वैदेशिक रोजगारसम्बन्धी उजुरी अब अनलाइनबाटै, मन्त्री यादवद्वारा प्रणाली शुभारम्भ

22 July, 2026

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको गुनासो तथा उजुरी व्यवस्थापन अनलाइन प्रणाली (ujuri.dofe.gov.np) को शुभारम्भ गरेका छन्।

मुद्दा तथा अनुसन्धान, राहत तथा उद्धारलगायत संस्थागत उजुरीका लागि तयार गरिएको अनलाइन प्रणालीको शुभारम्भ गर्दै मन्त्री यादवले अब पीडितहरूले गुनासो तथा उजुरीका लागि काठमाडौंस्थित विभागमै धाउनुपर्ने बाध्यता हट्ने बताए।

विभागले पुराना फाइललाई डिजिटल अभिलेखमा रूपान्तरण गर्ने काम गरिरहेको अवस्थाको निरीक्षण गर्दै मन्त्री यादवले विदेशमा रहेका श्रमिकले समेत अनलाइनमार्फत उजुरी दर्ता गरी त्यसको कारबाही प्रक्रियाबारे जानकारी लिन सक्ने बताए।

“तपाईं विदेशमा हुनुहोस् वा नेपालकै कुनै कुनामा, सरकार तपाईंको साथमा छ। न्यायका लागि अब काठमाडौं धाइरहनु पर्दैन, आफ्नै हातमा भएको मोबाइलबाट उजुरी दिन र न्यायको प्रक्रिया अगाडि बढाउन सक्नुहुन्छ,” उनले भने।

वैदेशिक रोजगारका क्रममा हुने ठगी नियन्त्रण गरी श्रमिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको मन्त्री यादवले बताए।

निरीक्षण तथा शुभारम्भ कार्यक्रममा वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्य, मन्त्रालयका प्रवक्ता तथा सहसचिव पीताम्बर घिमिरेलगायतको उपस्थिति थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024