पछिल्लो वर्ष देशमा काम नपाएर रोजगारी खोज्दै विदेश जानेको सङ्ख्या अघिल्लो वर्षकोभन्दा केही घटेको छ । विदेश जानेको सङ्ख्या घट्नुमा स्वदेशमा रोजगारी बढेर नभई नेपालीका श्रम गन्तव्य देश पश्चिम एसियामा युद्धका कारण श्रम स्वीकृति रोकिनु रहेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार आव २०८२/८३ मा वैदेशिक रोजगारीका लागि सात लाख ९२ हजार १८७ जनाले श्रम स्वीकृति लिएका छन् । अघिल्लो आव २०८१/८२ मा विदेश जान श्रम स्वीकृति लिने आठ लाख ३९ हजार २६६ थिए । यो सङ्ख्या गएको आवको तुलनामा अघिल्लो आवमा विदेश जानेको ४७ हजार ७९ जनाले कम हो । गएको आवमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमा छ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिला छन् । अघिल्लो आवको तुलनामा श्रम स्वीकृति लिने महिलाको सङ्ख्या भने झन्डै एक हजारले बढेको छ ।
वैदेशिक रोजगारीमा जानेमध्ये दक्ष भएर जाने जनशक्ति धेरै छ । विभागका अनुसार गएको आवमा चार लाख ८२ हजार ६४३ दक्ष भएर वैदेशिक रोजगारीमा गएका छन् । एक हजार ९६ जना उच्च सिप भएका व्यक्ति श्रम स्वीकृति लिएर विदेश गएका छन् भने तीन हजार ५७० प्रोफेसनल व्यक्ति पनि विदेश गएको विभागले जनाएको छ । श्रम स्वीकृति लिएर बिदेसिनेमा अर्धदक्ष श्रमिक एक लाख १४ हजार ६१४ र एक लाख ९० हजार २६४ जना अदक्ष श्रमिक छन् ।
युएई पहिलो गन्तव्य
वैदेशिक रोजगारीमा जानेको पहिलो रोजाइ संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ । आव २०८२/८३ मा श्रम स्वीकृति लिएर सबैभन्दा धेरै नेपाली युएई गएका छन् । विभागको तथ्याङ्क अनुसार पहिलो पटक जाने र बिदामा आएर फर्किने (पुनःस्वीकृति) तथ्याङ्क जोड्दा एक वर्षको अवधिमा एक लाख ८३ हजार ५८० जना युएई गएका छन् । यस अवधिमा युएईपछि मलेसिया, कतार र साउदी अरब क्रमशः दोस्रो, तेस्रो चौथो गन्तव्य बनेका छन् । मलेसियामा एक लाख ३२ हजार ६४६ जना, कतारमा एक लाख ३२ हजार ५१ जना र साउदी अरबमा एक लाख २४ लाख ५८३ जना गएका छन् । कुवेत जानका लागि ४३ हजार ३६० जनाले श्रम स्वीकृति लिएका छन् । विभागको तथ्याङ्कमा युएई, कतार, साउदी, मलेसिया र कुवेतपछि युरोपेली देश रोमानिया रोजाइमा परेको छ । एक वर्षमा ३३ हजार ९२० जनाले रोमानिया जानका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ । रोमानियापछि जापान जानेको सङ्ख्या धेरै रहेको छ । श्रम स्वीकृति लिएर कामकै लागि एक वर्षमा २२ हजार २६६ जना नेपाली जापान गएका छन् ।
युरोपेली देशमा जाने बढ्दो
केही वर्षअघिसम्म नेपालबाट रोजगारीमा जानेको प्रमुख गन्तव्य खाडीका छ देश रहेका थिए तर पछिल्लो समय युरोपेली देशले यसको ठाउँ लिन थालेका छन् । रोमानियासँगै साइप्रस, क्रोएसिया, टर्की, मौरिसस, माल्टा, पोर्चुगल, सर्बिया, बुल्गेरिया, ग्रिस, पोल्यान्ड, अस्ट्रिया जस्ता देशमा जाने नेपालीको सङ्ख्या पनि बढ्न थालेको छ । एक वर्षको अवधिमा ११ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् भने क्रोएसिया जानका लागि सात हजार ६६२ जनाले, टर्की जानका लागि छ हजार ३७०, मरिसस जानका लागि छ हजार ३३४, टर्कीका लागि छ हजार ११० जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।