काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले वैदेशिक रोजगारीका नाममा विभिन्न देशमा पठाइदिने भन्दै बेरोजगार युवायुवतीबाट लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ।
कार्यालयका अनुसार आकर्षक तलबको प्रलोभन देखाएर पोर्चुगल, बेलारुस र संयुक्त अरब इमिरेट्स (युएई) पठाइदिने भन्दै रकम असुलेर लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा तनहुँ ऋषिङ गाउँपालिका– ४ स्थायी घर भई हाल काठमाडौं टोखा नगरपालिका– ३ बस्ने ३७ वर्षीय पदमबहादुर थापा रहेका छन्। उनले पोर्चुगल पठाइदिने भन्दै एकजनाबाट सात लाख रुपैयाँ लाख ठगी गरेको आरोप छ। उनलाई असार ३१ गते काठमाडौं महानगरपालिका– २६ बाट पक्राउ गरिएको हो।
यस्तै, रोल्पा लुङ्ग्री गाउँपालिका– ५ स्थायी घर भई हाल काठमाडौं टोखा नगरपालिका– ९ बस्ने ४७ वर्षीय अमरबहादुर सुनार पक्राउ परेका छन्। उनले बेलारुस पठाइदिने भन्दै एक जनाबाट ६ लाख रुपैयाँ ठगी गरेको आरोप रहेको प्रहरीले जनाएको छ। उनलाई असार ३१ गते टोखा– ९ बाट पक्राउ गरिएको हो।
त्यसैगरी, रोल्पा थवाङ गाउँपालिका– १ स्थायी घर भई हाल ललितपुर महानगरपालिका– १५ बस्ने ३० वर्षीय सन्तोष सोनी पनि पक्राउ परेका छन्। उनले युएई पठाइदिने भन्दै एकजनाबाट पाँच लाख रुपैयाँ ठगी गरेको आरोप छ। उनलाई असार ३१ गते काठमाडौं महानगरपालिका– २५ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका तीनैजनाविरुद्ध वैदेशिक रोजगारी ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।