विदेशबाट फर्किएर गाउँमै कप उद्योग

11 August, 2026

तीन वर्ष अस्ट्रेलियामा अध्ययनसँगै रोजगारी गरेर स्वदेश फर्किनुभएका दाङको घोराही उपमहानगरपालिका–९, अस्पाराका समीर अधिकारीले गाउँमै कप तथा प्लेट उत्पादन उद्योग सञ्चालन गरेर उदाहरण प्रस्तुत गर्नुभएको छ । विदेशको रोजगारी छाडेर करिब ३५ लाख रुपियाँ लगानीमा सुरु गरेको उद्योगमा अहिले लगानी बढाएर ७० लाख रुपियाँ पु¥याउनुभएको छ ।

दुई वर्षअघि स्थापना गरिएको सागर कप उद्योगबाट अहिले मासिक नौदेखि १० लाख रुपियाँसम्मका कप तथा प्लेट बिक्री हुने गरेको अधिकारीले बताउनुभयो । उद्योगबाट हुने आम्दानीबाट सबै खर्च कटाएर मासिक करिब एक लाख रुपियाँ बचत हुने उहाँको भनाइ छ ।

उद्योगमा चिया, कफी तथा जुसका लागि प्रयोग हुने पेपर कपसँगै खाजा तथा खानाका लागि प्रयोग हुने विभिन्न आकारका पेपर प्लेट उत्पादन हुँदै आएका छन् । उद्योगमा उत्पादित कप तथा प्लेट दाङका घोराही, तुलसीपुर, नारायणपुरलगायतका बजारसँगै रोल्पासम्म पुग्ने गरेका छन् ।

उत्पादन सुरु गरेको प्रारम्भिक समयमा बजार खोज्दै आफैँ व्यवसायीको पसल पसलमा पुग्नुपर्ने अवस्था रहे पनि अहिले माग बढ्दै गएको अधिकारीले बताउनुभयो । उहाँका अनुसार अहिले व्यवसायी उद्योगमै आएर कप तथा प्लेटको अर्डर गर्ने र सामग्री लैजाने गरेका छन् ।

माग बढ्दै गएपछि उद्योगको उत्पादन क्षमता पनि विस्तार गरिएको छ । सुरुमा कप र प्लेट उत्पादनका लागि एक/एक वटा मेसिन भारतबाट ल्याएर सञ्चालन गरिएकोमा अहिले दुई÷दुई वटा मेसिनबाट उत्पादन भइरहेको अधिकारीले बताउनुभयो । उद्योग सञ्चालनबाट स्थानीय सात जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । स्थानीय युवा तथा महिलालाई रोजगारी दिइएको उहाँले जानकारी दिनुभयो । उद्योगका लागि आवश्यक कागजलगायत कच्चा पदार्थ भने भारतबाट ल्याउने गरिएको छ ।

अधिकारीले विदेशमा रोजगारी गर्दा हुने आम्दानीको तुलनामा स्वदेशमा तत्काल कम आम्दानी भए पनि परिवारसँगै बसेर आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गर्न पाउँदा सन्तुष्ट रहेको बताउनुभयो । उद्योगलाई थप विस्तार गर्दै आगामी दिनमा नेपकिनसमेत उत्पादन गर्ने तयारी भइरहेको अधिकारीले बताउनुभयो । उत्पादनको माग बढ्दै गएमा थप लगानी र रोजगारी सिर्जना गर्ने योजना रहेको उहाँको भनाइ छ । उद्योग सञ्चालनका लागि आवश्यक वातावरण भए पनि दक्ष कामदारको अभाव र विद्युत्को अनियमितताले साना तथा घरेलु उद्योगले समस्या भोग्नु परेको अधिकारीले बताउनुभयो । नियमित विद्युत् आपूर्ति र दक्ष जनशक्ति उपलब्ध हुन सके उत्पादन लागत घटाउन तथा उद्योगको क्षमता विस्तार गर्न सहज हुने उहाँको भनाइ छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024