साउनमा ७० हजार श्रमिक गए वैदेशिक रोजगारीमा, धेरैको गन्तव्य युएई

20 August, 2026

चालू आर्थिक वर्ष ०८३/८४ को पहिलो महिना साउनमा ७० हजार चार सय ४१ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार साउनमा एक सय १४ देशमा रोजगारी गर्न जान युवाले श्रम स्वीकृति लिएका छन् । गत आव ०८२/८३ को पहिलो महिनामा ६८ हजार एक सय १० जनाले श्रम स्वीकृति लिएका थिए ।

विभागका अनुसार श्रम स्वीकृति लिनेमध्ये ६० हजार चार सय ७२ पुरुष र नौ हजार नौ सय ६९ महिला रहेका छन् । त्यस्तै, २७ हजार सात सय ४८ ले पुनः श्रम स्वीकृति लिएका छन् । दोहोर्‍याएर वैदेशिक रोजगारमा जानेहरूले पुनः श्रम स्वीकृति लिनुपर्ने प्रावधान छ । साउनमा म्यानपावर कम्पनीमार्फत २९ हजार चार सय ४७ युवा वैदेशिक रोजगारीमा गएका छन् ।

त्यस्तै, व्यक्तिगत एजेन्टमार्फत १२ हजार चार सय ४२ युवा विभिन्न देश पुगेका छन् । व्यक्तिगत एजेन्टमार्फत धेरैजसो युरोपेली देश जाने श्रमिकको संख्या बढी हुने गरेको छ । त्यस्तै, कोरिया र इजरायलमा ‘जिटुजी’मार्फत रोजगारीमा जानेको संख्या सात सय १२ रहेको छ ।

साउनमा सबैभन्दा धेरै १८ हजार सात सय ८४ युवा युएई पुगेका छन् । त्यस्तै, मलेसियामा १२ हजार चार सय ९८, कतारमा १० हजार तीन सय ६०, साउदी अरेबियामा आठ हजार ६ सय १३ र कुवेतमा चार हजार ६ सय १३ युवा श्रम स्वीकृति लिएर पुगेका छन् । रोमानियामा दुई हजार नौ सय आठ, जापानमा एक हजार दुई सय ४४, ओमान र पोर्चुगलमा समान एक हजार एक सय ७९ तथा टर्कीमा एक हजार २१ युवाले श्रम स्वीकृति लिएर पुगेका छन् ।

श्रम विभागमार्फत एक करोड ४० लाख जरिवाना असुली

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र मातहतका कार्यालयले श्रमिकलाई तलब, सुविधा नदिने विभिन्न प्रतिष्ठानबाट एक करोड ४० लाख रुपैयाँ सम्बन्धित श्रमिकलाई दिलाएको जनाएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले जारी गरेको प्रेस नोटअनुसार साउनमा विभागले श्रमिकको अधिकार र पारिश्रमिक भुक्तानी नपाएको भन्ने निवेदनलाई प्राथमिकताका साथ फर्स्योट गरेको छ ।

त्यसै क्रममा विभिन्न प्रतिष्ठानबाट श्रमिकलाई तलब, सुविधालगायत भुक्तानी दिलाइएको हो । त्यस्तै, बालश्रमको अवस्थाबारे साउनमा देशैभरका तीन सय ७१ वटा प्रतिष्ठानमा निरीक्षण भएको र बालश्रम गराउने प्रतिष्ठान तथा व्यक्तिलाई दुई लाख २० हजार जरिवाना गरिएको मन्त्रालयले जनाएको छ । साउनमा श्रमिकका तर्फबाट तीन सयवटा व्यक्तिगत दाबी उजुरी र २६ वटा सामूहिक दाबी उजुरी दर्ता भएका थिए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024