एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो

3 August, 2026

भरतपुर महानगरपालिकाको रोजगार तथा उद्यमशीलता विभागले गत आर्थिक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याएको छ। श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा गएकाहरुको मृत्युपछि प्रक्रिया पूरा गरी शव नेपाल ल्याइएको हो।

विभागका प्रमुख सन्देश वाग्लेका अनुसार भरतपुर महानगरपालिकाका बासिन्दा श्रम स्वीकृति लिएर गएकाहरुको विदेशमा मृत्युपछि निःशुल्क शव नेपाल ल्याइएको हो। उनीहरुको शव कुवेत, युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब र पोर्चुगलबाट नेपाल ल्याइएको हो। हृदयाघात भएर, आत्महत्या, दुर्घटनामा परेर लगायत कारणले उनीहरूको मृत्यु भएको थियो।

प्रमुख वाग्लेका अनुसार विदेश जानुअघि महानगरपालिका वा नेपाल सरकारको कुनै आधिकारिक निकायबाट श्रम स्वीकृत गरेर गएकाहरुको शव महानगरले झिकाउने गर्दछ। श्रम स्वीकृतिका क्रममा निजहरुको स्वास्थ्य बिमा गर्ने गरिन्छ। वैदेशिक रोजगार बोर्डले निजहरुबाट कल्याणकारी कोषमा पनि रकम राख्ने गर्दछ। यसरी श्रम स्वीकृत गर्दा कल्याणकारी कोषका लागि प्रतिव्यक्ति एक हजार ५०० र म्यादी जीवन बिमाका लागि उमेरअनुसार दुई हजार ५०० देखि नौ हजारसम्म शुल्क लाग्ने गर्दछ। यो शुल्क दुई वर्षका लागि हुने गर्दछ।

यसरी कोषमा रकम जम्मा गरेको र बिमा गरेकाको मृत्यु भएमा उनीहरुको परिवारले वैदेशिक रोजगार बोर्डबाट प्रतिव्यक्ति १० लाख र बिमाबाट १४ लाख पाउने गर्छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024