कोरियन भाषा परीक्षाको आवेदन खुला

22 July, 2026

रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत दक्षिण कोरिया जान चाहने नेपालीका लागि कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले विभिन्न चार क्षेत्रमा सात हजार दुई सयजनाको कोटासहित आवेदन आह्वान गरेको हो।

आवेदन आगामी जुलाई २७ देखि अगस्ट २, २०२६ सम्म अनलाइनमार्फत दिन सकिनेछ। आवेदन शुल्क २८ अमेरिकी डलर तोकिएको छ।

परीक्षामा सहभागी हुन १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ। आवेदकले फौजदारी अभियोगमा सजाय नपाएको, दक्षिण कोरियामा गैरकानुनी रूपमा बसेर फिर्ता नपठाइएको तथा नेपाल सरकारले अन्य मुलुक जान रोक नलगाएको हुनुपर्नेछ।

त्यस्तै, दक्षिण कोरियामा ई–९ वा ई–१० भिसामा पाँच वर्ष वा सोभन्दा बढी बसेका व्यक्तिले आवेदन दिन पाउने छैनन्।

पहिलो चरणको भाषा परीक्षाको नतिजापछि अर्को चरणको परीक्षा सञ्चालन हुनेछ। अन्तिम परीक्षामा उत्तीर्ण उम्मेदवारको नतिजा दुई वर्षसम्म मान्य हुनेछ।

एचआरडी कोरियाबाट उत्पादनमूलक क्षेत्रमा पाँच हजार, कृषि तथा पशुपालन क्षेत्रमा दुई हजार, सेवा क्षेत्रमा एक सय र वन क्षेत्रमा एक सयजनाको माग आएको शाखाले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024