरणाको पात्र बन्नुभएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024