इरानी मिसाइल आक्रमणबाट कुवेतमा एक नेपाली श्रमिकको ज्यान गएको छ । मृत्यु हुनेमा तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङ रहेका छन् ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतको उत्तरी क्षेत्रस्थित फुफेन आइल्यान्डस्थित चाइनिज कम्पनीको भवनमा आक्रमण हुँदा नेपाली श्रमिकको मृत्यु भएको हो । घटना हिजो (३० जुलाई २०२६) को हो । तामाङ २०२२ देखि कुवेतमा सवारी चालकको काम गर्दै आएका थिए ।
इरान र अमेरिका–इजरायलबीच जारी युद्धबाट पश्चिम एसियामा मृत्यु हुने नेपाली श्रमिकको संख्या दुई पुगेको छ । यसअघि यूएईमा गोरखाका दिवस श्रेष्ठको मृत्यु भएको थियो ।
कुवेतको रक्षा मन्त्रालयले बिहीबार जारी प्रेस विज्ञप्तिअनुसार इरानको आक्रमणले देशको उत्तरी क्षेत्रमा रहेको एक चिनियाँ कम्पनीको भवनलाई निसाना बनाउँदा एक श्रमिकको मृत्यु भएको जनाएको थियो । भवनमा ठूलो परिमाणमा भौतिक क्षति पुगेको छ ।
रक्षा मन्त्रालयका प्रवक्ता साउद अल–अतवानले जारी गरेको प्रेस विज्ञप्तिअनुसार घटनालगत्तै सम्बन्धित निकायहरूले आवश्यक प्रक्रिया सुरु गर्दै सरोकारवाला निकायहरूसँग समन्वय गरेर परिस्थितिको व्यवस्थापन गरेका थिए ।
अल–अतवानले कुवेती सशस्त्र बलले उच्च दक्षताका साथ आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको र देशको सार्वभौमसत्ता, सुरक्षा तथा स्थायित्वको संरक्षणका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक सबै उपाय अवलम्बन गरिरहेको बताए । उनले नागरिक तथा कुवेतमा बसोबास गर्ने सबै व्यक्तिको सुरक्षालाई प्राथमिकतामा राखिएको पनि उल्लेख गरे ।
नेपाली राजदूतावास कुवेतले सूचना जारी गरी सम्बन्धित निकायसँगको समन्वय र सहकार्यमा तामाङको शव यथाशीघ्र स्वदेश फिर्ता पठाइने जनाएको छ ।
कुवेत सरकारले एक साताअघि जारी गरेको विवरणअनुसार कुवेतमा एकलाख ८६ हजार नेपाली कार्यरत छन् । जसमा कम्पनीमा एक लाख १५ हजार, घरेलु श्रमिकमा ६८ हजार ९ सय र सरकारी क्षेत्रमा चार सय २१ जना काम गरिरहेका छन् । यो कुवेतमा रहेको कुल जनसंख्याको चार प्रतिशत हो ।