ड्रोन आक्रमणबाट नेपालीको मृत्युपछि कुवेतमा त्रस्त नेपाली समुदाय

3 August, 2026

१७ साउन, काठमाडौं । कुवेतमा इरानबाट भएको ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली समुदायमा त्रास फैलिएको छ।

सीमावर्ती क्षेत्रमा बढ्दो सुरक्षा जोखिमका कारण कुवेत सरकारले सतर्कता अपनाउन आग्रह गर्दै विभिन्न सुरक्षा उपाय लागु गरेको छ ।
३० जुलाई २०२६ बिहान इराकसँग जोडिएको कुवेतको सीमावर्ती क्षेत्र थाक्सीमा भएको ड्रोन आक्रमणमा मोरङ रतुवामाई नगरपालिका–९ का ४४ वर्षीय सोमकुमार तामाङको मृत्यु भएको थियो । उनी सन् २०२२ देखि वैदेशिक रोजगारीका लागि कुवेतमा रहँदै कम्पनीको गाडी चालकका रूपमा कार्यरत थिए ।

जानकारी अनुसार आक्रमणका बेला तामाङ कम्पनीको गाडीमै थिए । इरानबाट प्रहार भएको ड्रोन गाडीमा खस्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटना कुवेत सिटीबाट करिब ९० किलोमिटर टाढा इराक सीमाक्षेत्र नजिक भएको बताइएको छ ।
कुवेतस्थित एनआरएनए अध्यक्ष दिलकुमार पाख्रिनका अनुसार घटनापछि त्यहाँ रहेका नेपाली निकै चिन्तित र त्रसित छन् । उनका अनुसार विगतमा ड्रोन वा मिसाइलको सम्भावित जोखिम हुँदा साइरन बजाउने र मोबाइलमा एसएमएस मार्फत पूर्वसूचना दिने व्यवस्था थियो ।

तर, पछिल्लो समय त्यस्ता सूचना प्रणालीले मानिसमा थप आतंक सिर्जना गरेको भन्दै साइरन बजाउन र एसएमएस पठाउन रोकिएको छ ।

पाख्रिनका अनुसार कुवेत सरकारले रातिको समयमा अस्पताल, होटल तथा अन्य सार्वजनिक स्थलमा आवश्यक बाहेकका बाहिरी बत्ती नबाल्न निर्देशन दिएको छ । तेल, ग्यास तथा इरानको सम्भावित निशानामा पर्ने क्षेत्रमा कार्यरत कर्मचारीलाई ‘वर्क फ्रम होम’ व्यवस्था गरिएको छ भने अन्य क्षेत्रका कामदार नियमित काममा गइरहेका छन् । यद्यपि, कहिले र कहाँबाट आक्रमण हुन्छ भन्ने चिन्ताले धेरैलाई सताइरहेको उनले बताए ।

उनका अनुसार कुवेत सरकारले नागरिकलाई अनावश्यक घर बाहिर ननिस्किन, आधिकारिक सूचनामात्र विश्वास गर्न र अफवाह नफैलाउन आग्रह गरेको छ ।

अत्यावश्यक सामग्री अनावश्यक सञ्चय नगर्न पनि निर्देशन दिइएको छ । एक पटकमा पाँच कार्टुनभन्दा बढी पानी खरिद गर्नसमेत रोक लगाइएको उनले जानकारी दिए

पाख्रिनका अनुसार पछिल्ला आक्रमणमा कुवेत र जोर्डनलाई विशेष रूपमा लक्षित गरिएको देखिन्छ । इरानतर्फ स्थलमार्गबाट पुग्न सकिने भएकाले यी क्षेत्रलाई बढी संवेदनशील मानिएको उनको भनाइ छ ।

आक्रमण क्रममा कुवेतको पानी तथा विद्युत् पूर्वाधार पनि प्रभावित भएको भए पनि वैकल्पिक प्रणाली मार्फत सेवा सञ्चालन भइरहेको उनले बताए ।

कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी जनार्दन गौतमले ड्रोन आक्रमणमा मृत्यु भएका तामाङको शव नेपाल पठाइसकिएको जानकारी दिए । उनका अनुसार शवसँगै आवश्यक कानुनी कागजात पठाइएको छ ।

कुवेतमा सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि त्यहाँ रहेका नेपालीलाई दूतावास र कुवेत सरकारका आधिकारिक सूचना पालना गर्न तथा अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024